• ३ मंसिर २०८२, बुधबार

उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकलाई राहत

अब भ्रमण समयअवधिको मात्रै शुल्क तिर्नुपर्ने

blog

मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा अवस्थित सात सय वर्ष पुरानो ऐतिहासिक लोमान्थाङ दरबारको अवलोकनका गर्दै पर्यटक । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 
मुक्तिनाथ (मुस्ताङ), मङ्सिर ३ गते ।
उपल्लो मुस्ताङ क्षेत्र भ्रमण गर्ने विदेशी नागरिकले अब पदयात्रा गरेको समयअवधिको मात्रै ५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा कायम तिरे हुने भएको छ । अध्यागमन विभागलाई यस अगाडि एकमुष्ठ प्रति विदेशी पर्यटकबाट पाँच सय अमेरिकी डलर तथा १० दिनभन्दा बढि भ्रमण गर्न प्रतिदिन ५० रुपियाँका दरले शुल्क तिर्नुपर्ने प्रावधान हटाएको सरकारले हटाएको हो ।

नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ मा हेरफेर गरेको बताउनुभयो । छिमेकी जिल्ला चिनको तिब्बत क्षेत्र जोडिएकाले सुरक्षा संवेदनशीलताका कारण अर्धनिषेधित क्षेत्रमा पर्ने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङ, वडा नं ५ को साङ्ता र चीनको स्वशाशित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्रमा भ्रमण गर्ने सार्क तथा तेस्रो अन्य राष्ट्र«का पर्यटकलाई राहत मिलेको छ ।

विगत डेढ दशकदेखि उपल्लो मुस्ताङवासीले उठाउँदै आएको माग पूरा भएको भन्दै मुस्ताङका जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवाला निकायका प्रतिनिधिले खुसी व्यक्त गरेका छन् । लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टासी न्हर्वु गुरुङले विगतमा गरेका प्रयासहरू सफल भएको बताउनुभयो । अध्यक्ष गुरूङले भन्नुभयो, ‘‘अब भ्रमण गरेको दिनको मात्रै शुल्क तिरे हुन्छ, यसले माथिल्लो क्षेत्रको पर्यटनलाई राहत मिलेको छ ।’’

एकैपटक १० दिनको पाँच सय डलर लिने नियमका कारण मुस्ताङको पर्यटन क्षेत्रलाई चिडियाखानमा राखेजस्तै भएको भन्दै पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादुर देउवा, केपी शर्मा ओली सहित विभिन्न निकायमा ज्ञापनपत्र बुझाएका थिए ।

नेपाल सरकारले सन १९९२ देखि उपल्लो मुस्ताङलाई विदेशी नागरिकलाई अनुमति र शुल्क तिरेर घुम्न पाउन समयसीमा तोकेको थियो । मुस्ताङका निर्वतमान प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले विदेशी पर्यटकलाई लिने शुल्क र निषेधित क्षेत्र हटाउने पटकपटक प्रतिनिधिसभा बैठकमै आवाज उठाउनुभएको थियो । उहाँले शुल्कभन्दा पनि अब अन्तरदेश व्यापार विस्तार भएसँग अर्धनिषेधित क्षेत्र हटाउनुपर्ने बताउनुभयो ।

कोरला नाका सहज बन्दै गएको अवस्थामा उपल्लो क्षेत्रमा विदेशी पर्यटकलाई समेत सहज आवतजावतको वातावरण बनाउन सरकारले गरेको निर्णयले मुख्य–मुख्य स्थानमा पुगेर पर्यटक फर्किने जोखिम समेत रहेकाले एक सातासम्मको शुल्क नै ५० डलर भएमा सहज हुने पर्यटन व्यवसायीको भनाइ छ । मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लालचनले शुल्क घटाउन मुस्ताङका सबै राजनीतिक दल, जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवाला निकायको साझा मुद्दा रहेको बताउनुभयो ।

चालु आर्थिक वर्ष २०८२÷०८३ को साउनदेखि कात्तिक महिनासम्म २४ हजार ५४५ पुरूष, १६ हजार ८७८ महिला, अन्य ७ जना गरी ४१ हजार ४३० विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेकोमा उपल्लो मुस्ताङ क्षेत्रमा १६ सय ६६ गरी १७ सय १० जना पुगेका थिए ।

सार्क राष्ट्र र तेस्रो मुलुकका पर्यटकलाई एउटै शुल्क निर्धारण गर्दा वार्षिक करिब एक लाख भारतीय मुक्तिनाथ मन्दिर पुग्ने गरे पनि शुल्क र अर्धनिषेधित क्षेत्रको झन्झटका कारण माथिल्लो क्षेत्रमा जान अनिच्छुक देखिने गरेको पर्यटन व्यवसायीको भनाइ छ । उपल्लो मुस्ताङ प्राचिन मानवबस्ती भएका गुफा, गुम्बा, लोमान्थाङ दरबार, कोरला नाका, पुरातात्तिक, धार्मिक,मौलिक रहनसहन, संस्कृति, जीवनशैलीले विदेशी पर्यटकलाई आर्कषित गर्ने गरेको छ ।