• ३० कात्तिक २०८२, आइतबार

विद्यालय स्तरीय फुटबलको उपाधी रामपुर आवासीयलाई

blog

उपाधी विजेता रामपुर अंग्रेजी आवासीयको टिम । तस्बिर : इमान सिं राना

इमान सिं राना
रामपुर (पाल्पा), कात्तिक ३० गते ।
पाल्पामा भएको अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उपाधी रामपुर अंग्रेजी आवासीय मावि रामपुर–५, ले जितेको छ । विद्यालयस्तर बाटै फुटबल खेलाडीको पहिचानका लागि रामपुर नगरपालिकामा भएको प्रतियोगिताको फाइनल खेलमा दरैठाँटी मावि रामपुर –६ लाई १–० ले पराजित गर्दै रामपुर अंग्रेजी आवासीय च्याम्पियन बनेको हो ।

फाइनलमा पराजित भएसँगै दरैठाँटी मावि उपविजेतामा सिमित बनेका छ । किसानबारी खेल मैदानमा शनिबार भएको फाइनल खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा रामपुर अंग्रेजी आवासीयका लागि चिराजन मल्लले गोल गर्दै खेललाई खेलमा अग्रता दिलाउन सफल भएको थियो । अन्तत चिराजनले हानेको गोल नै उपाधिका लागि निर्णायक बन्न पुग्यो ।

‘अब पालो विद्यार्थीको, खोजी प्रतिभाको’ भन्ने नारा सहित नयाँ प्रतिभाको पहिचानसँगै ग्रासरुटका बालखेलाडीहरूलाई अवसर प्रदान गर्न रामपुर फुटबल एकेडेमीको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा गत कात्तिक २१ देखि प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफी, मेडल, प्रमाण पत्र र प्रेरणादायी पुस्तक प्राप्त गरेको छ । साथै सेफिाइनलिष्ट टिम आधारभूत मावि र आनन्द निकेतन विद्याश्रमले नगद ८/८ हजार प्राप्त गरेको छ ।  

प्रतियोगितामा उत्कृष्ट खेलाडी रामपुर अंग्रेजी आवासीयका सन्देश राना घोषित हुनु भएको छ । उत्कृष्ट डिफेण्डर दरैठाँटी माविका विशन चौवे, सर्वाधिक गोलकर्ता आनन्द निकेटन विद्याश्रमका रोहित विश्वकर्मा र उत्कृष्ट गोल रक्षक रामपुर अंग्रेजी आवासीयका संगम विक हुनु भएको छ । प्रतियोगितामा पाल्पा र स्याङ्जाका १७ माध्यमिक विद्यालयले सहभागिता जनाएको थियो ।

अन्तर विद्यालय स्तरीय फुटबल महोत्सवअन्तर्गत भएको प्रतियोगिताको विजेता समूहलाई रामपुर नगरपालिकाका प्रवक्ता एवम् वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँण, नगर खेलकुद विकास समितिका अध्यक्षक कमल सेन, रामपुर फुटबल एकेडेमीका अध्यक्ष अनिल शाही ठकुरीले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । रामपुर नगर प्रवक्ता खाँणले प्रतियोगिताले प्रतिभाको पहिचानसँगै विद्यार्थीहरुलाई सिक्ने अवसर प्रदान गरेको बताउनुभयो । नगरपालिकाले खेलकुद क्षेत्रको उत्थानका लागि आगामी दिनमा थप योजना बनाएर कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

रामपुर फुटबल एकेडेमीका अध्यक्ष अनिल शाही ठकुरीले बालबालिकाहरुलाई अवसर प्रदान गर्नुका साथै नयाँ प्रतिभाको खोजीका लागि अन्तर विद्यालय स्तरीय प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिनुभयो ।