• ७ वैशाख २०८२, आइतबार

अझै बनेन आधारभूत अस्पताल

blog

तस्बिर : केदार तिमल्सिना काभ्रेपलाञ्चोकको बेथानचोकमा निर्माण भएको आधारभूत अस्पताल ।

बनेपा समाचारदाता 

बनेपा, वैशाख ७ गते  । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच पु-याउने उद्देश्यले सरकारले स्थानीय तहहरूमा आधारभूत अस्पताल निर्माणको काम सुरु गरेको साढे चार वर्ष पूरा हुँदासमेत अस्पताल निर्माणको काम पूरा हुन सकेको छैन ।  

सबै स्थानीय तहमा आधारभूत अस्पताल बनाउने उद्देश्यले आर्थिक वर्ष २०७७/७८ मा देशका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने कामको एकै साथ शिलान्यास गरेको थियो ।  सरकारले आव २०७७/७८ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३९६ वटै स्थानीय तहलाई पत्राचार गर्दै दुई वर्षभित्र भवन निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का प्रव्रिmया अघि बढाइएको थियो । 

साढे चार वर्ष पूरा हुँदासम्म एउटा पनि आधारभूत अस्पताल निर्माणको काम पूरा भएर सञ्चालनमा आउन सकेको छैन । सरकारले आर्थिक वर्ष २०७७/७८ मा काभ्रेपलाञ्चोकमा पाँच वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । काभ्रेपलाञ्चोकमा पहिलो वर्ष अस्पताल निर्माण गर्ने निर्णय भएका मध्ये धुलिखेल नगरपालिकामा मात्रै अस्पताल निर्माण सुरु गरेको थियो । धुलिखेल नगरपालिका–९, काभ्रेभन्ज्याङमा आधारभूत अस्पताल निर्माणको काम सकिए पनि मन्त्रालयले भने सम्पन्न नभएको जनाएको छ । मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ मा काभ्रेपलाञ्चोकमा सात वटा आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । 

आव २०७८/७९ मा काभ्रेपलाञ्चोकमा प्रस्ताव गरिएका मध्ये दुई वटा अस्पताल निर्माणको काम मात्रै सुरु भएको थियो । सरकारले स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न निर्णय गरे पनि स्थानीय तहले जग्गा उपलब्ध गराउन नसक्दा अस्पताल निर्माणको काम रोकिएको हो । मन्त्रालयले अस्पताल निर्माणका लागि पर्याप्त बजेट समयमा नै उपलब्ध गराउन नसकेका कारण अस्पताल निर्माणको काममा ढिलाइ भएको हो । 

सरकारले आर्थिक वर्ष २०७७/७८ मा जिल्लाको धुलिखेल नगरपालिका, खानीखोला गाउँपालिका, भुम्लु गाउँपालिका, महाभारत गाउँपालिका, रोसी गाउँपालिकामा अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो । यस्तै आर्थिक वर्ष २०७८/७९ मा पनौती नगरपालिका, पाँचखाल नगरपालिका, बनेपा नगरपालिका, मण्डनदेउपुर नगरपालिका, चौरीदेउराली, बेथानचोक गाउँपालिका र तेमाल गाउँपालिकामा अस्पताल निर्माण गर्ने 

निर्णय गरेको थियो । 

सरकारले जिल्लामा खानीखोला, भुम्लु, महाभारत र रोसी गाउँपालिकामा १० श-याको अस्पताल र अन्य स्थानीय तहमा १५ श-याको अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो । सरकारले पाँच शøयाको अस्पताल निर्माणका लागि सात करोड १० लाख ९८ हजार, १० श-याको अस्पतालका लागि १० करोड ८३ लाख ३६ हजार र १५ शøयाको अस्पतालका लागि १८ करोड छ लाख ८२ हजार रकम विनियोजन गरेको हो । 

काभ्रेपलाञ्चोक जिल्लाको रोसी गाउँपालिकामा निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको अस्पताल असोज दोस्रो साताको बाढीले बगाएपछि अस्पताल पूर्ण रूपमा क्षति भएको छ । यस्तै जिल्लाको मण्डनदेउपुर नगरपालिका, महाभारत गाउँपालिका, तेमाल गाउँपालिका, खानीखोला, भुम्लु गाउँपालिकामा अस्पताल निर्माणको काम धमाधम भइरहेको छ । बेथानचोक गाउँपालिकामा अघिल्लो आवमा निर्माण सम्पन्न भए पनि सरकारले भुक्तानी नदिएको गाउँपालिकाले जनाएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सरकारले पहिलो चरण (आव २०७७/७८) मा घोषणा भएका ३९६ अस्पताल निर्माण सम्पन्न गर्नका लागि सरकारले स्रोत सुनिश्चतता गरेको बताउनुभयो । उहाँले स्थानीय तहहरूले जग्गा व्यवस्थापन गर्न ढिलाइ गरेका कारण पहिलो चरणमा सुरु गर्ने भनिएका अस्पताल भवनहरू चार वर्ष वितिसक्दासमेत सम्पन्न हुन नसकेको बताउनुभयो । 

उहाँले सरकारले दोस्रो चरण (आव २०७८/७९) मा घोषणा गरेको २६१ अस्पतालमध्ये जग्गा व्यवस्थापन भएका स्थानीय तहमा अस्पताल निर्माणका लागि पहिलो किस्ताबापतको रकम पठाइएको बताउनुभयो । “दोस्रो चरणमा घोषणा भएका स्थानीय तहमा अस्पताल निर्माणका लागि चालु आवमा स्रोत सुनिश्चितता नभएका कारण पहिलो चरणमा सुरु भएका अस्पताल निर्माण सम्पन्न भएपछि मात्रै दोस्रो चरणका अस्पताल निर्माण गर्ने भनेर अस्पताल निर्माणका लागि कुनै बजेट व्यवस्थापन भने गरेका छैनौँ,” डा. बुढाथोकीले भन्नुभयो । नेपाल सरकारले आफ्नो केही प्रतिशत रकम तथा विभिन्न दातृ निकायबाट प्राप्त भएको रकम सहयोगलाई बास्केट फन्ड बनाई आधारभूत अस्पताल निर्माण सुरु गरेको थियो ।