काठमाडौँ, जेठ १३ गते । अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाको विधान अनुसार जापानमा स्वतन्त्र पत्रकारिता गरिरहेका तथा विभिन्न मिडियासँग आबद्ध पत्रकारहरूको सहभागितामा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ जापान शाखा गठन भएको छ ।
एभिन्यूज टेलिभिजनका संस्थापक पत्रकार तथा कार्यक्रम निर्माता एवं प्रस्तोता र हाल एक्स्क्लुसिभ न्यूज टाइम जापानका प्रकाशक तथा सम्पादक उत्तम गौडेलको अध्यक्षतामा गठित सात सदस्यीय कार्यसमितिको गठन प्रस्तावलाई केन्द्रले अनुमोदन गरेको छ । अध्यक्ष गौडेल दुई दशक अघिदेखि पत्रकारितामा निरन्तर लागिपरेका छन्।
त्यस्तै उपाध्यक्षमा जापान समाचार डटकमका प्रधानसम्पादक गोकर्ण अधिकारी, महासचिवमा राज्य टेलिभिजनका जापान प्रतिनिधि मुक्ति सुवेदी, सचिवमा नागरिक अनलाइनका जापान प्रतिनिधि नारायण रिमाल र कोषाध्यक्षमा एक्स्क्लुसिभ न्यूज टाइम अनलाइनका कार्यक्रम संयोजक सङ्गीता कुँवर चयन भएका छन् ।
यसैगरी, सदस्यहरूमा जापान समाचार डटकमका कार्यकारी सम्पादक जगतबहादुर खड्का र हेर्ने कुराका लक्ष्मण पाठक चयन भएका छन् ।
जापान शाखालाई केन्द्रसँग समन्वय गर्दै अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाको नीति, नियम र विधानअनुसार कार्य गर्न अनुमति दिइएको छ ।