गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २३ गते । शुक्रबार (आज) देखि देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्र ‘होस्टेल ३’ ले उल्लेखनीय सो पाएको छ । चलचित्रले नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजमा करिब ८० सो, दोस्रो ठुलो चेन आइएनआई सिनेमाजमा १५ सो, वन सिनेमाजमा नौ सो पाएको निर्देशक शशाङ्क कँडेलले जानकारी दिनुभयो ।
बिहीबार दिउँसोसम्म करिब २५० सो प्राप्त गर्ने अपेक्षा निर्माताले गरेका छन् । हलहरूले उपलब्ध गराएको सो सङ्ख्या हेर्दा चलचित्रले आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । ‘होस्टेल’ शृङ्खलाका अघिल्ला दुई संस्करण बक्स अफिसमा सफल भएका थिए । यस कारण तेस्रो भागलाई दर्शकको राम्रो साथ मिल्ने अपेक्षा गरिएको छ । चलचित्र युवापुस्तालाई लक्षित गरिएको छ ।
चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुलीलगायत रहेका छन् । अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा देखिनुभएको छ भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँको पनि चलचित्रमा अभिनय रहेको छ ।