• ३० कात्तिक २०८२, आइतबार

डोटेली राजाको प्राचीन दरबार पुनर्निर्माण

blog

पुनर्निर्माण गरिएको अजयमेरुकोटको मुख्य दरबार । तस्बिर : पुष्कर भण्डारी

पुष्कर भण्डारी 

डडेलधुरा, कात्तिक ३० गते । १३औँ शताब्दीको इतिहास बोकेको डोटेली राजाको प्राचीन दरबार अजयमेरुकोटको पुनर्निर्माणको काम सकिएको छ । अजयमेरु गाउँपालिकाको ७८ लाख रुपियाँ लागतमा वडा नम्बर २ स्थित हाटकोटमा रहेको दरबारको पुनर्निर्माण सकिएको हो ।  

गत आर्थिक वर्ष २०८१/८२ मा गाउँपालिकाले ९० लाख रुपियाँ विनियोजन गरेपछि गत फागुनमा पुरातत्व विभागले खण्डका रूपमा रहेको अजयमेरुकोट दरबारको उत्खनन गरेको थियो । उत्खननमा देखिएको दरबारको शैली अनुसार पुनर्निर्माणको काम सकिएको गाउँपालिकाका प्राविधिक रतन ऐरले जानकारी दिनुभयो ।

उहाँका अनुसार दरबारको जगसम्मै उत्खनन गरी पुनर्निर्माण गरिएको छ । पुरातत्वका संरचनाको पुनर्निर्माण गर्दै आइरहनुभएका कालिगड भक्तपुरबाट मगाइएको थियो । दरबारको संरचना जस्ताको त्यस्तै र तीन मिटर उचाइ भएका पर्खाल निर्माण गरिएका छन् । छानोबिनाको भग्नावशेष अवस्थामा रहेको दरबार उत्खनन गर्दा भेटिएका संरचना अनुसार हाललाई मुख्य दरबार पुनर्निर्माण गरिएको उहाँले बताउनुभयो । 

ढुङ्गाको धुलो (स्टोन डट्स) मा चुना मिसाई गारो बनाई ठुलठुला ढुङ्गाले दरबार निर्माण गरिएको उहाँले बताउनुभयो । उत्खननमा भेटिएका ढुङ्गासँगै टुटफुट भएका ढुङ्गाका ठाउँमा पुरानै शैलीमा नयाँ ढुङ्गा प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

उत्खनन र अध्ययन अनुसन्धानबाट अजयमेरुकोटमा दुई तलाको करिब १४ कोठे दरबार भएको हुन सक्ने देखिएको थियो । बिचमा गल्ली एकातिर तीन र अर्कोतिर चार कोठा गरेर भुइँ तलामा सात र माथि जाने ढुङ्गाको सिँढी पनि भेटिएकाले दुईतले भवनमा करिब १४ कोठाको मुख्य दरबार रहेको हुन सक्ने खुलेको थियो । मुख्य दरबार क्षेत्रमा दरबारसँगै एकतले भवन, मण्डली, सुरक्षा टावरलगायतका गरेर १० वटा ढुङ्गे संरचना भेटिएका थिए ।  

बजेट अनुसार हाललाई दरबारको भुइँ तला निर्माण पूरा भएको छ । उत्खननका बेला भुइँ तला मात्रै भेटिएको थियो तर एउटा कोठाबाट माथि चढ्ने सिँढी भेटिएको थियो । यसले दरबारमा अर्को तला पनि थियो भन्ने खुल्ने पुरातत्वविद्को भनाइ थियो । दुई वा त्योभन्दा बढी कति तलाको दरबार थियो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । 

दरबार क्षेत्रमा छतमा प्रयोग भएका पातला ढुङ्गाका सिलेट भेटिएका थिए । काठ नभेटिएकाले छानो ढुङ्गाको मात्रै थियो वा काठ पनि प्रगोग भएको थियो भन्ने खुल्न सकेको छैन । डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोट कत्युरी राजवंशको उत्कृष्ट कला शैलीमा निर्माण गरिएको उत्खननका समयमा पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत एवं पुरातत्वविद् भास्कर ज्ञवालीले बताउनुभएको थियो । 

उहाँका अनुसार अजयमेरुकोटको विशिष्ट कलाकृति र निर्माण शैली कर्णाली नदीभन्दा पूर्वमा रहेका देवलहरूभन्दा फरक रहेको छ । यहाँ बिचमा मण्डप बनाएर दायाँबायाँ देवल बनाउने शैली छ । बैठक कक्ष र नाउला विशिष्ट किसिमका छन । यो नेपालकै उत्कृष्ट कलाकृतिका रूपमा रहेको उहाँले भन्नुभएको थियो । अजयमेरुकोटमा निरय पाल र नागी मल्लको अभिलेख पाइएका छन । पहिले नपढिएका केही अभिलेख अहिले उतार गरिएको छ । त्यसबारे विषयविज्ञ बोलाएर छलफल गरिने बताइएको छ ।