• ३ मंसिर २०८२, बुधबार

सर्लाहीमा ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ

blog

चोरी गर्ने गिरोहबाट बरामद विद्युतीय सामग्री र सवारी सार्वजनिक गर्दै सर्लाहीका एसपी योगेन्द्रकुमार खड्का र डिएसपी सरोज राई । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, मङ्सिर ३ गते ।
सर्लाहीका विभिन्न स्थानमा कृषि प्रयोजनका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ परेको छ । उक्त गिरोहमा रहेका पाँच जना नेपाली र चार जना भारतीय पक्राउ परेका हुन् । जिल्लाको बागमती, रानिगन्ज, चन्द्रनगरलगायत स्थानमा श्रृङ्खलावद्धरुपमा १७ वटा ट्रान्सफर्मर चोरी गर्ने व्यक्तिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा इलामको माइजोगमाइ गाउँपालिका–४, का २८ वर्षीय दुर्गा अधिकारी, सिन्धुपाल्चोकको पाखर गाउँपालिका–१, का ४२ वर्षीय सोनाम लामा, महोत्तरीको बर्दिवास नगरपालिका–३, का ५३ वर्षीय बुधे माझी, पर्साको वीरगन्ज महानगरपालिका–१६, का ३३ वर्षीय दिलिपकुमार ओझा र बाराको जितपुर सिमरा उपमहानगरपालिका–६, का ३९ वर्षीय कृष्ण श्रीवास्तव रहेका छन् । त्यस्तै भारतीय नागरिक ५० वर्षीय सुखाडी सहनी, २० वर्षीय सरोजकुमार सहनी, ५५ वर्षीय मो.रयाजुल र ३५ वर्षीय संजित पदार्थसमेत पक्राउ परेका छन् ।

सर्लाही प्रहरीले सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरुको साथबाट चोरी गरिएको विद्युत ट्रान्सफर्मरको तार १०३.८ केजी, चोरीमा प्रयोग गरिएको औजार ५१ थान र चोरीमा प्रयोग गरिएको दुई थान ई–रिक्सासमेत बरामद गरेको जानकारी गराएको छ । जिल्लामा विद्युतका ट्रान्सफर्मर चोरी भएपछि प्रहरीको विशेष टोली ‘अप्रेसन चार्ली’ बनाएर चोरीमा संलग्न व्यक्तिहरुलाई महोत्तरी, बारा, पर्सालगायत ठाउँबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक खड्काले बताउनुभएको छ ।

ट्रान्सफर्मर चोरीको घटनाले जिल्लामा कृषक र प्रहरी दुवै हैरान थिए । “जताततै कृषि प्रयोजनको ट्रान्सफर्मर चोरी हुँदा असाध्य हैरान भइरहेका थियौँ,” एसपी खड्काले भन्नुभयो, “विशेष टोली गठन गरेर निकै मेहनतका साथ परिचालित हुँदा चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्न सफल भएका हौँ ।”

प्रहरीका अनुसार परेकामध्ये सिन्धुपाल्चोकका सोनाम लामाविरुद्ध चोरी तथा डाँका सम्वन्धी कसूरमा विभिन्न जिल्लामा चारवटा मुद्दा चलेको र महोत्तरीका बुधे माझीविरुद्ध कर्तव्य ज्यान एक, डाँका एक र अभद्र व्यवहारमा दुईवटा मुद्दा चलेको पाइएको छ । भारतीय नागरिक सुखाडी सहनीले इलामका दुर्गा अधिकारी, सिन्धुपाल्चोकका सोनाम र महोत्तरीका बुधेसँग मिलेर एकान्त ठाउँमा रहेका ट्रान्सफर्मरहरुबारे सूचना सङ्कलन गर्ने गरेको पाइएको छ ।

त्यसपछि भारतीय नागरिकसँग समेत मिलेर ट्रान्सफर्मरका तार वीरगञ्जमा रहेका कवाड पसलमा लगेर बिक्री गर्ने गरेको पाइएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले बताउनुभयो । यस्तै पक्राउ परेकामध्ये बाराको जितपुर सिमरा उपमहानगरपालिका–६, का ३९ वर्षीय कृष्ण श्रीवास्तवको आफ्नै गढिमाई मेटल प्रा.लि. रहेको र त्यहाँ चोरी गरिएको ट्रान्सफर्मरको तामा पगालेर भाडाहरु बनाइ बेच्ने गरेकोसमेत पाइएको छ ।

डिएसपी राईले ट्रान्सफर्मर चोरी गर्ने गिरोह नै समातिएकाले अब ट्रान्सफर्मर चोरीका घटना रोकिने अपेक्षा गरिएको छ । “धेरै मेहनत गरेर चोरीमा संलग्न गिरोह पक्राउ गर्न सफल भएका छौँ,’’ डिएसपी राईले भन्नुभयो, तत्काल ट्रान्सफर्मर चोरीका घटना भएका छैनन् र अब चोरी रोकिने अपेक्षा पनि छ ।”

विद्युत प्राधिकरणका अनुसार ५० के.भी. को ट्रान्सफर्मर चोरी हुँदा चार लाख ५० हजार र १०० के.भी. ट्रान्सफर्मर चोरी हुँदा छ लाख ५० हजार रुपियाँ बराबरको क्षति हुन्छ । सर्लाहीबाट चोरी भएका अधिकांश कृषि प्रयोजनका ट्रान्सफर्मर १०० के.भी. का रहेका प्रहरीले जनाएको छ ।

सर्लाहीमा १७ वटा ट्रान्सफर्मर चोरी हुँदा करिव एक करोड १० लाख ५० हजार बराबरको क्षति भएको छ । सिँचाइमा प्रयोग भएको ट्रान्सफर्मर चोरी भएपछि किसानलाई सिँचाइका लागि समस्या पर्दै आइरहेको छ ।