• ५ मंसिर २०८२, शुक्रबार

पुस दोस्रो साता ‘आठौं बागलुङ महोत्सव’ हुने

blog

महोत्सवबारे सञ्चारकर्मीलाई जानकारी दिनुहुँदै उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष राजन कुमार शाक्य । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, मङ्सिर ५ गते ।
बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म आठौं बागलुङ महोत्सव हुने भएको छ । ‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समृद्व बागलुङ निर्माणको आधार’ भन्ने नारासहित गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव आयोजना गरिएको हो ।

बिहीबार पत्रकार सम्मेलन गरेर संघले महोत्सवबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा अध्यक्ष राजनकुमार शाक्यले महोत्सवलाई मौलिक बनाउने जानकारी दिनुभयो । पर्यटनको प्रवर्धन, जिल्लाको विकास निर्माणमा साथ दिने र संघको संस्थागत विकासमा महोत्सवलाई उपयोग गरिने शाक्यको भनाइ थियो ।

महोत्सवमा ८ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ । बागलुङस्थित ‘कोसेली घर’ सञ्चालन गर्न महोत्सवको मुनाफालाई सदुपयोग गर्ने, सडक मानवरहित नेपाल बनाउने मानव सेवा आश्रमको अभियानलाई सफल बनाउन महोत्सवको टिकटबाट १० रुपियाँ सहयोग गर्ने, खेलकुदका लागि कोष स्थापना गर्ने, उद्योग वाणिज्य संघबाट सञ्चालन गरिने सदस्य कल्याणकारी कोष सञ्चालनका लागि पाँच लाख रुपियाँ विनियोजन गर्ने उद्देश्य महोत्सवमार्फत राखिएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

महोत्सवमा जिल्ला र प्रदेशका पर्यटकीय स्थलको वृत्तचित्र प्रर्दशनी, टिकटक च्यालेन्ज, फोटो कन्टेन्ट प्रतियोगिता, हाइकिङ एण्ड टुर प्याकेज, ‘मेड इन बागलुङ’ कक्ष स्थापना गरी स्थानीय उत्पादनको प्रवर्धन गर्ने गतिविधि सञ्चालन हुनेछन् । त्यस बाहेक डिजिटल विज्ञापन, अंग्रेजी नयाँ वर्षको अवसरमा डिजे कन्सर्ट, सुन्तला जोन स्थापना र प्रवर्धन, माछा, होमस्टे कनेक्सन र स्थानीय खानाको प्रदर्शन गरिने योजना पनि संघले बनाएको छ ।

महोत्सवमा रैथाने बाली र पशुजन्य उत्पादनको बिक्री, मौलिक जातीय झाँकी प्रदर्शन, सूचना प्रविधिसम्बन्धी परामर्श र बिक्री, शैक्षिक परामर्श, जातीय खानाका परिकारको स्टल तथा ‘एक गाउँ एक उत्पादन’को सामाग्री प्रर्दशनी राखिने छ । महोत्सवलाई व्यवस्थित बनाउन अध्यक्ष राजनकुमार शाक्यको अध्यक्षतामा मुल समारोह समितिसहित दर्जनबढी उपसमिति गठन भएका छन् ।

यो पटक महोत्सवमा झण्डै एक करोड ५० लाख आम्दानी गर्ने र सबै खर्च कटाएर ५० लाख बचत गर्ने लक्ष्य राखिएको शाक्यले जानकारी दिनुभयो । महोत्सवलाई बागलुङको व्यवसाय प्रवर्धनमा जोडिनेछ । त्यसका लागि जिल्लाका संभावनाको खोजी गर्ने, बागलुङ नगरपालिका वडा नं. १ को बाङेचउरमा महोत्सव भए पनि संभावनाको खोजीका लागि गरिने छलफलहरु बागलुङ बजारका विभिन्न स्थानमा गरिने निवर्तमान अध्यक्ष नरेश कँडेलले बताउनुभयो ।

पछिल्लो समय द क्लिबमार्फत बागलुङको बलेवा क्षेत्रमा व्यवसाय प्रवर्धनका कार्यक्रमहरु भएको, ढोरपाटनमा नेपाल उद्योग वाणिज्य महासंघको बैठक बसेपछि प्रचार प्रसार बढेको र पछिल्ला वर्ष ढोरपाटनमा सयौं पर्यटक बढेको कँडेलले जानकारी दिनुभयो ।