• १८ जेठ २०८२, आइतबार

लिङ्गो जुधाइको रौनक (फोटो फिचर)

blog

साधन घर्ती 

म्याग्दी (दरबाङ),जेठ ७ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम स्थित सयौं वर्ष पुरानो सांस्कृतिक चिनारी लिङ्गो जुधाई प्रतियोगितामा यस वर्ष गैरीगाउँलाई कान्छी गाउँले जित्न सफल भएको छ । मङ्गलबार भुमे पुजाको अवसरमा आयोजित प्रकृतिको देवता मानिने भुमे देवतालाई खुशी बनाउने ऐतिहासिक प्रतियोगितामा सबै भन्दा अग्लो भएपछि कान्छी गाउँ विजयी भएको हो । लिङ्गो जुधाई हेर्न आउनेको भीड लागेको थियो । पुख्र्यौली नाच, साईलो भाका मौलिक गीत र पञ्चेबाजा सहित दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजा पतकाले सिंगारिएका अग्ला बाँसको लिङ्गो बोकेर गाउँको शिरमा रहेको मुल्का डाँडामा पुगेका स्थानीयले एकैसाथ लिङ्गो ठडाएर प्रतिस्पर्धा गराएका थिए । कुनैवर्ष दुबै गाउँबाट लिङ्गो जुधाउँदा बराबरी समेत हुने गरेको छ । 

हरेक वर्षको जेठ महिनाको पहिलो मंगलबार पारेर स्थानीयले एकै दिन सामे भुमे, सिद्ध भुमे, देवि देउराली, भारा र खोला मण्डली लगायत पाँच देवताको पुजाआजा गर्ने गर्दछन् । खासगरी खेतीबाली राम्रो होस, बाढी, पहिरो, भू–क्षय जस्ता प्राकृतिक प्रकोपको सिर्जना नहोस् भन्ने कामनासहित भूमे देवताको पुजा गरिन्छ ।

भूमे देवतालाई खुसी बनाउन दुई गाउँ बिचको लिङ्गो जुधाउने प्रतियोगिता इतिहास करिब चार सय वर्ष पुरानो रहेको स्थानीय जनता माविका प्रअ गुनबहादुर पुनले बताउनुभयो । मौलिक सांस्कृतिक पहिचान लिङ्गो जुधाइको संरक्षण र प्रवद्र्धन गर्न सबैले ध्यान दिनुपर्ने वडा अध्यक्ष पविन गर्बुजाले बताउनुभयो ।

दुई गाउँबिचको प्रतिस्पर्धा देवतालाई खुसी बनाउने सँगै सामाजिक सद्भाव बढाउन सहयोगी बन्ने गरेको स्थानीय युवा कृष्ण गर्बुजाको भनाइ छ । एकता युवा क्लब अध्यक्ष मनोज तिलिजाका अनुसार स्थानीय युवाहको नेतृत्वमा करिब तीन घण्टा टाढाको पैदल यात्रा मार्फत छिमेकी गाउँबाट अघिल्लो रातमा बाँसका लिङ्गो काटेर दग्नाम ल्याइएको थियो ।