• १ पुस २०८२, मङ्गलबार

मतदान स्थल अनुगमन तीव्र

blog

मतदान स्थल अनुगमन तथा निरीक्षण गर्नुहुँदै जिल्ला सुरक्षा समितिका पदाधिकारी । तस्बिर : तिलाचन पाण्डे

तम्घास समाचारदाता

तम्घास (गुल्मी), मङ्सिर २६ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गुल्मीमा मतदान स्थल र सुरक्षाका लागि अनुगमन कार्य तीव्र बनाइएको छ । 

जिल्ला सुरक्षा समिति गुल्मीले जिल्लाका मतदान स्थल र सुरक्षासम्बन्धी जानकारी लिनुका साथै सुरक्षा योजना निर्माणका लागि भन्दै अनुगमन गरेको हो । गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार प्रमुख जिल्ला अधिकारी संयोजक रहेको सुरक्षा समितिले मतदान स्थलको अनुगमन तथा निरीक्षण गर्दै आएको बताउनुभयो । उहाँले जिल्लाका विकट स्थलको अनुगमन तथा निरीक्षण गर्ने कार्य सकिएको बताउँदै अन्य स्थल निरीक्षण गर्ने कार्य भइरहेको बताउनुभयो । निर्वाचनका लागि आवश्यक सुरक्षा योजना निर्माण गर्न र मतपत्र ढुवानीलगायतका कार्य सहज बनाउन पहिल्यै अनुगमन गर्दा सहज हुने गैरेको भनाइ छ ।

४८ मतदान स्थल अति संवेदनशील

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेका अनुसार १४५ मतदान स्थलमध्ये ४८ मतदान स्थल अति संवेदनशील, ५७ मतदान स्थल संवेदनशील र ४० मतदान स्थललाई सामान्य अवस्थाको सूचीमा राखिएको छ । सोही अनुसार जिल्लाको सुरक्षा योजना तयार पारिसकेकाले निर्वाचन सफल बनाउन जिल्ला सुरक्षा समिति सक्षम रहेको उहाँको दाबी छ ।

निर्वाचन स्थलहरूमा मतदानको दिनलाई आवश्यक पर्ने भौतिक अवस्था, खानेपानी, विद्युत्, शौचालय र घेराबारहरूको अवस्थाबारे पनि सूक्ष्म रूपले अध्ययन गर्दै आएको उहाँको भनाइ छ । मतदान स्थलको अवस्थाका आधारमा सुरक्षा योजना तयार पारेको गैह्रेले बताउनुभयो । यसका साथै स्थानीय राजनीतिक दल, जनप्रतिनिधिसँग पनि छलफल, अन्तव्रिर्mया गर्दै निर्वाचनको वातावरण निर्माण गर्दै आएको उहाँले बताउनुभयो ।

थपिए सात हजार मतदाता

जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार पछिल्लो समय सात हजार ३७६ जना नयाँ मतदाता थपिएका छन् । राष्ट्रिय परिचयपत्रका आधारमा आवेदन दिएका चार हजार ७०२ जनाले आवेदन दिएकामा ७७ जनाको रद्द भएको छ । कार्यालयका सूचना अधिकारी हर्क श्रीसका अनुसार उहाँहरूले आवश्यक प्रव्रिmया पूरा नगरेका कारण सदर हुन नसकेको हो । यस्तै कार्यालयमै आएर बायोमेट्रिक माध्यमबाट दुई हजार ८२३ जनाले नाम दर्ता गराएका छन् । तीमध्ये ७२ जना जिल्लाबाहिरका छन् ।

जिल्ला निर्वाचन कार्यालय गुल्मीले हालसम्म जिल्लामा दुई लाख २३ हजार ८४७ जना मतादाता रहेका जनाएको छ । थपिएका मतदातासहितको पछिल्लो वास्तविक विवरण भने पछि प्रकाशन हुने श्रीसको भनाइ छ ।