• १२ मंसिर २०८२, शुक्रबार

धानपछि गहुँका लागि मल अभाव

blog

रासायनिक मल (युरिया) बिना गहुँ छर्दै किसान । तस्बिर : ज्योति पन्थी

बबई समाचारदाता

बबई (बर्दिया), मङ्सिर १२ गते । रासायनिक मलको अभावमा नै जसोतसो धानबाली लगाएर उठाएका किसानलाई गहुँ छर्ने बेला उस्तै दुःख छ । धान काट्ने सिजन सकिएपछि बर्दियाका किसान गहुँ छर्न व्यस्त छन् तर गहुँका लागि आवश्यक युरिया, डिएपी र पोटास जस्ता रासायनिक मल नहुँदा खिन्न पनि छन् । 

धान र गहुँ दुवैका लागि उर्वर बर्दिया जिल्लामा किसानले बर्सेनि गहुँ रोपाइँअघि मल छर्ने अभ्यास गर्दै आएका छन् तर केही वर्षयता मल आपूर्तिमा देखिएको अनियमितता र अभावका कारण किसानले समयमै रासायनिक मल नपाउने गुनासो गर्दै आएका छन् ।

बारबर्दिया नगरपालिकाका पदनाहगाउँका कृषक फूलपाती चौधरीले भन्नुभयो, “गहुँ छर्ने समय यही हो तर मल नपाएपछि किसान बाध्यतापूर्वक मलबिना नै खेतमा खटिएका छन् ।”

अनुदानको मल पर्याप्त नपुग्ने, सहकारीले माग अनुसार मल वितरण गर्न नसक्ने समस्या अझै छ । गुलरिया–१, खैरापुरका कृषक नेपालु थारूका अनुसार चार बोरा मल चाहिने ठाउँमा सहकारीले आधा बोरा मात्र दिएको छ ।

बर्दियामा गुलरिया, राजापुर र बारबर्दिया नगरपालिकालाई गहुँ खेतीका लागि अत्यन्त उर्वर क्षेत्र मानिन्छ । यहाँका झन्डै ७० प्रतिशत किसान कृषिमा निर्भर छन् तर मल अभावले उनीहरू यतिबेला मर्कामा परेका छन् ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका नायब प्राविधिक सहायक रज आचार्यका अनुसार जिल्लामा हाल २३ हजार ३९५ हेक्टर जमिनमा गहुँ खेती हुँदै आएको छ । वार्षिक रूपमा ८८ हजार ७०१ मेट्रिक टन गहुँ उत्पादन हुने गर्दछ तर गहुँ उत्पादनका लागि बर्दियामा मात्र ५३ हजार ९८ मेट्रिक टन युरिया, दुई हजार ५१९ मेट्रिक टन डिएपी, एक हजार ७९९ मेट्रिक टन पोटास आवश्यक पर्नेमा युरिया पु¥याउन नसकिएको आचार्यले बताउनुभयो ।

प्राविधिकका अनुसार गहुँ बिउ रोप्ने समयमै रासायनिक मल नपुग्दा उत्पादनमा प्रत्यक्ष असर पर्छ । किसानले मल नपाउँदा उपयुक्त समयमै गहुँ नछर्नुपर्ने अवस्था आउँछ, जसले कुल उत्पादन घट्ने सम्भावना बढाउँछ ।

बर्दियामा व्यावसायिक गहुँ खेती विस्तार भइरहे पनि मलको समस्या समाधान नहुँदासम्म किसानको मर्का र उत्पादनमा जोखिम कायम रहने देखिएको छ ।