रेसुङ्गा समाचारदाता
रेसुङ्गा (गुल्मी), जेठ १३ गते । गुल्मीदरबार गाउँपालिका–४ को विरबास स्वास्थ्य चौकी २०७८ पुस ११ गते निर्माण सम्झौता भएको थियो । केन्द्रको विशेष अनुदान एक करोड ३८ लाख ७५ हजार १५८ रुपियाँमा श्रेष्ठ ट्रेड सप्लायर्स–श्रेष्ठ कन्स्ट्रक्सनले निर्माण सम्झौता गरेको थियो । सम्झौता अनुसार निर्माण व्यवसायीले २०७९ पुस ३० मा काम सक्नुपथ्र्यो तर सम्झौताकै वर्ष निर्माण व्यवसायीले काम नगरेका कारण एक करोड फिर्ता भयो । त्यो पैसा पुनः नआएपछि निर्माण व्यवसायीले काम छोडे ।
गुल्मीदरबार गाउँपालिकाले रकम निकासाका थुप्रै प्रयत्न गरे पनि उपाय नलागेपछि करिब दुई वर्ष स्वास्थ्य चौकीको भवन अलपत्र बनेको थियो । गुल्मीदरबार गाउँपालिकाका योजना अधिकृत टङ्क पन्थीले यो आर्थिक वर्षमा गाउँपालिकाबाट ७० लाख बजेट विनियोजन गरेर निर्माण व्यवसायीलाई दिएपछि काम अगाडि बढेको जानकारी दिनुभयो । पन्थीका अनुसार निर्माण व्यवसायीलाई अझै ३० लाख भुक्तानी गर्नुपर्ने छ ।
केही समयमै योजना हस्तान्तरणको योजना रहेको छ । अहिले रङरोगनको काम भइरहेको छ । बजेट अभावकै कारण रोकिएको काम पालिकाले सहजीकरण गरेपछि अगाडि बढाइएकाले केही दिनमै उद्घाटनको तयारी रहेको निर्माण कम्पनी श्रेष्ठ कन्स्ट्रक्सनका सञ्चालक हरिकुमार श्रेष्ठले बताउनुभयो । निर्माण व्यवसायीले कविरबास स्वास्थ्य चौकीको मात्रै नभएर गाउँपालिकाले १५ शय्याको आधारभूत अस्पताल भवन निर्माणको पनि सङ्घबाट रकम नआएपछि ७० लाख रकम निर्माण व्यवसायीलाई भुक्तानी गरेर सञ्चालनमा ल्याएको छ । योजना अधिकृत पन्थीले समयमै काम गरेका निर्माण व्यवसायीको समेत भुक्तानी दिन केन्द्रले रकम नपाएपछि बाध्य भएर पालिकाले केही रकम भुक्तानी गरेको बताउनुभयो । अहिले विरबास स्वास्थ्य चौकी पुराना हेल्थपोस्टको भवनमा छ । स्वास्थ्य चौकी इन्चार्ज विवेक चुँदालीले पुरानो र साँघुरो भवनबाट सेवा प्रवाहमा असहज भएको बताउनुभयो ।
भुक्तानी माग्दै ठेकेदार
गुल्मी जिल्लामा कयौँ विकास योजना निर्माण व्यवसायीले काम नगरेर अलपत्र छन् तर समयमै काम गर्ने निर्माण व्यवसायीलाई सरकारले पुरस्कार र ऊर्जाको सट्टा मानसिक र आर्थिक दण्ड दिइरहेको पाइएको छ । त्यसको उदाहरण रेसुङ्गा नगरपालिका–९ का निर्माण व्यवसायी विजय खनाल हुनुहुन्छ । निर्माण व्यवसायी खनालले आर्थिक वर्ष २०७७/७८ मा बिकेओआइ–अर्जुन–न्यु लिजा जेभीमार्फत गुल्मी दरबारमा १५ शय्या अस्पताल निर्माणको काम गर्नुभयो । सबैभन्दा छिटो अस्पताल बनेर गुल्मी दरबारको सबैतिर चर्चा भयो तर निर्माण व्यवसायी खनालले पैसा पाउनुभएन । अहिले तीन महिनादेखि पालिकाले आधारभूत अस्पताल सञ्चालन गरेको छ । निर्माण व्यवसायीले आफूले पाउनुपर्ने रकम ७४ लाख ४६ हजार ९५ रुपियाँ पालिकाले नदिएपछि उहाँले आफू पीडित भएको बताउनुभएको छ । पालिकाले अस्पतालबाट सेवा दिन थाले पनि सम्झौता अनुसारको बाँकी पैसा नदिएका कारण आर्थिक अवस्था निकै बिग्रेको, मानसिक तथा नैतिक समस्यासँगै रोगसमेत लागेको निर्माण व्यवसायी विजय खनालले बताउनुभएको छ ।