अजय शाह
गौशाला (महोत्तरी), मङ्सिर ३ गते । मधेश प्रदेशसभाको बैठक बुधबार बस्दै छ । प्रदेशसभा बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । आज बस्ने बैठकका लागि उपसभामुख बबिताकुमारी राउत इसरले आह्वान गर्नुभएको छ ।
सभामुख रामचन्द्र मण्डलले पद अनुकूल आचरण नगरेको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको भन्दै प्रदेश सांसद र प्रदेशसभामा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य रुपमा उपस्थित हुनका लागि उपसभामुख इसरले आग्रह गर्नुभएको छ ।
मङ्गलबार ३२ जना प्रदेशसभा सदस्यले उपसभामुखलाई पत्र बुझाउँदै तत्काल बैठक बोलाउन माग गरेका थिए । सभामुखमाथि पदीय आचरणविपरीत गतिविधि भएको भन्दै दर्ता गरिएको प्रस्तावमा छलफल सुरु गर्न विपक्षी दलका सदस्यहरूले उहाँलाई बैठक आह्वान गर्न अनुरोध गरेका थिए ।
विपक्षी दलको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले ३२ सदस्यहरूको हस्ताक्षरसहित बैठक बोलाउन आवश्यक समर्थन पुगेको जानकारी दिनुभयो । नियमावलीअनुसार २५ प्रतिशत सदस्यले माग गरेमा बैठक बोलाउन सकिने भएकाले ३२ सदस्यको हस्ताक्षर पर्याप्त भएको उहाँको भनाइ छ ।
नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र गरी सात दलका प्रतिनिधित्वमा यो माग गरिएको हो ।
उपसभामुखका अनुसार बैठकअघि बिहान १० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । उहाँले अविश्वास प्रस्तावमाथि छलफल अघि बढाउने कानुनी समयसीमा ७ दिन मात्रै भएको र मङ्सिर ३ अन्तिम दिन भएकाले वातावरण मिलाउन प्रयास भइरहेको बताउनुभयो ।
तर नियमावलीअनुसार अघि बढ्ने प्रक्रियालाई सभामुख मण्डलले सहज रूपमा नलिएपछि जटिलता उत्पन्न भएको उपसभामुख राउतको भनाइ छ ।
एमालेका प्रदेशसभा सदस्य शारदा थापाले पनि बैठकबारे जानकारी आएको बताउनुभयो । तर आफू बैठकमा नजाने उहाँले भन्नुभयो ।
यता प्रदेश सभा सचिवालयका प्रमुख कर्मचारीहरू सम्पर्कविहीन रहेको भन्दै उपसभामुखले असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँका अनुसार अधिकांश कर्मचारीले मोबाइल स्विच अफ राखेका छन् र सचिवालय सभामुखको निर्देशनमा मात्रै चल्ने प्रवृत्ति देखिएको छ ।
सभामुखका निजी सचिव बलराम मण्डलले भने मङ्सिर ३ को बैठकबारे आफूलाई जानकारी नभएको बताउनुभयो । उहाँका अनुसार सभामुखले औपचारिक रूपमा बैठक आह्वान गरेका छैनन् ।
पदीय मर्यादाविपरीत काम गरेको भन्दै सात दलका ६४ जना प्रदेश सांसदको समर्थनमा सभामुख मण्डलविरूद्ध २७ कात्तिकमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।
नेपालको संविधान, २०७२ र प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ बमोजिम प्रदेशसभाको सभामुखले प्रदेशसभा बैठक कुनै दलको प्रभावबिना संसदीय मूल्यमान्यता तथा नियमावली बमोजिम सञ्चालन गर्नुपर्ने हुन्छ ।
तर सभामुख मण्डलले एक दलको निर्देशन बमोजिम पटक पटक सभा सञ्चालन गरेको, विपक्षी दलको उपस्थितिबिना पनि सभा सञ्चालन गरेको, २०८२ कात्तिक २ गतेको प्रदेशसभा बैठकमा कार्यव्यवस्था परामर्श समितिको निर्णय विपरीत संसदीय दलको नेतालाई रोस्ट्रम प्रयोग गर्न नदिएको तथा अन्य प्रदेशसभा सदस्यलाई रोस्टम प्रयोग गर्न दिएको, मुख्यमन्त्रीलाई समेत रोस्टम प्रयोग गर्न नदिएर पद अनुकूल आचरण नगरेको प्रस्तावमा उल्लेख छ ।
उनीहरूले प्रदेशसभामा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८० को उपनियम (१) बमोजिम प्रस्ताव पेस गरेका थिए । जसमा सभामुखलाई पदीय अनुकूल आचरण सम्बन्धी प्रस्ताव दर्ता गराउने व्यवस्था छ । सभामुखविरूद्ध अविश्वास प्रस्ताव पारित गर्न दुईतिहाइ बहुमत आवश्यक पर्ने संवैधानिक व्यवस्था छ ।
प्रस्ताव दर्ता गर्ने क्रममा सभामुखले सांसदहरूप्रति हातपात गरेको र उनीहरूलाई उपसभामुखको कोठामा थुनिएको आरोप पनि लगाइएको थियो, जसपछि प्रहरीले उनीहरूलाई बाहिर निकालेको थियो । स्थितिलाई ध्यानमा राख्दै नयाँ दर्ता रजिस्टर ल्याई प्रस्ताव दर्ता गरिएको थियो ।
सभामुख मण्डल विवादित भएपछि उपसभामुखलाई अघि सार्दै सात दलीय गठबन्धनका ७४ जना प्रदेश सांसदको सहभागितामा यसअघि प्रदेशसभाको प्राङ्गणमै बसेर सदन चलाएको थियो ।