कबिराज घिमिरे
हिले, मङ्सिर १ गते । धनकुटाको खाल्सा क्षेत्र यतिबेला मुन्धुम, स्थानीय वाजागाजा, नाचले गुन्जयमान छ । सो क्षेत्रमा बसोबास गर्ने छ्योलुङ र नाम्चाहाङ पाछाका राई समुदायको मुख्य पर्व वाढाङमी मनाइरहेका छन् ।
कात्तिक पूर्णिमापछिको पहिलो मङ्गलबारदेखि नयाँ वाली भित्र्याएको खुशीयालीमा खाल्सा क्षेत्रमा यो पर्व मनाउने गरीएको छ । चाड सुरु भएपछि मुन्धुम विदले बुढाहाङ (कुल देवता) को १५ दिनसम्म आराधना गर्ने र स्थानीयले पनि कुल देवता र पितृको पुजा गर्दै ६ दिन ६ रातसम्म नाचगान गरी पापानी मनाउने गरिएको छ । आफ्नो मनोकामना पुराहोस् भनेर एक जोडी परेवा उडाएर बुढाहाङलाइ सम्झने गरिएको स्थानीय जसबहादुर राई बताउनुहुन्छ ।
यो पर्वमा किरात राईहरुले कुलदेवताको पुजासँगै ढोल, झ्याम्टा बजाउदै लहरै कुम जोडेर तीन पाइला अघि र तीन पाइलापछि सरी नाच्ने गरिएको छ । यो पर्व कुल देवता र पितृको पूजा गर्दै मनाउने चलन रहेको छ । एक हप्ता सहिदभूमि गाउँपालिकाको खोकु, छिन्ताङ र आँखिसल्लाका गढी गढीमा फरक फरक दिन मेला लाग्ने गरेको छ । सोही मेलामा पापानी नाच्ने र गाउने गरिएको छ । त्यस्तै खाल्सा क्षेत्रमा बसोबास गर्ने वान्तवा राईहरुले समेत मनाउछन् ।
पहिले पहिले आफ्नो जाती भित्रमात्र सिमित रहेको यो नाच अबलोकन गर्न तथा मेला भर्न धनकुटासहित मोरङ सुनसरी तेह्रथुमवाट समेत स्थानीय पुग्ने गरेका छन् । स्थानीय चार्डको आनन्द लिने गरेका धनकुटाका मिन सुबेदी बताउनुहुन्छ ।
सहिदभूमि गाउँपालिकामा राई समुदायको बाहुल्यता छ । यहाँको कुल जनसङ्ख्यामध्ये करिव ८० प्रतिशत राई समुदायको बसोवास रहेको छ । बसोबास रहेका मध्ये करिव ५० प्रतिशत राइहरुले यो पर्व मनाउछन् । गएको मङ्गलबारबाट सुरु भएको यो चाड अउदो मङ्गलबार बिहान विधिवत रुपमा अन्त्य हुन्छ ।