चितवन समाचारदाता
चितवन, कात्तिक २७ गते । राष्ट्रिय जनगणना अनुसार चितवनको जनसङ्ख्या सात लाख २२ हजार रहेकोमा स्वास्थ्य बिमा गर्नेको सङ्ख्या पाँच लाख ६९ हजार पुगेको छ । स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय चितवनका अनुसार जिल्लामा बसोबास गर्ने स्थायी र अस्थायी गरी पाँच लाख ६९ हजार ८३६ जनाले स्वास्थ्य बिमा गरेका हुन् ।
स्वास्थ्य बिमा गर्नेको सङ्ख्या हरेक वर्ष वृद्धि भएसँगै बिमा कार्यव्रmम लागु भएका अस्पतालमा बिमामार्फत उपचार गर्नेको चाप अत्यधिक वृद्धि भएको हो । बिमामार्फत उपचार गराउने बिरामीको सङ्ख्या देशभरमा भरतपुर अस्पताल पहिलो नम्बरमा रहेको छ । अस्पतालका बिमा कार्यव्रmम प्रमुख लीलाधर पौडेलले भन्नुभयो, “नेपालभर भरतपुर अस्पताल बिमामार्फत उपचार गर्नेमा पहिलो रहेको छ । आठौँ नम्बरमा चितवनकै रत्ननगर बकुल्लहर अस्पताल रहेको छ ।”
उहाँका अनुसार भरतपुर अस्पतालमा मात्रै उपचार गराउने बिरामीमध्ये करिब ८० प्रतिशत बिमाका बिरामी हुने गरेका छन् । अस्पतालमा दैनिक २५ सयदेखि तीन हजारसम्मले ओपिडीमा टिकट काट्ने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो । भरतपुर अस्पतालमा विसं २०७४ देखि बिमा कार्यव्रmम सुरु भएको हो । अस्पतालमा एकै दिनमा एक हजार आठ सय जनासम्म बिमाका बिरामीले ओपिडी टिकट काटेको रेकर्डमा देखिएको छ । भरतपुर अस्पतालमा बिमामार्फत उपचार गराउनेको सङ्ख्या थेगिनसक्नु हुँदा तनावको वातावरण बन्ने गरेको छ ।
स्वास्थ्य बिमा बोर्डले भरतपुर अस्पताललाई पुस मसान्तसम्मका लागि प्रथम सेवाविन्दु कायम गरेको छ । यसअघि असोज मसान्तसम्मका लागि मात्रै प्रथम सेवाविन्दु कायम गरिएको थियो । त्यसअघि यस अस्पताललाई बोर्डले प्रथम सेवाविन्दुबाट हटाएको थियो । चर्काे विरोधपछि पुस मसान्तसम्मका लागि प्रथम सेवाविन्दु कायम गरिएको हो ।
जिल्लामा स्वास्थ्य बिमामार्फत उपचार गराउन नौ वटा अस्पताललाई प्रथम सेवाविन्दु तोकिएको छ । ती अस्पतालमा बिरामीले सोझै बिमामार्फत उपचार गराउन पाउँछन् । बिमा कार्यव्रmम भएका अरू अस्पतालमा उपचारका लागि प्रथम सेवाविन्दु कायम भएका अस्पतालबाट रिफर लिएर जानु पर्छ ।
भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र, बघौडा अस्पताल, कालिका नगर अस्पताल, खैरहनी नगर अस्पताल, रत्ननगर बकुलहर अस्पताल, भण्डारा अस्पताल र इच्छाकामना आधारभूत अस्पताललाई प्रथम सेवाविन्दु तोकिएको छ । यसै गरी चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज, गुञ्जमान सिंह अस्पताल र भरतपुर आँखा अस्पताललाई दोस्रो सेवाविन्दु कायम गरिएको छ ।
भरतपुर आँखा अस्पताललाई समेत प्रथम सेवा विन्दुबाट हटाइएपछि आँखाको उपचार गर्न पुग्ने सयौँ बिरामीले सास्ती पाएका छन् । सेवाग्राहीलाई रिफर लिएर आउन भन्दै फर्काउने गरिएको छ । स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय चितवनकी संयोजक डोलकुमारी पौडेलले जिल्लाका १३ वटा अस्पतालमा बिमा कार्यव्रmम लागु भएको जानकारी दिनुभयो । तीमध्ये नौ वटालाई प्रथम सेवाविन्दु र चार वटालाई दोस्रो सेवाविन्दु तोकिएको छ । भरतपुरको मनकामना अस्पताल कारबाहीमा परेपछि बिमा कार्यव्रmम रद्द गरिएको छ ।
स्वास्थ्य बिमा गराउनका लागि जिल्लामा १२७ जना दर्ता सहयोगी खटिएका छन् । हरेक वडामा कम्तीमा एकदेखि पाँच जनासम्म दर्ता सहयोगी रहेका छन् । दर्ता सहयोगीले सेवाग्राहीको घरमै पुगेर स्वास्थ्य बिमा गरिदिन्छन् । जेनजी समूहको आन्दोलनपछि लक्षित वर्गको सेवाग्राहीले पाउँदै आएको निःशुल्क स्वास्थ्य बिमा कार्यव्रmम रद्द भएको छ ।
‘लोपोन्मुख र अतिसीमान्तीकृत समुदायका सेवाग्राहीको स्वास्थ्य बिमा गरेबापत बागमती प्रदेश सरकारले भुक्तानी दिने गरेको थियो । आन्दोलनपछि प्रदेश सरकारले वितरणमुखी कार्यव्रmम रोक्ने निर्णय ग¥यो । त्यसपछि लक्षित समुदायका सेवाग्राहीको निःशुल्क बिमा गर्ने कार्यव्रmम पनि रोकिएको हो । यसअघि प्रदेश सरकारले बिमा गरिदिएका सेवाग्राहीले बिमा नवीकरण गर्दा लाग्ने शुल्क सम्बन्धित सेवाग्राहीले नै तिर्नुपर्ने र अन्यथा नवीकरण नहुने उहाँले जानकारी दिनुभयो । लोपोन्मुख समूहमा कुसुन्डा, वनकरिया, राउटे, सुरेल, हायू, राजी, किसान, लाप्चे, मेचे र कुशवाडिया समुदाय पर्छन् भने अतिसीमान्तीकृत समूहमा चेपाङ, माझी, सियार, ल्होम, सिङ्सावा, थुदान, धानुक, सतार, सन्थाल, झागड, थामी, बोटे, सुनुवार र बराम समुदाय पर्छन् । अरू समुदायका सेवाग्राहीले पाँच जनासम्म सदस्य भएको परिवारले तीन हजार पाँच सय र त्यसभन्दा बढी सदस्य भएको परिवारले प्रतिसदस्य थप सात सय रुपियाँ शुल्क तिर्नु पर्छ ।