• १७ चैत २०८१, आइतबार

गुल्मीमा दमकल खरिद गर्ने निर्णय मात्रै

blog

जिल्ला प्रशासन कार्यालय । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, चैत १४ गते । गुल्मीमा दमकल खरिद गर्ने निर्णय निर्णयमै मात्र सीमित बनेको छ । २०७७ साल वैशाखमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा तत्कालिन प्रमुख जिल्ला अधिकारी भरत शर्माको अध्यक्षतामा  जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्लामा स्थानीय तहहरूको समन्वयमा दमकल खरिद गर्ने निर्णय भयो । 

सकेसम्म एक्लै र नभए पायक पर्ने दुई स्थानीय तहले एक दमकल खरिद गर्ने निर्णय भयो । तर उक्त निर्णय निर्णयमा मात्र सीमित भयो । जिल्लामा रेसुङ्गा नगरपालिकामा मात्र एउटा दमकल छ । उक्त दमकल सुक्खा समयमा नगरपालिका भित्रनै दौडधुपमा व्यस्त हुन्छ। 

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले गरिएका निर्णयहरू कार्यान्वय नहुनु दुःखद पक्ष भएको बताउनुभयो । गुल्मी जिल्ला प्रत्येक वर्ष आगलागोको चपेटामा परेको स्मरण गर्दै सरोकारवाला निकाय मौन रहनु र पूर्वतयारी नपुग्नु जिल्लाका लागि सुखद पक्ष नभएको उहाँको भनाइ छ । 

तत्कालिन चन्द्रकोट गाउँपालिकाका अध्यक्ष तथा हाल जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले निर्णय कार्यान्वयन गर्न नसकेको बताउनुभयो । तत्कालिन समयमा सके पालिका एक्लै र नभए पायक पर्ने  दुई वा तीन स्थानीय तहको समन्वयमा दमकल खरिद गर्ने निर्णय भएको उहाँको भनाइ छ ।  

जिल्लामा एउटा मात्रै दमकल मात्रै भएको र उक्त दमकलले सबै क्षेत्र समेट्न नसक्ने भएकाले थप दमकल आवश्यक भएको महसुस भएको उहाँको भनाइ छ । आफू पालिकाको अध्यक्ष हुँदा कार्यान्वयन गर्न नसके पनि अहिले आफूले समन्वय गर्ने उहाँको भनाइ छ ।

यता जिल्ला विपद् व्यवस्थापन समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले दमकल खरिद गर्न पटक पटक निर्णय भएर पनि कार्यान्वयन गर्न नसकिएको बताउनुभयो । आफूहरूसँग बजेट नहुने भएकाले स्थानीय तहलाई आग्रह गर्दै आएको र उहाँहरूबाट कार्यान्वयन हुन नसकेको बताउनुभयो । 

जिल्लामा आफूले समन्वयको काम गर्ने भएकाले दमकल अति नै आवश्यक रहेको उहाँको तर्क छ । आफूभन्दा माथिल्लो निकायमा दमकल अति नै आवश्यक रहेको बताउँदै माथिबाट पनि केही निकास नआएको उहाँको भनाइ छ ।