रवीन्द्र उप्रेती
बर्दीबास, भदौ ८ गते । बर्दिवास ३, गौरीडाँडास्थित बी.पी. राजमार्गमा अवैध लागुऔषध खैरो हिरोइनसहित प्रहरीले एक युवालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा बर्दीबासस्थित लागुऔषध नियन्त्रण ब्युरो प्रमुख सरोज अधिकारी तथा इलाका प्रहरी कार्यालय बर्दिवासका प्रनानी विश्वबाबु बुढाथोकीको संयुक्त कमाण्डमा खटिएको सुरक्षा गस्तीले आइतबार बिहान सिरहाबाट काठमाडौैँतर्फ जाँदै गरेको प्रदेश ०१–००६ ख ७३०३ नम्बरको यात्रुबहाक ह्यास गाडी जाँच गर्ने क्रममा लागुऔषध बरामद भएको हो ।
इलाका प्रहरी बर्दीबासका डिएसपी विकाश बमका अनुसार ह्यासको अन्तिम सिटमा सवार सिरहा नगरपालिका–७ का ३७ वर्षीय बालकृष्णकुमार मुखियालाई शङ्का लागि चेकजाँच गर्दा निजको साथमा रहेको कालो झोलाभित्र कालो प्लास्टिकमा राखिएको खैरो हिरोइन जस्तो देखिने अर्धठोस पदार्थ फेला परेको हो ।
बरामद खैरो हिरोइन प्लास्टिक बाहेक शुद्ध तौल ४६ ग्राम ६१० मिलिग्राम रहेको डिएसपी बमले जनाउनुभयो । लागुऔषध बजारमा यो परिमाण करिब चार लाख मूल्य बराबर रहेको जनाइएको छ ।
बर्दीबास प्रहरीले मुखियालाई नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
यसबिच लागुऔषध नियन्त्रण ब्युरो बर्दीबासले छयालीस लाख ४३ हजार मूल्य बराबरको ५४९.८५ ग्राम खैरो हिरोइनसहित दुई थान आकस्मिक सेवाका एम्वुलेन्स, चार थान मोटरसाईक र ओसारपसारमा संलग्न ३९ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकामध्ये दुई जना महिला र दुई जना विदेशी रहेको ब्यूरो प्रमुख ब्यरो प्रमुख सरोज अधिकारीले जनाउनुभयो ।