• २७ कात्तिक २०८२, बिहिबार

पुराना घर सकारेर रिसोर्ट सञ्चालन

blog

पुरानो घरलाई मर्मत गरेर प्रतीक नेपालले सञ्चालनमा ल्याएको रिसोर्ट । तस्बिर : अनिल पराजुली

हेटौँडा समाचारदाता

हेटौँडा, कात्तिक २७ गते । कक्षा १२ पछि उच्चशिक्षा र रोजगारीका लागि बिदेसिने मोह त्याग्दै एक युवकले स्वदेशमै उद्यम गर्ने बाटो तय गरेका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका–५, सुपिङका १९ वर्षीय प्रतीक नेपालले गाउँमा ताल्चा लागेको पुरानो घर मर्मत गरी घरवास (होमस्टे) शैलीमा रिसोर्ट सञ्चालनमा ल्याएका छन् ।

काठमाडौँको किङ्गस कलेजमा स्नातक तहमा अध्ययनरत नेपालले २४ रोपनी क्षेत्रफलको जग्गा १० वर्षका लागि भाडामा लिएर करिब ३० लाख रुपियाँ लगानीमा गत भदौदेखि रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । प्राकृतिक, शान्त र रमणीय स्थानमा रहेको उक्त रिसोर्ट पुरानो माटोको घरलाई रङरोगन गरेर पुरानै शैलीमा तर आधुनिक सुविधासहित सञ्चालनमा ल्याइएको हो ।

काठमाडौँबाट साथीहरूसँग घुम्न आउँदा सुपिङका घरमा ताल्चा लागेको र बारी बाझैँ देखेपछि उहाँले स्वदेशमै केही गर्नुपर्ने सोच बनाएर घरवास शैलीमा रिसोर्ट सञ्चालन गर्ने योजना बनाएको बनाउनुभयो । उहाँका बुवा मकवानपुरको चित्लाङमा फालिएका बोतलबाट बनेको 

‘अर्गानिक भिलेज रिसोर्ट’ सञ्चालन गर्दै आउनुभएको छ । यसबाटै प्रतीक प्रेरित हुनुभएको हो । रोजगारी र सुविधाको खोजीमा गाउँबाट सहर बसाइँसराइ बढ्दै गएको अवस्थामा ताल्चा लागेर बसेको पुरानो घरमा हिम्मत गरेर उहाँले रिसोर्ट सञ्चालन गर्नुभएको छ । 

गाउँमा सडक, बत्ती, खानेपानीको सुविधा भए पनि पछिल्लो समयमा गाउँघर सुनसान बनेको अवस्थामा नेपालले केही गरौँ भन्ने उद्देश्यले पर्यटन प्रवर्धनको काम थाल्नुभएको हो । भीमफेदी बजारदेखि करिब १४ सय मिटर उचाइमा रहेको सुपिङमा हाल सात वटा घरलाई घरबासका रूपमा सञ्चालन गरिएको छ । बाँकी पाँच घर पनि मर्मत गरेर पाहुनालाई बस्न योग्य बनाउने तयारी भइरहेको छ । रिसोर्टमा आउने पाहुनालाई स्थानीय उत्पादन र परिकारद्वारा स्वागत गरिन्छ ।

काठमाडौँ, चितवन, वीरगन्जलगायतबाट आन्तरिक पर्यटक यहाँ आउने गरेको प्रतीकले बताउनुभयो । प्राकृतिक सुन्दरताले भरिएको शान्त, हरियाली र चिसो वातावरणमा जो कोही मोहित हुने गरेका छन् । सुपिङमा अवस्थित जलेश्वर गुफा, खोँच, ओढार र स्थानीय जीवनशैली यहाँका प्रमुख आकर्षण बनेका छन् ।