बाजुरा समाचारदाता
बाजुरा, मङ्सिर ३ गते । बाजुराको मार्तडी–कोल्टी सडक अन्तर्गत पर्ने बाउलीखोलामा पुल निर्माणका काम सुरु गरिएको झन्डै पाँच वर्षसम्म पूरा नभएको पाइएको छ । सो पुल एक वर्षकै निर्माण गर्ने गरेर ठेक्का भएको थियो ।
सो खोलामा अहिलेसम्म पुल निर्माणको काम जम्मा १५ प्रतिशत मात्र भएको छ । २०७८ भदौ १५ गते सो खोलामा २५ मिटर पुल निर्माणका लागि टिडिआर जुगल कौसिक जेभीले पुल निर्माणको जिम्मा लिएको थियो । सडक डिभिजन कार्यालय अछामका अनुसार कम्पनीले जिम्मा लिएको सो पुल २०७९ फागुन २५ गते पूरापर्ने थियो । सो खोलामा पुल नहुँदा बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेका हिमाली, स्वामीकार्तिक खापर, जगनाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकालगायतका स्थानीयले बर्खाको समय ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने अवस्था छ ।
यहाँ हिउँदको महिना मार्तडीबाट कोल्टीसम्म चल्ने सवारीसाधन बर्खाको समय बाउलीखोलामा पुल नहुँदा ती मार्तडीमै रोकिने गरेका छन् । यसरी सवारीसाधन मार्तडीमा रोकिने गरेपछि उनीहरूलाई बर्खाको समय ज्यान जोखिममा पारेर खोला तर्न बाध्य भएको हो । मार्तडीबाट कोल्टी सडक पुगेको झन्डै बिस वर्ष भयो तर बाउलीखोलमा पुल भने अझै निर्माण हुन सकेको छैन् । पुल चाँडो निर्माण नहुँदा यहाँका स्थानीयले सरकारी कामकाजका लागि कोल्टीबाट मार्तडी आउजाउमा निकै सास्ती खेप्दै आउनु परेको छ । पूर्वीउत्तर क्षेत्रमा उत्पादन भएको स्याउ पनि बाउलीखोलामा पुल निर्माण नभएकै कारण बारीमा थन्किने गरेको बुढीनन्दा नगरपालिका–९, पाण्डुसैनका स्याउ किसान मानबहादुर रावतले बताउनुभयो ।
उहाँले भन्नुभयो, “असारदेखि असोजसम्म बाउलीखोलामा पानीको बहाब धेरै हुन्छ । त्यतिबेलामा त्यस खोलामा गाडी चल्न सक्दैनन् । यता बारीमा भने स्याउ पाकेर लटरम्म हुने गर्छन् । बाउलीखोलामा पुल नभएकै कारण हामीले ती स्याउ समयमा बजारसम्म पु¥याउन नसक्दा बर्सेनि घाटा बेहोर्नु परेको छ ।
मार्तडी कोल्टी सडकको मुख्य समस्या भनेकै बाउलीखोलामा पुल निर्माण नहुनु हो । हिउँदको महिना बाउलीखोलामा पानी कम भएका कारण गाडी मार्तडीदेखि कोल्टीसम्म पुग्ने गर्छन् भने बर्खाको समय पानीको बहाब धेरै हुने गरेको र ती गाडी कोल्टीमै रोकिने गर्छन् । जसका कारण हामीले उत्पादन गरेको फलफूल बिक्रीका लागि बजारसम्म लैजान निकै समस्या हुने गरेको रावतले बताउनुभयो । यहाँका स्थानीय ठेकेदार कम्पनीलाई बारम्बार भन्ने गरेको भए पनि उनीहरूले आफ्नै मनमर्जीमा काम गर्ने गरेकाले अहिलेसम्म बाउलीखोलामा पुल निर्माणको काममा ढिलाइ भएको हो । बर्खाको समय खोलामा काम गर्न समस्या भएर काम रोकिने गरेको थियो । काम गरेको केही भाग बर्खाको बाढी आएर बगाएपछि पुल निर्माणको काम ढिलाइ भएको हो ।
अहिले फेरि पुल निर्माणका लागि म्याद थप गरिएको छ । सोही अनुसार काम चाँडै सुरु गर्ने गरेर म्याद थप भएको ठेकेदार भोजराज बुढाले बताउनुभयो । सडक डिभिजन कार्यालय अछामका इन्जिनियर सुवास शाहले भन्नुभयो, “जिम्मा लिएको पाँच वर्षमा १५ प्रतिशत काम मात्र भएको छ । हामीले धेरै पटक काम चाँडो गर्नु भनेर पत्राचार गरेको हो तर पनि ठेकेदारको लापर्बाहीका कारण पुल निर्माणमा निकै ढिलाइ भएको छ ।” अहिले फेरि २०८२ फागुन ११ गते काम पूरा गर्ने गरेर म्याद थपेका छौँ । सोही म्याद अनुसार काम गर्ने गरेर म्याद थपिएको छ, यस पटक पनि समयमा काम गरेन भने फेरि म्याद नथपिने इन्जिनियर शाहले बताउनुभयो ।