नेता तथा नेतृत्वको परिभाषा विभिन्न विद्वान्ले जसरी गरे पनि राजनीतिक आँखाबाट हेर्दा नेता भनेको देश र जनताले दीर्घकालसम्म स्मरण गर्न लायकका विचार र व्यवहारले खारिएको व्यक्तित्व हुन् । नेतृत्वले परिवर्तनलाई बुझेर मेहनत र परिश्रम गरी संविधान, विधि, पद्धति, विधान र नियम कानुनलाई पूर्ण पालना गर्दै मुलुकलाई परिवर्तनको दिशामा गतिशील बनाउने दक्षता देखाउन सक्नु पर्छ । असल नेतृत्वले सिद्धान्तलाई व्यवहारमा उतार्न कहाँ, कसरी र कुन परिस्थितिमा लागु हुन्छ र हुन सक्छ भन्ने कुराको आकलन गरी कार्यान्वयनमा जोड दिन्छ । समयसापेक्ष परिवर्तनको संवाहक बनेर कुशलतापूर्वक देश र जनताप्रति समर्पित भई सुधारका नीति तथा कार्यक्रम अगाडि बढाउँछ । विशेषतः सिद्धान्त, विचार र नियमलाई जीवनभर अनुसरण गर्दै भावी नेतृत्व विकासमा निरन्तर काम गरिरहन्छ ।
नेतृत्वले राजनीतिक चेतनाको स्तर उकास्दै पार्टीको सिद्धान्त, नीति तथा कार्यक्रम अनुसार सङ्घर्षशील भएर आफू र समाजलाई परिवर्तन गर्र्न सक्षम हुनु पर्छ । मेहनतका साथ अध्ययनलाई निरन्तरता दिई आफ्ना अवगुण, गलत विचार, स्वार्थ, पूर्वाग्रही सोच, आनीबानी, आचरणमा सुधार गरेर आफूलाई सामथ्र्यवान् बनाउँदै समाजको हित र प्रगतिमा रमाउन सक्ने हुनु पर्छ । देश र जनताको अवस्थामा सुधार गर्दै नेतृत्वले आफूलाई लोकतान्त्रिक पद्धतिमा अभ्यस्त बनाई इमानदार र वैचारिक स्पष्टताका साथ क्षमता प्रदर्शन गर्न सक्नु पर्छ । अध्ययन र अनुसन्धानलाई प्राथमिकतामा राखेर सही दृष्टिकोण तथा मतको समर्थन र गलत विचारको तथ्यगत खण्डन गर्ने परिपाटीलाई प्रोत्साहित गर्नु पर्छ । नेतृत्वको असल विचार, दृष्टिकोण, कार्यशैली र व्यवहारले नै एकातिर मुलुकलाई गतिशील बनाउँछ भने अर्कोतिर पार्टीलाई उचाइमा पु¥याउँछ ।
असल नेतृत्वका रूपमा अगाडि बढ्न अवधारणागत क्षमता, मानवीय व्यवहारको क्षमता, प्राविधिक तथा कार्यशैलीगत क्षमताको विकासमा जोड दिनु पर्छ । यिनै क्षमताको आधारमा नेतृत्वले अनुयायीलाई परिचालन गरी पार्टीको नीति र सिद्धान्त अनुसार राष्ट्र निर्माणको अभियानमा क्रियाशील हुनु पर्छ । नेतृत्वले अर्काको कमीकमजोरी, गल्ती खोज्नुभन्दा पहिले आफ्ना कमजोरी र गल्ती खोज्ने बानी बसाली आफूलाई सुधार्नु पर्छ । त्यस्तो बानीले अरूको विश्वास जित्नुका साथै गल्तीको जिम्मेवारी लिने इमानदार नेतृत्वको विकासमा सहयोग पुग्छ । विरोधीहरूसँग पनि वैरभाव नराखी सकारात्मक सोचका साथ व्यवहार गर्दै स्पष्ट दृष्टिकोण तथा मार्गचित्रसहित अगाडि बढेर आमजनताको विश्वास जित्नु पर्छ । साथै नयाँ परिस्थितिको सामना गर्र्न सक्ने विचार, चेतना, कार्यक्रम तयारी गरेर बदलिएको परिस्थितिलाई समाल्न सक्ने क्षमताको विकासमा विशेष जोड दिनु पर्छ ।
नेतृत्वमा असीम आत्मविश्वास, दूरदर्शिता, साहस, हिम्मत हुनुका साथै धैर्यवान्, सहनशीलता, विचारमा अडिग, निरन्तर खट्न सक्ने, प्रविधि र समाजप्रति सचेत हुने, सबैलाई समेट्न सक्ने, जीवनदेखि कहिल्यै नहार्ने उच्च मानसिकताको विकास हुनु पर्छ । नेतृत्व परिवर्तनको संवाहक भएको हुँदा परिवर्तनलाई सार्थक बनाउन मन, वचन र कर्मले इमानदारिताका साथ काम गर्न सक्नु पर्छ । साथै नेतृत्वमा पार्टी निर्माण गर्ने साहस, सिर्जनशील राष्ट्र निर्माणको सोच र विश्वलाई हेर्ने दृष्टिकोण स्पष्ट हुनु पर्छ । आत्मनिर्भरता तथा स्वाधीन अर्थतन्त्रको निर्माण, राष्ट्रिय स्वाभिमान र समृद्धिको बाटोमा मुलुकलाई अगुवाइ गरिरहन सक्ने क्षमता राख्नु पर्छ ।
नेतृत्वले कामलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने व्यावहारिक नीतिमा जोड दिनु पर्छ । जिम्मेवारीमा रहँदा स्वाभिमानको सोच सधैँ बलियो बनाउँदै, व्यक्तिवादी चिन्तन र सोचलाई त्यागेर संस्थागत विकास र संस्थागत निर्णयमा जोड दिनु पर्छ । असल र सफल बन्नका लागि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको कुनै किसिमको प्रलोभनमा फस्नु हुँदैन । नेतृत्वले आर्थिक प्रलोभनमा परेर दुनियाँमा सबैभन्दा ठुलो बदनामी कमाउनुका साथै मुलुकलाई बर्बाद गरेका छन् । त्यसैले द्रव्य नै सबैथोक हो भन्ने ठानेर विधि र पद्धति मिच्दै अनैतिक क्रियाकलापमा लाग्ने कुरा सोच्नु पनि हुँदैन । नेतृत्वले विज्ञको विज्ञतालाई आत्मसात् गर्दै उनीहरूको सुझावप्रति विश्लेषणात्मक निर्णय लिन सक्ने क्षमताको विकास गर्दै निरन्तर रूपमा लेखन तथा अध्ययनमा पनि अभ्यस्त रहनु पर्छ ।
नेतृत्व भनेको निर्धारित लक्ष्य हासिल गर्न अनुयायीलाई निरन्तर रूपमा निर्देशित गर्ने, मार्गदर्शन गर्ने र प्रभाव पार्ने शक्ति हो । त्यसैले नेतृत्वले सच्चा, इमानदार, निष्ठावान्, लगनशील भएर अनुयायीलाई उत्साहित गर्नु पर्छ । साथै नेतृत्व प्रसन्नताका साथ मानसिक तथा शारीरिक रूपमा स्वस्थ एवं सुदृढ हुँदै कडा परिश्रम गरेर कुशलतापूर्वक नेतृत्व प्रदान गर्नु पर्छ । नेतृत्वले सर्वसत्तावादी मनसाय कहिल्यै राख्नु हुँदैन, त्यसले पार्टी र लोकतन्त्रलाई कमजोर बनाउनुका साथै नेतृत्वप्रति जनविश्वास घटेर जान्छ । त्यस्तो मनोवृत्तिले नेतृत्वमा झुट बोल्ने, जालझेल र षड्यन्त्र गर्ने, सत्ता र धनका लालची हुने, विलासी जीवन बिताउने, चिन्तन मनन नगर्ने, सहकर्मी तथा प्रतिस्पर्धी मित्रलाई दुस्मनको व्यवहार गर्ने, नीति नियमको पालना नगर्ने, अपारदर्शी हुने जस्ता अवगुणको विकास हुँदै जान्छ ।
नेतृत्वले सही समयमा सही नेतृत्वलाई सत्ता हस्तान्तरण गरी भावी राष्ट्र निर्माणको नेतृत्व गर्ने जनशक्तिको विकास गर्नु पर्छ । असल तथा सक्षम नेतृत्व विकासले मात्र अति सङ्कटका बेलामा पनि सफलतापूर्वक मुलुकले असल नेतृत्व पाउँछ । नेतृत्वले राजनीतिक चेतनाको स्तर उकास्दै आफ्ना अवगुण, गलत विचार, स्वार्थ, पूर्वाग्रही सोच, आनीबानी तथा आचरणमा सुधार गरेर आफूलाई सामथ्र्यवान् बनाउँदै समाजको हित र प्रगतिमा रमाउनु पर्छ । सफलताको खोजीमा दुःख र निराशाले पनि घेरा हाल्न सक्छ तर सत्य सिद्धान्तको मार्गमा अगाडि बढेको तथा जित्ने दृढ सङ्कल्प बोकेको नेतृत्वले सफलता प्राप्त गरेरै छाड्छ ।
आफूले गरेको उपलब्धिको बखान नगरी भविष्यमा कामलाई थप उपलब्धिमूलक कसरी बनाउन सकिन्छ भन्नेबारे कोसिस जारी राख्नु पर्छ । कामको गति बढाएर नै सपना, योजना, लक्ष्यलाई मूल्यवान् बनाउन सकिन्छ, त्यसैले नेतृत्वले कामलाई उपलब्धिमूलक शक्तिका रूपमा स्वीकार गर्नु पर्छ । नेतृत्वले देश, जनता र पार्टीको भविष्यलाई ध्यानमा राखेर मुलुक निर्माणको सपना देख्नु पर्छ । सपनाभित्र नै असीमित ऊर्जा र उत्साह भरिएको हुन्छ, त्यसले सही गन्तव्यमा डो¥याउने र जनतामा आशाको ज्योति जगाउने गर्छ ।
नेतृत्वले लक्ष्यमा पुग्न दूरदृष्टि राखेर लगनशील भई निरन्तर नेतृत्व क्षमताको विकास गर्नु पर्छ । त्यसका लागि अध्ययन गर्ने, जिम्मेवारीप्रति प्रतिबद्ध भएर काम गर्ने, छलछाम नगर्ने, हरेक काम तुरुन्त गर्ने बानी बसाल्ने, बहानाबाजी गरेर नपन्छिने, मित्रलाई उत्साहित पार्ने, विगतका गल्ती कमजोरीलाई सुधार्ने जस्ता सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्छ । नेतृत्व सफल हुनुको प्रमुख कारण भनेको तत्काल सही निर्णयमा पुग्ने क्षमता हुनु नै हो । त्यसैले निर्णयप्रति आलटाल नीति लिनु हुँदैन र निर्णय बदल्नु परेको खण्डमा पनि हतार नगरी सोच विचार गरेर नयाँ निर्णय लिन सक्नु पर्छ । तत्काल निर्णयमा पुग्ने भन्दा पनि पहिले अरूका कुरा ध्यानपूर्वक सुन्ने र हेर्ने अनि सही निर्णय लिने आदतको विकास गर्न जरुरी हुन्छ ।
राजनीतिलाई सेवाभन्दा पेसाका रूपमा बुझ्दा नेतृत्व विकासमा समस्या भएको छ । अबको पुस्तालाई पार्टीको सिद्धान्त, नीतिसँग व्यवहारलाई जोड्ने रणनीति लिई मुलुक निर्माणमा सकारात्मक सोचका साथ परिचालन गर्न सक्नु पर्छ । उत्पादनमा युवाशक्ति अभियान चलाई आर्थिक अनुशासन कायम गरेर मुलुकको अर्थतन्त्र बलियो बनाउनु पर्छ । राष्ट्र निर्माणका लागि निःस्वार्थ ढङ्गले कडा परिश्रम गर्न सक्ने तथा बौद्धिक क्षमताको विकासमा जोड दिन सक्ने सामथ्र्यवान् राष्ट्रवादी शक्ति अपरिहार्य छ ।