• २७ कात्तिक २०८२, बिहिबार

निर्माण हुँदै प्रशासनिक भवन

blog

निर्माणाधीन अत्याधुनिक प्रशासनिक भवन । तस्बिर : रमेश विश्वकर्मा

गुल्मी समाचारदाता 

गुल्मी, कात्तिक २७ गते । गुल्मीको छत्रकोट गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ । २०८० माघ १७ गते शिलान्यास गरिएको अत्याधुनिक प्रशासनिक भवन निर्माण गरी निर्धारित समयमा नै गाउँपालिकालाई हस्तान्तरण गर्ने गरी निर्माण व्यवसायीले काम गरेको बताइएको छ । 

प्रमुख प्रशासकीय अधिकृत रुद्रहरि पुरीले गाउँपालिकाको वडा नं. ३ भेँडुवामा निर्माण भइरहेको प्रशासनिक भवनको ९० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिनुभयो । २०८० मङ्सिर ८ गते भएको सम्झौता अनुसार भवन निर्माण आगामी मङ्सिर ७ सम्म सम्पन्न गरिसक्नुपर्ने छ । 

गाउँपालिकाले अम्बे माँ बलदेभव जेभी भरतपुर–९, चितवनसँग २०८२ मङ्सिर ७ भित्र भवन निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता गरेको थियो । कुल लागत सम्झौता नौ करोड १० लाख ९९ हजार ४३५ रुपियाँ रहेको सो भवनको निर्माणका लागि सङ्घीय सरकारबाट पाँच करोड ४० लाख रुपियाँ र तीन करोड ७० लाख ९९ हजार ४३५ रुपियाँ छत्रकोट गाउँपालिकाबाट व्यवस्थापन गर्ने गरी अगाडि बढाइएको हो । 

अहिले सभा हलका लागि निर्माण गरिएको भवनबाट सेवा प्रवाह भइरहेको छ । जग्गा प्राप्तिको कठिन प्रक्रिया पूरा गरी सामुदायिक वनको जग्गामा गाउँपालिकाले अत्याधुनिक प्रशासनिक भवन निर्माण गरेको हो । गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले लामो समयको मेहनतपछि छत्रकोट गाउँपालिकाको प्रशासनिक भवन बनेको बताउनुभयो । भवन निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा सहजता र कार्यक्षमतामा सुधार आउने उहाँको भनाइ छ । 

भवनले चर्चेको जग्गाको कुल क्षेत्रफल १९ रोपनी आठ आनामध्ये पाँच रोपनी क्षेत्रफलमा भवन निर्माण भइरहेको छ । अहिले यहाँ प्रशासनिक भवनको संरचना मात्र निर्माण गरिँदै छ । प्रशासनिक भवनमा आवश्यक प्रशासनिक सुविधा, कार्यकक्ष, बैठक कक्ष र नागरिक सहायता सेवा कक्ष समेटिने छ ।