लेखनाथ समाचारदाता
लेखनाथ (कास्की), मङ्सिर २६ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशका ११ जिल्लामा १४ वटा मतदान स्थल थपिएका छन् । मतदाताको सङ्ख्या थप, पायक स्थल र निर्वाचनको सहजताका लागि मतदान स्थल थप गरिएको हो ।
पहिले एक हजार २८३ मतदान स्थल रहेकोमा यसपालिको निर्वाचनका लागि एक हजार २९७ मतदान स्थल कायम भएका हुन् । हिमाली जिल्ला मनाङमा सबिककै मतदान स्थल २८ वटा कायम भएका छन् भने गोरखामा तीन मतदान स्थल थपिएको छ । गोरखामा अघिल्लो निर्वाचनमा २२२ मतदान स्थल रहेकोमा तीन थपेर २२५ कायम गरिएको प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।
लमजुङमा पहिले १२८ मतदान स्थल रहेकोमा दुई थपिएका छन् भने कास्कीमा दुई निर्वाचन स्थल हटाइएको छ । कास्कीमा यसअघि १५० निर्वाचन स्थल रहेकोमा दुई वटा स्थानान्तरण गरी तीन थपिँदा १५३ कायम भएको छ । कास्कीका तीन वटै निर्वाचन स्थल पोखरा महानगरमा थपिएका छन् । पोखरा महानगरपालिका–१७ मा एक, पोखरा–१९ मा एक र पोखरा–२५ मा एक मतदान स्थल थप गरिएको हो । पोखरा–१७ मा वडा कार्यालय, पोखरा‑१९ मा धारा आधारभूत विद्यालय र पोखरा–२५ मा अम्बिका मावि नयाँ मतदान स्थल बनेका हुन् ।
पोखरा–९ को सहारा आधारभूत विद्यालयको मतदान स्थल पोखरा बहुमुखीमा र माछापुच्छ«े गाउँपालिका–२ को सरस्वती आधारभूत विद्यालय स्थललाई नाथुप्रह्लाद समाजघरमा सारिएको छ । कास्कीमा निर्वाचन घोषणा भएपछि १७ हजार ८९४ मतदाता थपिएका छन् । कास्कीमा नयाँ मतदाता थपिएपछि कुल मतदाता सङ्ख्या तीन लाख ११ हजार ७५६ पुगेको छ ।
तनहुँमा दुई थपेर १४४, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा एक थपेर ११४, बागलुङमा दुई थप र एक हटाएर एक सय सात, पर्वतमा दुई हटाएर एक थप गरी ७६ मतदानस्थल कायम भएका छन् । यस्तै मुस्ताङमा एक मतदान स्थल थप र एक हटाउँदै पुरानै सङ्ख्या ३९ कायम भएको छ भने म्याग्दीमा साबिककै ८२ निर्वाचन स्थल रहने भएका हुन् ।
निर्वाचन आयोगले मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन गरेको थियो । अहिले आयोगद्वारा प्रकाशित प्रारम्भिक मतदाता नामावलीमा दाबीविरोधको चरण छ ।