• २० फागुन २०८१, मङ्गलबार

‘व्यापारिक सहर बनाइने छ’

blog

विराटनगर महानगर कोेशी प्रदेशको एक मात्र महानगरपालिका हो । प्रदेशको राजधानीसमेत रहेको यो महानगर नेपालको राजनीतिमा धेरै जना प्रधानमन्त्री जन्माउने राजनीतिक सहरका रूपमा पनि चिनिन्छ । २०७९ को स्थानीय तह निर्वाचनमा नागेश कोइराला महानगरको प्रमुखमा निर्वाचित हुनुभएको छ । मोरङ कांग्रेसको उपसभापतिसमेत रहनुभएका कोइराला निर्वाचित भएर आएपछि भएका विकास निर्माण गतिविधि विषयमा गोरखापत्र दैनिकका उर्लाबारी समाचारदाता हरिप्रसाद कोइरालाले गर्नुभएको कुराकानी :

यहाँ निर्वाचित भएर आउनुभएको अढाई वर्ष बितिसकेको छ । यो अवधिमा महानगरमा भएका कामको कसरी मूल्याङ्कन गरिरहनुभएको छ?

म यस महानगरपालिकाको प्रमुखमा निर्वाचन भएर आएको पछिल्लो अढाई वर्षमा ३५ किलोमिटर सडक कालोपत्रे भएको छ । ४६ किलोमिटर सडकमा ग्राभेल र ४८ किलोमिटर नाला निर्माण भइसकेको छ । १८३ वटा कलभर्ट बने । ६४ किलोमिटर आरसिसी सडक ढलान र ९२ किलोमिटर रिटेरिङ वाल निर्माण गरिएको छ । वडा नं. १ मा बालउद्यानको निर्माण तीव्र गतिमा भइरहेको छ । विराटनगरको वीरेन्द्र सभागृहलाई जीर्णोद्वार गरिसकेका छौँ । वडा नम्बर ५ र ६ को शान्तिचोकदेखि बिएफएम हुँदै केशलिया रोडसम्म नाला, कलभर्ट, नालामा स्ल्याबसहित कालोपत्रे गर्ने कार्य सम्पन्न भइसकेको छ ।

चालु अवस्थामा रहेका पूर्वाधार र सडकका काम के के हुँदै छन् ?

महानगरको निर्माणाधीन भवनको ५० प्रतिशत काम पूरा भएको छ । एक करोड ३२ लाख रुपियाँको लागतमा जीर्णाेद्धार भइरहेको पुष्पलाल चोक सडकको हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको छ । महानगरको ठुलो आयोजना विराटनगर–२ स्थित त्रिभुजमार्गको काम करिब ७० प्रतिशत सम्पन्न भएको छ ।

यस्तै डुबान नियन्त्रण गर्ने अभियान अन्तर्गत वडा नम्बर ३ मा चार करोड रुपियाँको लागतमा प्रतीकमार्ग, मानगढमार्ग, आस्थामार्ग, फिफामार्ग, मितेरीमार्ग, त्रिमार्गमा कभरसहित आरसिसी नाला, रिटेरिङ वाल तथा कालोपत्रे निर्माण ४० प्रतिशत सम्पन्न भइसकेको छ । यो काम यही आर्थिक वर्षमा सम्पन्न हुने गरी भइरहेको छ । राजवंशी चोकपश्चिम वडा नम्बर ४ को पुलचोकदेखि नोबेलसम्म र केशलिया रोडदेखि ११ र १२ वडा नम्बर हुँदै जोगबनी–विराटनगर सडक अन्तर्गत पूर्वाञ्चल बाल आश्रम दक्षिणसम्मको करिब पाँच किलोमिटर सडक कालोपत्रे गर्ने कार्य ५० प्रतिशत सम्पन्न भइसकेको छ । तीन करोड ८२ लाख रुपियाँमा निर्माणाधीन यो सडक पनि यसै आर्थिक वर्षभित्र सम्पन्न गरिने छ । वडा नं. १३ को विराटनगर आँखा अस्पतालअगाडिको सडकमा नालाको काम ९५ प्रतिशत सकिएको छ । अब स्ल्याब र कालोपत्रे गर्न मात्रै बाँकी रहेको छ । 

महानगरका ठुला बहुवर्षीय आयोजना पनि होलान् ? तिनीहरूको भौतिक प्रगतिको अवस्था के छ ?

बहुवर्षीय योजना अन्तर्गत १७ करोड १३ लाख रुपियाँको लागतमा विराटनगरलाई जन्मथलो र कर्मथलो बनाएका सात जना प्रधानमन्त्रीको सालिकसहित प्रधानमन्त्री पार्क निर्माण हुँदै छ । यो आयोजनाको ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ । यस्तै तीन करोड ९८ लाख लागतमा वडा नं. २ मा निर्माणाधीन सन्ध्याकालीन आरती स्थलको हालसम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । वडा नं. १४ मा छ करोड १६ लाख रुपियाँको लागतमा रानीपोखरीसहित हरियाली उद्यान आयोजनाको काम ७० प्रतिशत सम्पन्न भएको छ  । त्यस्तै सात करोड ३७ लाख रुपियाँमा वडा नं. १४ मै निर्माण भइरहेको मन्ठापोखरीको पनि काम ६५ प्रतिशत सकिएको छ । छ करोड रुपियाँभन्दा बढीको विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि दक्षिण हुँदै स्वागत चोकपश्चिमको नाला र कलभर्ट निर्माणको काम ८० प्रतिशत गरिसकेका छौँ । १२ करोड रुपियाँ लागत रहेको महानगर बहुप्राविधिक शिक्षालयको भवन निर्माणको काम पनि ५५ प्रतिशत सम्पन्न भइसकेको छ । स्रोत सीमित हुँदाहुँदै पनि धेरै काममा हात हालेका छौँ । ठुला आयोजनालाई बहुवर्षीय बनाउँदा बजेट व्यवस्थापन सहज हुने भएकाले हामीले व्रmमागत रूपमा काम गरिरहेका छौँ ।

महानगरको सौन्दर्यीकरणका लागि पनि केही गर्दै हुनुहुन्छ कि ?

विराटनगरको कञ्चनबारी, तीनपैनी, जलजला, रोडशेष र घाँस चोकमा ७७ लाख रुपियाँ खर्चेर ट्राफिक लाइट जडान गरिएको छ । यसले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको छ । ट्राफिक व्यवस्थापन पनि सौन्दर्यीकरणको एउटा अङ्ग रहेछ । जथाभाबी सवारीसाधन दौडदाभन्दा अहिले सहरको सौन्दर्य र गरिमा बढेको छ । बरगाछी–रानी सडकको सौन्दर्यीकरण धमाधम भइरहेको छ । उज्यालो विराटनगर अभियान व्रmमशः अगाडि बढिरहेको छ । हाटखोला पुलदेखि घिनाघाटसम्म सिङ्घिया कोरिडोर निर्माण हुने भएको छ ।

विराटनगरलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन के के काम भएका छन् ?

 विराटनगरको पहिचान झल्किने गरी महानगरको आफ्नै लोगो निर्माण गरी प्रयोगमा ल्याएका छौँ । अन्तर्राष्ट्रिय साहित्य महोत्सवका साथै आरोहण गुरुकुलसँगको सहकार्यमा कोशी प्रदेश कला साहित्य उत्सवको आयोजना ग-यौँ । विराटनगर प्रज्ञा–प्रतिष्ठान गठन गरी भाषा, साहित्य, संस्कृतिको विकास र प्रवर्धनको काम सुरु भइसकेको छ । प्रतिष्ठानको आयोजनामा राष्ट्रिय कलासाहित्य महोत्सव गर्ने तयारी भइरहेको छ । अडियो र भिडियोसहितको महानगरको आफ्नै गीत निर्माण भइसकेको छ । 

समृद्ध महानगरका आधार के के हुन् ?

छिमेकमा भारतको जोगबनी खुला नाका छ । जबसम्म जोगबनी बन्द हुन्न तबसम्म यहाँको व्यापारमा सुधार हुने देखिन्न । अर्को कुरा जोगबनी–धरान–किमाथाङ्का सडक पूरा भएपछि फेरि पनि विराटनगर राजनीतिकसँगै व्यापारिक सहर बन्ने छ । त्यस्तै बिहार राज्यमा मदिरा निषेध छ । हामीले अझ सुरक्षित होटेल पर्यटनको व्यवस्था गर्न सक्यौँ भने क्यासिनो खेल्न आउने भारतीय पर्यटक भिाœयाउन सक्छौँ । उद्योग ,व्यापार र पर्यटन नै समृद्ध महानगर बनाउने आधार हुन् । हिजो औद्योगिक सहरको पहिचान थियो । विराटनगरबाट प्रजातन्त्र रेडियो बजेको थियो तर अब त्यो रहेन । अब विराटनगरले आज सोच्ने कुरा, देशले भोलि सोच्ने र गर्ने गरी हामी राजनीतिक विचारको सहरका रूपमा महानगरको परिचय बनाउँदै छौँ ।

विराटनगर महानगर विगतमा औद्योगिक सहरका रूपमा चिनिन्थ्यो तर अहिले यसले त्यो पुरानो विरासत गुमाएको चर्चा छ नि ?

वास्तवमा अहिले महानगरमा उद्योग कम छन् । कटहरी र बुढीगङ्गा गाउँपालिका औद्योगिक क्षेत्र भएका छन् । त्यसो भन्दैमा यहाँ केही नभएका होइनन् तर प्रजातन्त्रसँग जोडिएको विराटनगर जुट मिल हाल बन्द छ । हामीले उद्योग चलाउन सकिन्छ भने चलाऊँ, होइन भने औद्योगिक सङ्ग्रहालय वा उद्यानका रूपमा विकसित गरौँ भनेर बारम्बार भनिरहेका छौँ । करोडौँको सम्पत्तिलाई उपयोग गर्न सकिन्छ । हाम्रो कार्यक्षेत्रभित्र नपरेकाले हामीले सङ्घीय सरकारलाई घचघच्याउने काम गरिरहेका छौँ ।   

नगरको आन्तरिक आर्थिक स्रोतको अवस्था कस्तो रहेको छ ? 

 चालु आवका लागि तीन अर्ब ४९ करोड ९८ लाख रुपियाँको बजेट बनाएका थियौँ । जसमध्ये एक अर्ब १० करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य राखिएकोमा माघ २८ गतेसम्म २९ करोड एक लाख रुपियाँ आम्दानी भएको छ । गत वर्षको यही अवधिको तुलनामा दुई करोड रुपियाँभन्दा बढी हो । त्यसै गरी सङ्घीय सरकार समानीकरण, ससर्त र विशेष अनुदानबाट एक अर्ब २२ करोड १० लाख रुपियाँँ प्राप्त हुने अनुमान गरिएकोमा माघ २८ गतेसम्म ७० करोड छ लाख २२ हजार प्राप्त भएको छ ।  प्रदेश सरकारतर्फ आठ करोड ३९ लाख ७२ हजार प्राप्त हुने अनुमान गरिएकामा दुई करोड ५७ लाख प्राप्त भएको छ । पुँजीगत खर्चतर्फ एक अर्ब ३३ करोड ७१ लाख १४ हजार रुपियाँ खर्च अनुमान गरिएकामा १४ करोड ६८ लाख ६८ हजार यथार्थ खर्च भएको छ । वित्तीय खर्चतर्फ पाँच करोड अनुमान गरिएकोमा दुई करोड ५० लाख ७६ हजार अर्थात् ५०.१५ प्रतिशत खर्च भएको छ । समग्रमा नगरको आन्तरिक आर्थिक स्रोत बढेकै देखिन्छ तर सङ्घ, प्रदेशको जस्तै महानगरले पनि लक्ष्य अनुसार राजस्व प्राप्त गर्न सकेको छैन । हाम्रो आम्दानीको प्रमुख स्रोत कर र सिफारिस हो ।

महानगरभित्रका ठुला विकास आयोजना के के छन् ?

महानगरभित्र रहेको विराटनगर विमानस्थललाई प्रादेशिक विमानस्थलका रूपमा विकसित गर्ने गरी काम भइरहेको छ । यो हाम्रो बजेटले सम्भव थिएन । हाल नयाँ टर्मिनल भवन बनिरहेको छ । कम्तीमा पनि न्यारो बडी विमानसम्म अवतरण गर्न सक्ने विमानस्थल बनाउन सक्यौँ भने हवाई बाटो भएर विराटनगर आउने पर्यटकको सङ्ख्या बढ्ने छ । त्यस्तै गिरिजाप्रसाद कोइराला स्मृति अन्तर्राष्ट्रिय व्रिmकेट रङ्गशाला सङ्घीय सरकारको गौरवको आयोजनाका रूपमा अगाडि बढेर पनि काम चालु भएको छैन । यो आयोजनालाई शीघ्र अघि बढाउन नेपाल सरकारसँग माग गर्छु  । 

विराटनगर महानगरपालिकाबाट देशका अरू स्थानीय तहले सिक्नुपर्ने केही छ ?

विराटनगर महानगर कोशी प्रदेशको राजधानी हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा महानगरतर्फ विराटनगर महानगरपालिका दोस्रो भएको छ । छ वटा महानगरपालिकामध्ये विराटनगरले ७३.५ प्रतिशत अङ्कका साथ दोस्रो भएको हो । यस्तै बेरुजु कम हुने जिल्लाका स्थानीय तहमा महानगर सबैभन्दा अगाडि छ । हरेक काम गर्दा कानुन अनुसार कार्यविधि निर्माण गरेर गर्नु पर्छ भन्ने सन्देश हाम्रो महानगरले दिएको छ । 

स्वास्थ्य क्षेत्रमा महानगरले के के काम गरेको छ ?

महानगर भित्र निःशुल्क एम्बुलेसन्स र शववाहन सेवा सञ्चालनमा रहेको छ । रानी अस्पतालमा निःशुल्क फिजियोथेरापी सेवा सञ्चालन गरेका छौँ । रानी र बैजनाथपुर अस्पतालमा निःशुल्क बर्थिङ सेन्टर सेवा सञ्चालन गरिएको छ । बसपार्क र महानगरमा स्तनपानकक्ष सञ्चालन गरेका छौँ । महानगरलाई  मोतीविन्दुमुक्त महानगर बनाउने अभियान अन्तर्गत विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा मोतीविन्दु भएका सबैको निःशुल्क शल्यव्रिmयाको व्यवस्था मिलाइएको छ । रेडव्रmससितको सहकार्यमा विराटनगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्य सञ्चालन गरिरहेका छौँ । पाठेघरको मुखको क्यान्सर न्यूनीकरणका लागि १९ वटै वडामा परीक्षण र खोप अभियान अहिले पनि चलिरहेको छ । त्यस्तै जाइकाको करिब दुई अर्ब रुपियाँँ अनुदान सहयोगमा विराटनगरमा खानेपानी परियोजनाको निर्माण कार्य तीव्र रूपमा भइरहेको छ । आगामी एक वर्षभित्र सो परियोजना सम्पन्न हुने छ ।