• ४ असार २०८२, बुधबार

दुईसय भुस्याहा कुकुरको बन्ध्याकरण

blog

भुस्याहा कुकुरको बन्ध्याकरण गरिदै । तस्बिरः कल्पना खरेल

कल्पना खरेल

नवलपरासी पश्चिम, चैत १४ गते । नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिकामा करिब दुईसय छाडा तथा भुस्याहा कुकुरको बन्ध्याकरण गरिएको छ । 

एक शिविरको आयोजना गरी सुनवल नगरपालिकाको वडा १, २, ४, ९ र १० का साना तथा ठुला छाडा तथा भुस्याहा कुकुरको बन्ध्याकरण गरिएको हो । 

बन्ध्याकरणका लागि युथ फर कन्जरभेसन एण्ड सस्टेनेबल एग्रिकल्चर रुपन्देहीको प्राविधिक टोलीले गएराति नै जाल थापेर छाडा तथा भुस्याहा कुकुरहरु समातेको थियो । समातिएका कुकुरलाई गाडिमा राखेर सुनवल २ रजहवास्थित पशु सेवा केन्द«मा रातभर थुनेर राखिएको सुनवल पशुसेवा शाखा प्रमुख मिश्रीप्रसाद खड्काले जानकारी दिनुभयो ।  

सौंयौको संख्यामा रहेका भुस्याहा कुकुरले बिहान पढ्न जाने क्याम्पसका विद्यार्थीलाई टोक्ने, रेविज सार्ने, बाइक र साइकलमा हिड्ने यात्रुलाई झम्टिने गर्दा दुर्घटनाको उच्च जोखिम रहेको थियोे ।

भुस्याहा कुकुरको संख्या घटाउने लक्ष्यसहित बन्ध्याकरण शिविर सञ्चालन गरिएको सुनवल नगरप्रमुख विमला अर्यालले जानकारी दिनुभयो । सुनवल २ स्थित स्थानीय पहलाद पासि भन्नुहुन्छ “शरीर फुर्तिलो राख्न बिहान हिड्न मन हुँदाहुदै पनि भुस्याहा कुकुरको डरले हिड्न सकिएन ।” 

हप्तामा एक पटकजस्तो भुस्याहा कुकुरको समस्या लिएर वडामा स्थानीयबासी आउनेक्रम बढेपछि निदान गर्न भन्दै शिविर सञ्चालन गरिएको वडा २ का वडा अध्यक्ष राजेन्द्र यादवले जानकारी दिनुभयो । 

नवलपरासी पश्चिमको ३ नगरपालिका र ४ गाउँपालिकामध्ये बर्दघाट नगरपालिकामा मात्र गत बर्ष छाडा तथा भुस्याहा कुकुरलाई बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिएको थियो । यस आर्थिक वर्षमा पनि यस कार्यक्रम रहेको बर्दघाट पशुसेवा शाखाले जानकारी दिएको छ ।