गङ्गाकुमारी मिजार
रसुवा, मङ्सिर १२ गते । गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेका ४४ वर्षीय सेरामनुर्पु घले बर्सौंदेखि चौँरीपालन गर्दै आउनुभएको छ । हिमालको पहिचान झल्किने चौँरी घलेका लागि जीवनयापनको माध्यम मात्र बनेको छैन, व्यवसाय नै बन्न पुगेको छ ।
पारिवारिक परम्परागत पेसालाई निरन्तरता दिँदै आएका घलेले नौ वटा चौँरीबाट व्यवसाय थाल्नुभएको थियो । अहिले उहाँको गोठमा ६१ वटा चौँरी छन् ।
उहाँले वैशाखदेखि असोजसम्म दैनिक ३७ लिटर दुध बेच्दै आउनुभएको छ । उहाँले उत्पादन गरेको दुध दुग्ध विकास संस्थानले खरिद गर्दछ । दुध र दुग्ध पदार्थ बेचेर उहाँले वार्षिक नौ लाख रुपियाँ आम्दानी गर्दै आएको बताउनुभयो । कात्तिकदेखि चैतसम्म दुध कम हुने भएकाले त्यस समयमा घलेको घर घिउ र छुर्पीले भरिन्छ ।
बर्खामा चौँरी छ महिनासम्म गोसाइँकुण्ड वरपरका उच्च चौरमा बस्छन् । जाडो लागेपछि धुन्चेतर्फ झारिन्छ । साधारण लेखपढ मात्र भएका घलेले बुवाबाट सिकेको पेसालाई आफ्नै बल र निर्णयले बलियो बनाउनुभएको छ । “पहिले बुवाले गर्नुहुन्थ्यो, अहिले म समालिरहेको छु,” उहाँले भन्नुभयो, “दुःख त धेरै हुन्छ तर यसमै सम्मान छ । परिवारसँग बस्न पाउँछु, यहीँ कमाइ हुन्छ ।”
‘मारमेन्दो व्यवसायी चौँरीपालन फार्म’ दर्ता गरेर औपचारिक रूपमा व्यवसायलाई अघि बढाएका घले अहिले गर्वसाथ भन्नुहुन्छ, “जहाँ गए पनि दुःख नगरी सुख पाइँदैन । पढेको भए ठुलो मान्छे हुन्थेँ होला तर नपढे पनि जीवनलाई बुझ्ने अवसर यहीँ पाएको छु । यही कमाइले नै छोरालाई राम्रो पढाइरहेको छु ।”