- निर्वाचन व्यावहारिक रूपले सुसम्पन्न गरिए पनि भोलि सरकारमा को आउँला, कसले बहुमत पाउँला भन्ने निश्चितता गराउन सक्ने क्षमता भने नागरिकको मतबाट थाहा हुने हो ।
- अन्तरिम सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु मात्र हो भनेर अन्य कार्यभारबाट ओझेल पनि पर्नु हुँदैन । हिजो जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका र घाइते भएकाहरूलाई उपचार र राहत पनि प्रदान गर्नु पर्छ ।
- नेपालको निर्वाचन इतिहासमा सबैभन्दा कान्छो पुस्ताले गरेको विद्रोहले एउटा निर्वाचन निम्त्याएको छ । जसले आमजनसमुदायमा उत्साह छाएको छ ।
मुलुक फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित छ । गत भदौ २३ र २४ मा जेनजीद्वारा गरिएको आन्दोलनले देशको राजनीतिक उथलपुथल भएको थियो । तत्कालीन प्रधानमन्त्रीको राजीनामादेखि संसद् विघटन भएसँगै देशले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार पाएको छ । जसको मुख्य कार्यभार छ महिनाभित्र प्रतिनिधि सभा निर्वाचन गराउनु हो । निर्वाचनलाई लोकतन्त्रको बलियो आधार मानिन्छ । मुलुकलाई निकास दिने भनेको नै निर्वाचनले हो । आम राजनीतिक दल र नागरिकलाई चुनावी वातावरण बनाएर निष्पक्ष र सुरक्षित मतदानमा टेवा पु¥याउन यो सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।
चुनाव घोषणापछि आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् भने निर्वाचन आयोगमा १०६ वटा राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका छन् । दल दर्ताको म्याद चार दिन थपिएको छ । यस अवधिमा थप दल दर्ता हुने सम्भावना छ । यसरी थपिँदै गएका नयाँ मतदाता र नयाँ राजनीतिक दलले यो निर्वाचनलाई महìवका साथ हेरेका छन् । अहिलेको अवस्थामा प्रतिनिधि सभा पुनस्र्थापनाको माग कुनै अर्थमा पनि उचित देखिँदैन । किनभने प्रतिनिधि सभा फेरि पुनस्र्थापना हुँदा फेरि त्यही दल, त्यही सांसद त्यही मन्त्री र त्यही प्रधानमन्त्री देशले पाउने छ । जसले गर्दा हिजो जेनजीले गरेको आन्दोलनको कुनै औचित्य रहँदैन । अनियमितता र भ्रष्टाचारको छानबिन, कारबाही, अवैध धनसम्पत्ति कमाउनेको सम्पत्ति छानबिन र कारबाही हुने सम्भावना न्यून हुन्छ । यसले थप विद्रोह निम्त्याउने खतरा छ । यस कारण अहिले आमनागरिक र मुलुकको हितका लागि निर्वाचन नै उत्तम विकल्प देखिन्छ ।
निर्वाचनले नयाँ अवसर त दिने नै भयो तर सँगसँगै यसलाई सफल गराउन चुनौती पनि सामना गर्नुपर्ने विभिन्न अवस्था आउन सक्छ । जेनजी आन्दोलनपछि देशको सुरक्षा अवस्था कमजोर भएको हो भन्ने बुझाइ छ । आन्दोलनका क्रममा लुटिएकामध्ये हालसम्म ७५० थान हतियार मात्रै बरामद भएका छन् । बाँकी ५५० थान हतियार अझै फेला पर्न सकेका छैनन् । प्रदर्शनकारीले मुलुकभरबाट प्रहरीको झन्डै एक हजार पाँच सय थान हतियार लुटेका थिए । लुटिएकामध्ये दुई सय थान हतियार जलेको अवस्थामा फेला परेका छन् । यसरी लुटिएका हातहतियारलाई प्रहरीले समयमै खोजतलास गरी भविष्यमा आइपर्न सक्ने चुनौतीलाई टार्न सक्नु पर्छ । जसले गर्दा आममतदाता र सुरक्षा निकायको पनि मनोबल बलियो बनाउँछ ।
कतिपय राजनीतिक दल र जनसमुदायले अन्तरिम सरकारले तोकेको निर्धारित समयावधिमा निर्वाचन नहुन सक्छ भन्ने प्रक्षेपण गरेका छन् । छिमेकी मुलुक बङ्गलादेशमा गत वर्ष तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्ने विद्यार्थी आन्दोलन एक महिना बढी समय चलेको थियो । आन्दोलन भएको एक वर्षपछि पनि निर्वाचन कहिले हुने होला भन्ने निश्चित भएको छैन । त्यहाँका अन्तरिम सरकारका प्रधानमन्त्री मोहम्मद युनुसले सन् २०२६ को फरबरीमा चुनाव गर्ने भन्नुभएको छ तर यकिन मिति भने अझै निर्धारण भएको छैन । जसले गर्दा बङ्गलादेशका जनतामाझ फेरि पनि निराशा र आक्रोश थपिएको छ ।
नेपालमा भने प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले छ महिनाभित्र निर्वाचन गराउने दृढता देखाएको छ । उक्त दृढतालाई साकार बनाउन सरकारले मात्र आँटेर हुँदैन यसमा निर्वाचन आयोग, आमराजनीतिक दल र जनसमुदायले राष्ट्रिय जिम्मेवारी ठानेर अगाडि बढ्न सघाएमा जेनजी आन्दोलनले दिएको म्यान्डेट अनुसारको निर्वाचन सफल हुने छ ।
निर्वाचन व्यावहारिक रूपले सुसम्पन्न गरिए पनि भोलि सरकारमा को आउँला, कसले बहुमत पाउँला भन्ने निश्चितता गराउन सक्ने क्षमता भने नागरिकको मतबाट थाहा हुने हो । यस कारण फेरि पनि विगतको नेतृत्व सरकारमा पुगेमा नागरिकले खोजेको परिवर्तनले साथ नपाउन सक्छ । हामीले खोजेको सरकार कस्तो हो ? नेतृत्व कस्तो हो ? कस्तो नेतृत्वले सरकार चलाउँदा हिजो जेनजीको आन्दोलनले गरेको माग पूरा हुन सक्छ भन्ने कुरा आमनागरिकले बुझ्नुपर्ने आवश्यकता छ ।
भोलि निर्वाचित हुने सरकार र नेतृत्वको भागमा ठुलो जिम्मेवारीले काँध लगाउने छ । जेनजीको मागलाई सम्बोधन गर्न प्रतिनिधि सभा र राष्ट्रिय सभाको खाँचो छ, जुन यो निर्वाचनले दिने छ । अहिले जेनजीको मागलाई सम्बोधन गर्न संविधानको संशोधन गर्नुपर्ने देखिन्छ । जुन वर्तमान परिस्थितिमा प्रतिनिधि सभा विघटन भएको हुनाले सम्भावना छैन । निर्वाचनपश्चात् गठन हुने सरकारले सबैभन्दा पहिले संविधानको संशोधनलाई मुख्य कार्यभार बनाउनुपर्ने देखिन्छ ।
कहीँ कतै जेनजीका केही प्रतिनिधिले संविधान खारेज गरी नयाँ संविधान बनाउनुपर्ने माग पनि गरेका छन् । यसो गर्दा राज्यलाई ठुलो आर्थिक भार पर्ने छ । विगतको संवैधानिक इतिहासलाई खोतल्दा पनि अहिले नयाँ संविधानभन्दा पनि संविधानको संशोधनलाई जोड दिनु पर्छ । विश्वका शक्तिशाली राष्ट्रको सूचीमा रहेको अमेरिकामा सन् १७८७ मा आएको संविधान २०० वर्ष पुग्दा पनि कार्यान्वयनमा छ । अहिलेसम्म उक्त संविधान २७ पटक संशोधन गरिएको छ । हामी आजसम्म सात वटा संविधान फेर्दा चित्त बुझाउन सकेका छैनौँ । यसबाट के स्पष्ट हुन्छ भने जति नै राम्रो शासन प्रणाली किन नल्याइयोस्, नेतृत्व कमजोर छ भने कसैको केही लाग्दैन । व्यवस्था भएन, संविधान भएन फेर्नु पर्छ भन्नुभन्दा पनि नेतृत्व बलियो बनाउने र राजनीतिक स्थायित्व प्रदान गर्नेतर्फ सबै सचेत हुन जरुरी छ ।
यो निर्वाचनमा दलहरूलाई जनविश्वास दिलाउन निकै सकस पर्ने देखिन्छ । मुलुकमा रहेका राजनीतिक दलहरू परम्परागत रूपमा अगाडि बढेका छन्, जसको रूपान्तरणमा भिजनको चुहावट रहेको पाइन्छ । दलहरू अबको निर्वाचनमा बहुमत ल्याउन दलभित्र रहेका पुराना पुस्तालाई भन्दा नयाँ र सक्षम नेतृत्वलाई चयन गरी आफ्नो गिर्दो शाखलाई जोगाउनेतर्फ लाग्नु पर्छ । नागरिकले दलहरूप्रति गुमाइरहेको विश्वासलाई पुनःआर्जन गर्न आफूलाई रूपान्तरण र शुद्धीकरण गर्नबाहेक अन्य कुनै विकल्प देखिँदैन ।
अन्तरिम सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु मात्र हो भनेर अन्य कार्यभारबाट ओझेल पनि पर्नु हुँदैन । हिजो जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका र घाइते भएकाहरूलाई उपचार र राहत पनि प्रदान गर्नु पर्छ । आन्दोलनका क्रममा मानव अधिकार र बाल अधिकार हनन गर्नेलाई कानुनबमोजिम कारबाही गर्न सक्नु पर्छ । विभिन्न सार्वजनिक सम्पत्ति र निजी सम्पत्ति आगजनी र लुटपाट भएको छ, जसको गहन अनुसन्धान जरुरी छ । निजी क्षेत्रको मनोबल कमजोर भएको छ, सरकारले पुनस्र्थापन गर्न अहम् भूमिका खेल्नु पर्छ ।
नेपालको निर्वाचन इतिहासमा सबैभन्दा कान्छो पुस्ताले गरेको विद्रोहले एउटा निर्वाचन निम्त्याएको छ । जसले आमजनसमुदायमा उत्साह छाएको छ । यसअघि भएका निर्वाचनभन्दा बढी यस निर्वाचनप्रति युवापुस्तादेखि अन्य पुस्ताले चासो राखेका छन् । निर्वाचन सफल गराई मुलुकमा सुशासन प्रवर्धन, पुनर्निर्माण र विकास गर्नु सरकारको मूल दायित्व रहेको छ । लोकतन्त्रका वाहक शक्ति राजनीतिक दल भएकाले दलको साथ, सहयोग र सहभागितामै निर्वाचन सम्पन्न गराउनु पर्छ । निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनु भनेको जेनजी आन्दोलनले पहिलो चरणमा सफलता पाएको हो भनेर बुझ्न सकिन्छ ।