• २७ कात्तिक २०८२, बिहिबार

नयाँ मतदाता परिवर्तनका पक्षमा

blog

सिँजा समाचारदाता 

सिँजा (जुम्ला), कात्तिक २७ गते ।  जुम्लाका नयाँ मतदाताले आगामी निर्वाचनमा देश परिवर्तन गर्न सक्ने नयाँ व्यक्तिलाई भोट हाल्ने बताएका छन् । उनीहरूले भ्रष्टाचार अन्त्य, सुशासन कायम र युवाका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिने बताएका हुन् । जिल्ला निर्वाचन कार्यालय जुम्लामा मतदाता नामावलीमा नाम दर्ता गराउन पुगेका नयाँ मतदाताले परिवर्तनका पक्षमा मतदान गर्ने प्रतिक्रिया दिएका छन् । जुम्ला चन्दननाथ नगरपालिका–१, आचार्यबाडाका विनोद आचार्यले पहिलो पटक मतदान गर्न पाउने उत्साह व्यक्त गर्दै भन्नुभयो, “देश अब पुराना नेताबाट चल्दैन । परिवर्तन गर्न सक्ने नेतृत्व आउनु पर्छ ।”

उहाँले नयाँ पुस्ताको आन्दोलनबाट बनेको सरकारले तोकिएको समयमा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सुनिश्चित गर्नुपर्ने बताउनुभयो । त्यस्तै चन्दननाथ नगरपालिका–१, तलीचौरका राजेश्वर न्यौपानेले पनि ठुला दलप्रति असन्तुष्टि जनाउँदै परिवर्तनका पक्षमा मतदान गर्ने बताउनुभयो । देशको विकास र सुशासनका लागि काम गर्न सक्ने व्यक्तिलाई भोट हाल्ने उहाँको भनाइ छ । उहाँले भ्रष्टाचार अन्त्य गर्ने एजेन्डा बोकेका दल र उम्मेदवारलाई समर्थन गर्ने बताउनुभयो । यसै गरी सिँजा गाउँपालिका–६, जोडुका गणेश बुढा पनि पहिलो पटक मतदान गर्न पाउने मतदातामध्ये एक हुनुहुन्छ । उहाँले देशको हितमा काम गर्न सक्ने र युवाका लागि सोच राख्ने उम्मेदवारलाई भोट दिने बताउनुभयो । पुराना दलका नेताबाट विकास र सुशासन सम्भव नभएको उहाँको भनाइ छ । जुम्लाका युवा मतदाताले राजनीतिक परिवर्तनमा आफ्नो भोट निर्णायक हुने बताउँदै आगामी निर्वाचनमा सक्रिय सहभागिता जनाउने तयारी गरेका छन् । 

युवा मतदाताले देशमा सुशासन, रोजगारी र पारदर्शी शासनव्यवस्था स्थापनाका लागि नयाँ नेतृत्वको अपेक्षा व्यक्त गरेका छन् । कात्तिक १६ सम्म १८ वर्ष उम्मेर पुगेका भोट हाल्नयोग्य ६९ हजार ४५६ जना मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निमित्त प्रमुख नारायणी आचार्यले बताउनुभयो । उहाँका अनुसार ३९४ जना नयाँ मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । नयाँ पुस्ता मतदाता नामावलीमा नाम दर्ता गराउन उत्साहित देखिएको उहाँले बताउनुभयो ।