• १६ जेठ २०८२, शुक्रबार

गोरदी र बयलीमा रोपियो तीन सय स्याउका बिरुवा

blog

तमानखोला गाउँपालिका वडा नं. ४ लामेलाको गोरदीमा रोपिएको स्याउका बिरुवा । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, जेठ १३ गते ।
जिल्लाको तमानखोला गाउँपालिका वडा नं. ४ लामेलामा कृषिसँगै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पूर्वाधार निर्माणसँगै तीन सय स्याउका बिरुवा रोपिएको छ । लामेलाको गोरदी र बयलीमा रहेको सार्वजनिक जमिनमा घेराबार लगाई स्याउका बिरुवा रोपिएको वडा अध्यक्ष छवि श्रीपालीले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको १८ लाख रुपियाँ बजेटबाट गोरदी र बयलीको सार्वजनिक जमिनमा घेराबार गरिएको र चालु आर्थिक वर्षको आठ लाख बजेटबाट मुस्ताङबाट स्याउको बिरुवा खरिद गरेर परीक्षणका लागि रोपिएको वडा अध्यक्ष श्रीपालीले बताउनुभयो ।

“हामीले सार्वजनिक जमिनलाई सदुपयोग गर्दै स्याउ बगान बनाउने योजना बनाएका छौं ।’’ श्रीपालीले भन्नुभयो । परीक्षणका लागि गरिएको स्याउ खेती सफल भएमा बगान विस्तार गरिने वडाध्यक्ष श्रीपालीले बताउनुभयो ।

समुद्री सतहदेखि करिब तीन हजार मिटरको उचाईमा अवस्थित गोरदी र बयली पर्यटकीय संभावना बोकेका क्षेत्र हुन् । यहाँको स्याउ खेतीले पर्यटकलाई थप आकर्षण गर्ने श्रीपालको विश्वास छ । गोरदीमा पाँच र बयलीमा भण्डै पचास रोपनी क्षेत्रफलमा स्याउका बिरुवा लगाइएको हो । छिमेकी म्याग्दी र बागलुङको सिमानामा पर्ने चर्चित पर्यटकीय गन्तव्य सोलेडाँडामा आउने पर्यटकलाई गोरदी र बयलीमा ल्याउने वडाको योजना छ ।

कृषि र पर्यटनलाई लक्षित गरेर परीक्षणका लागि स्याउका बिरुवा रोपिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । ‘‘गोरदी र बयलीमा पर्यटक रमाउन सक्ने प्रसस्त आधार छन्, कृषिसँगै पर्यटनको पनि सम्भावना छ’’ अध्यक्ष बुढाले भन्नुभयो ।

यस्तै, निसीखोला गाउँपालिका वडा नं. २ अर्नाकोटका ओमबहादुर रसाइलीको डेढ रोपनी बारीमा १ सय स्याउका बिरुवा हुर्कदै छन् । गतवर्ष नै केही बोटमा फल लागिसक्यो । तीन वर्षअघि रोपिएका बिरुवाले फल दिएपछि किसानको बारीमै पुग्नुभएका गाउँपालिकाका कृषि प्राविधिकले स्वाद मिठो भएको प्रतिक्रिया जनाएपछि रसाइली उत्साहित हुनुहुन्छ ।

ती बिरुवामा यो वर्ष उत्पादन बढ्ने रसाइलीको अनुमान छ । त्यो उत्पादन बिक्रीका लागि पालिकाले साथ दिनुपर्ने रसाइली बताउनुहुन्छ । बजार सुनिश्चित भएमा दुई हजार ६ सय मिटरको उचाइमा पर्ने अर्नाकोटको सबै बारी र पाखोमा स्याउ लगाउने रसाइलीको योजना छ । रसाइलीले लगाएका बोटेले फल दिएपछि छिमेकी पनि स्याउ खेतीमा जोडिनुभएको छ ।

बजार पाउन सके स्याउ खेती विस्तार गर्ने योजनामा अर्नाकोटवासी छन् । रसाइलीका छिमेकी दुर्गाबहादुर ओलीको बारीमा पनि एक सय २० स्याउका बिरुवा हुर्केका छन् । टोपबहादुर कुँवरले भने १५ बिरुवा मात्रै रोपेर स्याउ फलाउने प्रयास गरेको बताउनुभयो । अर्नाकोटका १५ जना किसानहरु आवद्ध थुम गोतामे कृषि तथा पशुपालन समूह छ । यो समूहमार्फत उहाँहरुले स्याउ खेती विस्तार गर्नुभएको हो ।

गाउँपालिकाले इटालीबाट ल्याएको एक हजार ५० वटा बिरुवा वडा नं. २ को अर्नाकोट र वडा नं. ५ को निसेलढोरमा रोपिएको हो । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा ती बिरुवा उपलब्ध गराएको थियो । निसेलढोरमा परम्परागत रुपमा लगाइएका सयौं स्थानीय जातका बोट पनि छन् । पालिकाले उपलब्ध गराएका बिरुवा पनि रोपेर फल्न थालेका छन् । निसेलढोरमा गोल्डेन र गाला जातको स्याउ प्रसस्त फल्ने गर्छ । फुजीले राम्रो उत्पादन दिएमा पुराना बोट विस्थापित गरेर फुजीमय बनाउने गाउँपालिकाको लक्ष्य छ ।