रमेश विश्वकर्मा
गुल्मी, मङ्सिर ३ गते । गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले शान्ति सुरक्षालाई विशेष प्राथमिकतामा राखेको बताउनुभएको छ । जिल्लाका क्रियाशील पत्रकारहरुसँगको अन्तरक्रियमा जिल्लाको बस्तुस्थितिको बारेमा जानकारी लिनुहुँदै उहाँले शान्ति सुरक्षा कायम राख्नका लागि सबैसँग समन्वय गर्ने बताउनुभएको हो ।
दैलेखबाट सरुवा भई यस जिल्लामा ४६ औं प्रमुख जिल्ला अधिकारीको रुपमा आउनुभएको गैह्रेले सञ्चारकर्मी र प्रशासनको सम्बन्धलाई राम्रो बनाउनुका साथै हरेक कार्यालयमा सुशासन कायम राख्न निकै सक्रियताका साथ लाग्ने बताउनुभयो । सबै एकतावद्ध भएर नागरिकका समस्या समाधान गर्दै सहज रुपमा कार्यसम्पादन गर्नुका साथै काममा परिवर्तन ल्याउन सबैसँग समन्वय गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार प्रशासनसँगै अन्य सरकारी कार्यालयको सेवा प्रवाहमा चुस्तदुरुस्त राख्ने गरी निरन्तर रुपमा काम गरिने छ ।
सबै पक्षसँग समन्वय गरी सेवा प्रवाहलाई सहज बनाउनुका साथै जिल्लाको विकास योजनाको कार्यान्वयन भए नभएको निरन्तर अनुगमन गर्ने प्रजिअ गैह्रेले बताउनुभयो । नागरिकका गुनासोको सुनुवाइका लागि निकै सक्रिय भएर लाग्नुका साथै सरोकारवालासँग समन्वय गरी काम गर्ने बताउनुभयो । त्यस्तै, आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी सरकार लागेको हुँदा अहिले विशेषगरी निर्वाचन केन्द्रित हुने उहाँको भनाइ छ ।
जिल्लामा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित ढङगबाट सम्पन्न गर्नका लागि केन्द्रीय सुरक्षा समितिको निर्देशन अनुसार काम गर्ने भन्दै उहाँले सबैसँग समन्वय गर्ने बताउनुभयो । देशले जेनजी आन्दोलनका क्रममा पहिलो पटक ठुलो क्षति बेहोरेको छ । सुरक्षाको दृष्टिकोणले सबै सजग रहन जरुरी रहेको भन्दै उहाँले उच्च मनोबलका साथ सुरक्षा निकायले काम गर्न आवश्यक रहेको बताउनुभयो ।
त्यसक्रममा पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्षद्वय जनार्दन घिमिरे र टोपलाल अर्यालले जिल्लाको बस्तुस्थितिको बारेमा जानकारी गराउनुहुँदै जेनजी आन्दोलन पश्चात् नागरिकले असुरक्षा महसुस गरको हुँदा सुरक्षाको अनुभूति हुने गरी सचेतना गराउन आवश्यक रहको बताउनुभयो । नागरिकको सुरक्षाको विषयमा चासो देखाउनुपर्ने भन्दै उहाँहरुले व्यवहारिक र सहज रुपमा सेवा प्रवाह गर्न आग्रह गर्नुभयो। अन्तरक्रियामा सुरक्षा निकायका प्रमुख, पत्रकार महासंघ गुल्मीका पदाधिकारी लगायतको उपस्थिति थियो ।