• १२ मंसिर २०८२, शुक्रबार

विवादित शुल्क वृद्धि कार्यान्वयन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १२ गते । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आर्थिक भार पर्ने गरी बढाइएको स्वास्थ्य परीक्षण शुल्क बुधबारदेखि कार्यान्वयन आएको छ । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले गत चैत ८ गते त्यस्तो मन्त्रीस्तरीय निर्णय गर्नुभएको थियो । उक्त निर्णय नै आजदेखि कार्यान्वयन भएको जनाइएको छ ।

उक्त निर्णय अनुसार वैदेशिक रोजगारीमा जानेले परीक्षणको प्याकेजमा नौ हजार पाँच सय रुपियाँ तिर्नुपर्ने छ । यसअघि स्वास्थ्य व्यवसायीले वैदेशिक रोजगारीमा जाने श्रमिकबाट छ हजार पाँच सय रुपियाँसम्म लिँदै आएका थिए । 

स्वास्थ्य परीक्षण सेवा गुणस्तरीय बनाउन भन्दै सरकारले ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने र त्यसका लागि शुल्कसमेत बढाउने निर्णय गरिएको जनाएको थियो । सरकारले तत्कालीन समयमा शुल्क बढाउने निर्णय गरे पनि चौतर्फी विवादका कारण कार्यान्वयनमा आउन सकेको थिएन ।

स्वास्थ्य व्यवसायीले उक्त बढेको शुल्क बुधबारदेखि कार्यान्वयनमा ल्याएका हुन् । नेपाल स्वास्थ्य व्यवसायी महासङ्घ र नेपाल मेडिकल व्यवसायी सङ्घले संस्थामा आबद्ध व्यवसायीलाई पत्राचार गर्दै बढेको शुल्क कार्यान्वयन गर्न भनेका छन् । 

विभिन्न ३४ प्रकारका परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको, त्यसका लागि शुल्क नौ हजार पाँच सय रुपियाँ लिन सरकारले थप गरेका परीक्षण अनिवार्य रूपमा कार्यान्वयन गर्न संस्थाहरूले व्यवसायीलाई अनुरोध गरेका छन् । महासंघले सबै स्वास्थ्य संस्था प्रविधिमैत्री (डिजिटलाइजेसन) बनाउने कार्य मन्त्रालयले निरन्तर गरिरहेकाले त्यही आधारमा आजदेखि लागु हुने गरी शुल्क बढाएको जनाएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि सूचीकृत १७१ वटा स्वास्थ्य संस्थाको सूची सार्वजनिक गरेको थियो ।  मन्त्रालयले श्रमिकको स्वास्थ्य परीक्षणलाई वैज्ञानिक बनाउन डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।