• ३ मंसिर २०८२, बुधबार

जाजरकोटमा अवैध सालको काठसहित एकजना पक्राउ

blog

कुलबहादुर शाही
जाजरकोट, मङ्सिर ३ गते ।
जिल्लामा अवैध सालका कडी बोकेको बस र एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँकेको नेपालगञ्जबाट जाजरकोटको कालीमाटी हुँदै रुकुम पश्चिमको आठबिसकोटतर्फ जाँदै गरेको भे १ ख २७८३ नम्बरको बसबाट अवैध काठसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बस धनी दैलेखको नौमुले गाउँपालिका–१ का ३० वर्षीय प्रकाशबहादुर सुनार रहनुभएको छ । उहाँलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले भेरी नगरपालिका–१३, कुदुस्थित सडक खण्डमा बस रोकेर खानतलासी गर्दा अवैध काठ फेला परेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाडी चालक सुर्खेतको भेरीगङ्गा नगरपालिका–४ का कर्णबहादुर सुनार भने घटनास्थलबाट फरार भएका छन् । बसभित्र विभिन्न साइजका ४७ थान साल जातका काठ फेला पारेपछि प्रहरीले काठ र बस दुवै रीतपूर्वक बरामद गरेको छ । बरामद काठ तथा बससहित सवारी धनी सुनारलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय जाजरकोटमा बुझाइएको प्रहरीले जनाएको छ ।