चौतारा समाचारदाता
चौतारा, फागुन २३ गते । आगलागीका घटना न्यूनीकरण गर्न हरित स्वयंसेवक क्रियाशील बनेका छन् । बर्सेनि हुने आगलागी तथा डढेलोको घटना न्यूनीकरणका लागि स्वयंसेवक खटिएका हुन् ।
सिन्धुपाल्चोक डिभिजन वन कार्यालयमार्फत स्थानीय तह, वडा तथा सामुदायिक वनसम्म पुगेर सचेतना सुरु भएको हो । वन अभियन्ता, हरित स्वयंसेवक, डिभिजन वन कार्यालय र सामुदायिक वन समितिको सक्रियतामा सचेतनासँगै अग्निरेखा निर्माण र नियन्त्रित डढेलोका काम सुरु गरिएको हो ।
डिभिजन वन कार्यालय चौतारा, गौराती र कल्लेरी सामुदायिक वन समिति र हरित स्वयंसेवकको सक्रियतामा अग्निरेखा निर्माण गरिएको हरित स्वयंसेवक शारदाप्रसाद चालिसेले जानकारी दिनुभयो । समुदायको नजिक रहेको र पर्यटकीय रूपमा परिचित वनमा अग्निरेखा निर्माण गरिएको चालिसेले बताउनुभयो । जिल्लाका अन्य सामुदायिक तथा कबुलियती वनमा पनि अग्निरेखा निर्माण गरिने छ । “सामुदायिक वनमा आगलागी नियन्त्रणमा लिने, अग्निरेखा निर्माण गर्ने, सडक क्षेत्रमा जम्मा भएका पत्कर जम्मा गरी नियन्त्रित डढेलोको काममा स्वयंसेवक परिचालित भएका छौँ,” चालिसेले भन्नुभयो, “जिल्लाभर सचेतना वृद्धि गरी डढेलो नियन्त्रण गर्न तत्पर छौँ ।”
डढेलो नियन्त्रण गर्न स्थानीय तह र समुदायसम्म सचेतनाको कार्यक्रम गरिएको डिभिजन वन कार्यालय चौताराका प्रमुख मदन कँडेलले जानकारी दिनुभयो । ‘डिभिजन तथा सबडिभिजन कार्यालय, हरित स्वयंसेवक र स्थानीय तहलेसमेत तालिम, माइकिङमार्फत सचेतना फैलाइरहेका छन्,” कँडेलले भन्नुभयो ।
डिभिजन प्रमुख कँडेलका अनुसार वन डढेलो लगाएमा वन ऐन, २०७६ अनुसार बिगो असुल गरी ६० हजार रुपियाँ जरिबाना र तीन वर्ष कैद सजाय हुने व्यवस्था छ । वनलाई जीविकोपार्जनसँग जोड्न सके वन जोगिने सामुदायिक वन उपभोक्ता महासङ्घका कार्यक्रम संयोजक यज्ञ दङ्गालले बताउनुभयो । गत वर्ष जिल्लाभर तीन हजार चार सय हेक्टर क्षेत्र डढेलोले नष्ट भएको थियो । यो वर्ष जिल्लाको त्रिपुरासुन्दरी, भोटेकोशी र जुगल गाउँपालिका डढेलोका घटनामा ८२ हेक्टर वन नष्ट भइसकेको छ ।