परासी समाचारदाता
परासी, मङ्सिर ३ गते । पश्चिम नवलपरासीको सिद्धिविनायक आयल्स प्रालिबाट फैलाइएको प्रदूषणको विषयलाई लिएर जिल्लास्थित उद्योग वाणिज्य सङ्घ(उवासङ्घ) र केही राजनीतिक दलका प्रतिनिधिबिच विवाद चर्किएको छ । प्रदूषण नियन्त्रणका लागि गरिएको अनुगमनका क्रममा उत्पन्न परिस्थितिले गर्दा दुई पक्षबिचको सम्बन्ध तिक्ततापूर्ण बन्दै गएको हो ।
रामग्राम नगरपालिका–१५, सुक्रौलीस्थित सिद्धिविनायक आयल्स प्रालिबाट निस्कने प्रदूषित पानी व्यवस्थित नगरिँदा वडा नम्बर १५ र १६ देखि लङ्कहवा, जमुनिया, हकुई हुँदै पाल्हीनन्दनको सनईसम्मको बस्तीमा प्रदूषण फैलिएको छ । उद्योगको फोहोर पानी नजिकैको खोल्सा र कुलोमा मिसाउँदा मानिसमा छाला चिलाउने रोग, पशु चौपायामा खोरेत जस्तो छाला उक्किएर जाने समस्या तथा पशु चौपायासमेत मरेको स्थानीयको गुनासो छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारी, जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष धरेन्द्र यादव, लोकतान्तिक समाजवादी पार्टी (लोसपा) का जिल्ला अध्यक्ष मुकुरजी गिरीलगायतका राजनीतिक प्रतिनिधि र सम्बन्धित वडाका जनप्रतिनिधिसहितको टोलीले उद्योगको अनुगमन गरेको थियो । अनुगमनका क्रममा उद्योग सञ्चालक रामगोपाल गोयन्काले आफूहरूलाई दलाल, ठगलगायतका अपशब्द प्रयोग गरेको भन्दै राजनीतिक दलका प्रतिनिधिले जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाउन जाहेरी दिएका छन् । यद्यपि प्रहरीले भने जाहेरी दर्ता गरेको छैन ।
राजनीतिक दलका प्रतिनिधिले उद्योग सञ्चालकमाथि उजुरी दिएको थाहा पाएपछि नवलपरासी उद्योग वाणिज्य सङ्घले राजनीतिक दलका प्रतिनिधिको व्यवहारप्रति प्रशासनको ध्यानाकर्षण गराएको छ । उवासङ्घका अध्यक्ष ओमप्रकाश अग्रहरीसहित पदाधिकारीले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई ध्यानाकर्षणपत्र बुझाएका थिए ।
ध्यानाकर्षणपत्रमा अनुगमनका क्रममा उद्योग सञ्चालकलाई गरिएको गालीगलौजसहितको व्यवहारप्रति असहमति प्रकट गरेको छ । यद्यपि ध्यानाकर्षणपत्रमा उद्योगले फैलाएको प्रदूषण नियन्त्रण गर्ने विषयमा भने उवासङ्घ मौन रहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) अनुपम श्रेष्ठले राजनीतिक दलको जाहेरी आएको स्वीकार गर्दै पहिलो चरणमा उद्योग सञ्चालकसँग पनि कुरा बुझेपछि मात्र जाहेरी दर्ता हुने वा नहुनेबारे निर्णय हुने बताउनुभएको छ । यता चार वर्षअघिदेखि सञ्चालनमा आएको उद्योगको प्रदूषण नियन्त्रणका लागि पटक पटक जिल्ला प्रशासनमा जाँदासमेत सुनुवाइ नभएको भन्दै स्थानीयले अब आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
यो घटनाले प्रदूषण नियन्त्रणको मुद्दालाई लिएर व्यावसायिक हितको पक्षधर र जनस्वास्थ्यको पक्षधरबिच पश्चिम नवलपरासीमा देखिएको गहिरो मतभेदलाई उजागर गरेको छ । दुवै पक्षका अडान र प्रशासनिक प्रतिक्रियाले यो विवाद अझै केही समय लम्बिन सक्ने सङ्केत दिएको छ ।