गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २३ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय महत्वका आयोजनाहरू मात्र सङ्घले गर्ने भएकाले नयाँ बजेटका लागि आयोजना प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणसम्बन्धी सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलमा अर्थमन्त्री पौडेलले संवैधानिक कार्य जिम्मेवारी अनुसार प्रदेश र स्थानीय सरकारको जिम्मेवारी र भूमिकालाई दृष्टिगत गर्दै ठुला आयोजनामा केन्द्रित हुन आग्रह गर्नुभएको हो ।
उहाँले सङ्घीयतामा प्रदेश र स्थानीय तहले गर्ने काम सङ्घले गर्न जरुरी नरहेको बताउनुभएको छ । अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहमा अधिकार र जिम्मेवारी हस्तान्तरण गरेर अघि बढ्दा मात्र सङ्घीयताको अभ्यास बलियो हुने बताउनुभएको छ ।उहाँले तयारीमा रहेका आयोजनाको कार्यान्वयन र आगामी दिनमा आवश्यक पर्ने महत्वपूर्ण आयोजनाको तयारीमा ध्यान पुर्याउन पनि अनुरोध गर्नुभयो । अर्थमन्त्री पौडेलले विकासलाई नीतिमार्फत पनि सम्बोधन गर्न जरुरी रहेकोमा जोड दिँदै नीतिले थप क्षेत्र खुला गर्ने धारणा व्यक्त गर्नुभयो ।
अहिलेको संसद्बाट योभन्दा बलियो सरकार बन्ने सम्भावना नरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले सबैभन्दा बलियो सरकार भएका सबै पक्षसँग परामर्श गरी देशको आवश्यकता र जनताको चाहना अनुसार नयाँ बजेट बनाउने बताउनुभयो ।
सहरी विकास मन्त्रालयसँगको छलफलमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, सचिव र विभागीय प्रमुखहरू हुनुहुन्थ्यो भने ऊर्जा मन्त्रालयसँगको छलफलमा ऊर्जामन्त्री दीपक खड्का, सचिव, विभागीय प्रमुखलगायत सहभागी हुनुहुन्थ्यो ।