• २७ कात्तिक २०८२, बिहिबार

हिंसा न्यूनीकरणतर्फ प्रदेश सरकार

blog

बुलबुले समाचारदाता

सुर्खेत, कात्तिक २७ गते । बढ्दो हिंसा न्यूनीकरण गर्न कर्णाली प्रदेश सरकारले ‘छोरी सशक्तीकरण कार्यक्रम’ ल्याएको छ । आर्थिक, सामाजिक विकासमा पछि परेका परिवारका छोरीका लागि सो कार्यक्रम ल्याएको हो । 

प्रदेशमा बढ्दो बालविवाह, बहुविवाह, घरेलु हिंसा न्यूनीकरण गर्नका लागि छोरी सशक्तीकरण कार्यक्रम ल्याइएको हो । छोरीलाई उच्च शिक्षा, सिप विकास, सचेतना तथा क्षमता विकास जस्ता सशक्तीकरणका कार्यक्रममा जोड्न लागिएको कर्णाली प्रदेश सरकारले जनाएको छ । 

कानुनी ज्ञानको अभावमा घरलु हिंसा, बालविवाह, बहुविवाहलगायतका घटना बढ्दो क्रममा रहेका छन् । यो वर्ष शिक्षा र सिप विकाससँग जोडेर ‘छोरी सशक्तीकरण कार्यक्रम’ कार्यान्वयन गर्न लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । छुट्टै नीति निर्माण गरेर ‘छोरी सशक्तीकरण कार्यक्रम’ कार्यान्वयन गरिने मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख सुवर्ण खड्काले बताउनुभयो । उहाँका अनुसार कर्णाली सामाजिक सशक्तीकरण कार्यक्रममार्फत बालमैत्री, छाउपडीमुक्त, छुवाछुतमुक्त, बालविवाहमुक्त स्थानीय तह घोषणाका लागि पनि प्रोत्साहन गरिने छ । 

स्थानीय सरकारले सञ्चालन गरिरहेका कार्यक्रमलाई सबल हुने गरी छोरी सशक्तीकरण कार्यक्रम कार्यान्वयन गर्न लागिएको मन्त्रालयले जनाएको छ । केही स्थानीय तहले बालविवाह, बहुविवाहमुक्त पालिका घोषणाको तयारी थालेका छन् । स्थानीय र प्रदेश सरकारको साझेदारीमा कार्यक्रम भइरहेका छन् । विभिन्न सङ्घ संस्थाले समेत बालिका सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिरहेका छन् । छोरी सशक्तीकरण कार्यक्रमलाई टेवा पुग्ने गरी ‘छोरी सुरक्षा कार्यक्रम’ कार्यान्वयनको तयारी थालिएको छ । आर्थिक व्ययभार धेरै हुने देखिएपछि कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन । प्रदेश सरकारले यो वर्षदेखि कार्यक्रमलाई निरन्तरता दिन लागिएको जनाएको छ । 

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर कार्यक्रम कार्यान्वयनमा लैजान लागिएको हो । कार्यक्रम केही परिमार्जन गरेर कार्यान्वयन गर्न लागिएको मन्त्रालयले जनाएको छ । कार्यक्रम कार्यान्वयनका लागि चालु आवमा पाँच करोड बजेट विनियोजन गरिएको छ ।

यसअघिका वर्षमा पनि छोरीको वृद्धि विकासका लागि भन्दै विभिन्न सशक्तीकरणका कार्यक्रम कार्यान्वयन गर्ने गरिएको थियो । प्राविधिक विषयको उच्च शिक्षामा महिलाको पहुँच बढाउने उद्देश्यले कर्णाली सरकारले सञ्चालन गरेको ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’ प्रभावकारी बनेको छ । आव २०७५/७६ देखि सुरु भएको कार्यक्रम अन्तर्गत हालसम्म नौ सयभन्दा बढी छोरीबुहारीले प्राविधिक तीनबर्से डिप्लोमा अध्ययनको अवसर पाएका छन् ।