• ५ मंसिर २०८२, शुक्रबार

पाँच वर्षपछि दोहो-याएर ठेक्का आह्वान

blog

नारायणगढको लायन्सचोकमा रहेको भरतपुर मेट्रो प्लाजा निर्माण स्थल र भरतपुर मेट्रो प्लाजाको स्केच ।

चितवन समाचारदाता

चितवन, मङ्सिर ५ गते । पाँच वर्षअगाडि शिलान्यास भएर पनि निर्माण हुन नसकेको भरतपुर मेट्रो प्लाजाको पुनः ठेक्का आह्वान गरिएको छ ।  नारायणगढको मुख्य स्थान लायन्सचोकमा रहेको सब्जी मण्डीको खाली जग्गामा बहुउद्देश्यीय प्रयोजनका लागि निर्माण गर्ने भनेर शिलान्यास गरेको भवन नबनेपछि पुनः ठेक्का आह्वान गरिएको हो । 

विसं २०७७ फागुनमा महानगरले पहिलो पटक ठेक्का खोलेर निर्माणका लागि आह्वान गरेको थियो । यस पटक लागत रकम घटाएर नयाँ ठेक्का खोलिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो । 

“यसअगाडि मागेका प्रस्तावमा लागत धेरै थियो, ठुलो रकममा ठेक्का हाल्न निजी क्षेत्र आउन नसकेको महसुस भयो । उनीहरूलाई लगानी गर्ने अवस्था सिर्जना होस्, प्रस्ताव प्रशस्त आउन् भन्ने उद्देश्यले यस पटक लागत घटाएर टेन्डर आह्वान गरिएको छ,” प्रमुख प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो । उहाँका अनुसार यस पटकको लागत यसअघिको तुलनामा आधा घटेको छ ।

भरतपुर महानगरपालिका–३ मा रहेको लायन्सचोकको यसअगाडि सब्जीमन्डी रहेको ठाउँमा भरतपुर मेट्रो प्लाजा बनाउने तयारी भएको हो । त्यहाँको तरकारी मण्डीलाई विसं २०७५ मा भरतपुरको क्षेत्रपुरमा स्थानान्तरण गरिएको छ । निजी क्षेत्रले १४ करोड रुपियाँको लगानीमा क्षेत्रपुर तरकारी बजार तयार पारेर व्यापार गर्दै आएको छ । 

सब्जीमण्डी सरेपछि भरतपुर महानगरले त्यहाँ रहेको ११ कट्ठा जमिनमा भरतपुर मेट्रो प्लाजा बनाउने अवधारणा ल्याएको हो । सार्वजनिक–निजी साझेदारी (पिपिपी मोडल) बाट बहुउद्देश्यीय व्यावसायिक भवन बनाउने भएपछि विसं २०७७ को फागुनमा पहिलो ठेक्का खोलेको थियो । 

पहिलो पटकको ठेक्कामा सात वटा कम्पनीले महानगरमा प्रस्ताव पेस गरेका थिए । तीमध्ये आर्या बिल्डर्स एन्ड इन्जिनियरिङ प्रालिलाई ठेक्का परेर शिलान्याससमेत भएको थियो । २०७८ साउन २४ गते भरतपुर महानगर र आर्या बिल्डर्सबिच सम्झौता भएको थियो । तीन वर्षमा भवन पूरा गर्ने, तीन वटा बेसमेन्ट पार्किङसहितको १४ तले सुविधासम्पन्न भवन दुई अर्ब रुपियाँमा बनाउने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । २०७८ भदौ ९ गते पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर मेट्रो प्लाजाको शिलान्याससमेत गर्नुभएको थियो । 

नयाँ बन्ने भवनमा चिल्ड्रेन पार्क, सभा हल, पाँचतारे होटेल, सिनेमा हल, फुड कोर्ट, क्यासिनोलगायतका संरचना रहने भनी प्रचार गरिएको थियो । तीन लाख २५ हजार वर्गफिट र ५१ मिटर उचाइको भवन ३० वर्ष उपयोग गर्ने गरी सम्झौता भएको थियो । सम्झौता भएको दुई वर्षसम्म निर्माण कम्पनीले काम अगाडि बढाउन सकेन । यसबिचमा कोभिड–१९ को सङ्व्रmमणले निर्माण कार्य हुन सकेन । काम नै अगाडि नबढ्ने भएपछि महानगरले २०८० मङ्सिर २२ गते एक करोड २० लाख रुपियाँ धरौटी जफत गरी सम्झौता नै रद्द गरेको थियो । पहिलो ठेक्का सम्झौता रद्द गरेपछि महानगरले दोस्रो पटक पुनः २०८१ मङ्सिर १८ गते भरतपुर मेट्रो प्लाजाको ठेक्का आह्वान ग-यो । दोस्रो पटकको ठेक्का आह्वानमा पर्याप्त आशयपत्र परेनन् । एउटा कम्पनीले आशयपत्र हाले पनि विस्तृत परियोजना पेस गर्न नसक्दा प्रस्ताव नै नपरी दोस्रो पटकको ठेक्का रोकियो । 

महानगरले पुनः कात्तिक ३० गते सूचना प्रकाशित गरी निजी क्षेत्रलाई प्रस्ताव पेस गर्न आह्वान गरेको छ । तेस्रो पटकको सूचनामा लागत आधाले कम भएका कारण प्रस्ताव पेस हुनेमा आशावादी रहेको प्रमुख प्रशासकीय अधिकृत पौडेल बताउनुहुन्छ । ८० करोड रुपियाँदेखि एक अर्बसम्मको लागत प्रस्ताव पेस गर्न निजी क्षेत्रलाई सूचनामार्फत आह्वान गरिएको छ । 

प्रस्तावसम्बन्धी कागजात शुल्क २५ हजार रुपियाँ राखिएको छ भने प्रस्ताव जमानत २५ लाख तोकिएको छ । प्राविधिक तथा वित्तीय सम्भाव्यतासहितको प्रस्ताव पेस गर्न अन्तिम मिति २०८२ माघ २ गतेसम्म तोकिएको छ ।