• २६ मङ्सिर २०८२, शुक्रबार

मोबाइल र साइकल सहयोग पाएपछि भलमन्सा र चौकिदारलाई काम गर्न सजिलो

blog

लम्कीचुहा नगरपालिकाका भलमन्सा र चिराकीले मोबाइल र साइकल सहयोग पाएपछिको सामूहिक तस्बिर । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य
घोडाघोडी (कैलाली) मङ्सिर २६ गते ।
थारु समुदायमा गाउँघरमा आइपर्ने सानातिना समस्या समाधानका लागि होस् या सामूहिक कार्यका लागि बडघर(भलमन्सा) को भूमिकालाई महत्त्वपूर्ण मानिन्छ । पछिल्लो समय स्थानीय सरकारले भलमन्सा र चिराकीको भूमिकालाई सहज र प्रभावकारी बनाउन विभिन्न तालिम तथा सहयोगी सामग्री प्रदान गर्न थालेपछि उनीहरुलाइ अझै सहज भएको छ ।

स्थानीय सरकारको सहयोगले कार्यव्यवस्थापनमा सहजता भएको अनुभव चिराकी तथा भलमन्साको छ । लम्कीचुहा नगरपालिकाले हालै चिराकीका लागि ५० वटा साइकल र भलमन्साका लागि ४८ वटा स्मार्ट फोन सहयोग गर्‍याे । लम्कीचुहाका भलभन्साहरुले स्मार्ट मोबाइल फोन सहयोग पाएपछि खुशी हुँदै खबर आदानप्रदानमा सहज हुने बताए ।

फोन सम्पर्कका लागि सामान्य मोबाइल भए पनि इन्टरनेटबाट चल्ने नभएको अवस्थामा स्मार्ट फोन पाएपछि नगरभरिका भलमन्साहरु समूह कलमा जोडिएर आफ्नो गाउँ ठाउँको विकासमा छलफल गर्न सजिलो हुने भलमन्साहरुले सुनाए ।

गाउँ समाजमा आफ्नो रीतितिथि बसाल्ने, सामाजिक र विकास निर्माणको कार्यका लागि भलमन्साको भूमिका हुन्छ । भलमन्साले कुनै कामकाजका लागि खबर पुर्‍याउन चिराकी राखे पनि हिँडेरै गाउँभरि सूचना पुर्‍याउनुपर्ने हुन्छ । दुबैका माग बमोजिम कार्य भूमिकालाई सहज, छिटो छरितो बनाउन मोबाइल र साइकल वितरण गरिएको नगरप्रमुख सुशीला शाहीले बताउनुभयो ।

उहाँले सात लाख २५ हजार रुपियाँ बराबरको ४८ वटा मोबाइल र तीन लाख ६० हजार रुपियाँ बराबरको ५० वटा साइकल कार्यपालिकाबाट पास गरेर दिने निर्णय बमोजिम सहयोग प्रदान गरिएको जानकारी दिनुभयो ।

लम्कीचुहाले जस्तै घोडाघोडी नगरपालिकाले समेत भलमन्सा र चिराकीलाई साइकल सहयोग गर्नुका साथै मेलमिलापसम्बन्धी तालिमसमेत दिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न वडाले आवश्यकताका आधारमा साइकल सहयोग गरेको जनाइएको छ । घोडाघोडी नगरपालिका १ बेलार गाउँका चिराकी गङ्गाराम चौधरीले वडाबाट साइकल पाएपछि सूचना पुर्‍याउन सजिलो भएको बताउनुभयो ।

उहाँले खुशी हुँदै भन्नुभयो, “पहिला त हिंडेर गाउँभरि डुल्नुपर्थ्याे । साइकल पाएपछि सजिलो भएको छ । साइकल चलाएर नै घरघर खबर पुर्‍याउन जान्छु । आज बिहान पनि गाई गोरुलाई खोरेतको सुई लगाउनका लागि सबैलाई खबर गरेर आएँ । डेढसय घरमा खबर पुर्‍याउनुपर्छ ।”

साइकल पाएपछि गङ्गाराम जस्तै अन्य चिराकीलाई पनि सजिलो भएको छ । घोडाघोडी नगर भलमन्सा समितिका अध्यक्ष बुधराम चौधरीले स्थानीय तहले भलमन्साहरुका लागि मेलमिलापसम्बन्धी तालिम दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी आफ्नो समुदायमा आफ्नै तरिकाले सानो तिनो मुद्दाको छिनोफानो गर्ने भए पनि मेलमिलाप तालिमले समाजमा आइपर्ने विभिन्न समस्या समाधानका लागि थप सहयोग पुगेको छ ।”

घोडाघोडी नगरपालिकामा ७६ वटा थारु गाउँमा ७६ जना भलमन्सा र चिराकीले परम्परागत बड्घर प्रथालाई निरन्तरता दिइरहेका छन् ।

घोडाघोडी नगरपालिका विभिन्न वडाले चारलाख ५० हजार रुपियाँ बराबरको साइकल चिराकी र भलमन्सालाई सहयोग गरेको घोडाघोडी नगरपालिका लेखा शाखाले जनाएको छ ।

बर्दगोरिया, गौरिगङ्गा, जोशीपुरलगायत स्थानीय तहले पनि चिराकी र भलमन्साको भूमिकालाई सहज बनाउन तालिमलगायतका सहयोग गरेको जनाइएको छ ।