संवेग वा भावना सबै व्यक्तिमा देखापर्ने साझा प्राकृतिक गुण हो । सकारात्मक होला वा नकारात्मक तर भावना हरेक व्यक्तिमा पैदा हुन्छ नै । भावनाको सम्बन्ध विचारसँग, विचारको सम्बन्ध कामसँग हुन्छ भने कामको परिणामसँगै पुनः भावनामा नयाँपन देखिन सक्छ । हाम्रा भावना किन पनि महìवपूर्ण छन् भने भावनाको प्रत्यक्ष प्रभाव हाम्रो सिकाइमा, हामीले आफूलाई र अरूलाई गर्ने व्यवहारमा, हामीले लिने निर्णयमा पर्ने गर्छ । समग्रमा हाम्रो कार्यसम्पादनसमेत भावनाको सही पहिचानमा भर पर्छ । आफूमा देखा परेका भावना तथा अरूको समेत भावना बुझेर व्यवहार गर्नुलाई सरल अर्थमा भावना व्यवस्थापन भन्न सकिन्छ । भावना व्यवस्थापनका अनेकौँ तरिका र रणनीति हुन सक्छन् ।
मार्सल रोसेनवर्गका अनुसार कुनै पनि संवाद र विचारविमर्शमा हामीसँग दुई वटा विकल्प हुन्छन् । हामीले आपसी मधुरता बढाउन सक्छौँ कि सम्बन्धलाई नराम्ररी प्रभाव पार्न सक्छौँ । यस्तो संवाद त कक्षाकोठामा शिक्षक र विद्यार्थीको बिचमा वा परिवारमा अभिभावक र सन्तानका बिचमा र सङ्गठनमा व्यवस्थापक र स्टाफका बिचमा पनि त हुन सक्छ । जब हामी भावनाको बारेमा साक्षर हुन्छौँ या भनाँै राम्रो जानकारी राख्छौँ तब मात्र हामी आफ्ना भावनाप्रति जिम्मेवारी लिन र जवाफदेही रहन सक्ने छौँ ।
आधारभूत संवेगको पहिचान
भावनात्मक बुद्धिमत्तासम्बन्धी पुस्तक र अन्य मनोवैज्ञानिकका विचार अनुसार संवेग वा भावना धेरै प्रकारका हुन्छन् । एकता पब्लिसिङ हाउसले हालसालै नेपाली भाषामा प्रकाशित गरेर बजारमा ल्याएको सचित्र र सरल पुस्तक ‘भावनाका कुरा’ मा उल्लेख भएका रोबर्ट प्लटचिकले अघि सारेको भनिएका चार सकारात्मक र चार नकारात्मक गरी आठ वटा भावनाको सम्बन्धमा परिचय गराउने जमर्को सान्दर्भिक हुने देखिन्छ । ह्विल अफ इमोसन् का रूपमा उल्लेख गरेर हर्षको विपरीतमा दुःख, विश्वासको विपरीतमा घृणा, डरको विपरीतमा रिस र आश्चर्यको विपरीतमा अपेक्षालाई राख्दै जम्मा आठ वटा आधारभूत भावनाको सम्बन्धमा प्रस्तुत गरेको हामी पाउँछौँ । तिनै आठ वटा संवेगको सम्बन्धमा व्रmमैसँग उल्लेख गरौँ । हामी साधरणतया सफलता मिल्दा, उपहार पाउँदा हर्षित हुँदा रहेछौँ । यो अवस्था अवश्य पनि मनका लागि महìवपूर्ण छ र हर्षको भावनाले जे गर्न मन पर्छ त्यो गर्न उत्साहित गर्ने उद्देश्य राख्छ ।
हर्षमा पनि उत्साह, रमाइलो र आनन्दको तहदेखि गज्जवको अनुभूति हुनेसम्मका तह समेटिन्छन् । त्यस्तै दुःख वा चिन्ता यस्तो भावनात्मक अवस्था हो, जसमा मेहनत गर्दा पनि सफलता प्राप्त नभएको हुन सक्छ । त्यस्तै आफन्त वा प्रिय व्यक्तिलाई चोट परेको हुन्छ । यो भावनाले चाहेको कुरा पाउनुभएन अर्थात् गुमाउनुभयो है भन्ने सन्देश दिन्छ । अस्वस्थ चिज वा व्यवहार देखापर्दा हामीमा घृणा पैदा हुन्छ । घृणा पनि सामान्य अवस्थामा झ्याउबाट सुरु भएर दिक्कसम्म पुग्न सक्छ । जस्तो कि मन नपर्ने व्यक्तिको मन्तव्य वा भाषण सुन्न, रुचि कम भएको विषयमा मन नपर्ने शिक्षकका हरेक व्यवहार दिक्क लाग्ने हुन सक्छ । हामीलाई धेरै जनाको अघि उभिएर बोल्न डर लाग्छ । नयाँ ठाउँ जाँदा होस् वा नयाँ मानिससँग बोल्नुपर्दा पनि डर लाग्छ । डर नामक भावनाले वरिपरि खतरा छ है भन्ने सन्देश दिन्छ भने साथसाथै हामीलाई सम्भावित जोखिमबाट बच्न मद्दतसमेत गर्छ । डरको सुरुवाती चरणमा आशङ्का रहन्छ भने गम्भीर तहमा त्रास वा आतङ्क रहेको हुन्छ । त्यस्तै रिस पनि मानिसमा पैदा हुने स्वाभाविक भावना नै हो ।
कसैलाई धेरै बेर पर्खनु पर्दा होस् वा कसैले झुठो बोलेको थाह पाउँदा होस् वा मनपर्ने चिज हराउँदा वा बिग्रँदा पनि रिस उठ्छ । रिसको भावनाले तत्काल केही समस्या छ है भन्ने सन्देश दिन्छ । रिस भावको उद्देश्य समस्याको सामना वा समाधान खोज्न मद्दत गर्नु नै हो । भनिन्छ कि रिस उठेको बखत निर्णय गर्न हतार गर्न हुँदैन र केही समय रोकिएर सोच्ने बानी आवश्यक पर्छ । रिसको प्रारम्भिक अवस्था भनेको झर्को लाग्नु वा चिडचिडाहट हुनु हो भने यसको उच्च अवस्था भने प्रचण्ड क्रोधको अवस्था देखा पर्छ । हाम्रो जीवनमा सुखद घटना वा नरमाइलो घटना एक्कासि पर्न गयो भने अचम्मको भावना देखा पर्छ । अचम्म भावको उद्देश्य एकछिन रोकिएर वरिपरि हेर्न लगाउनु हुन्छ । अचम्मको न्यून रूप अन्योल र उच्च रूप छक्क पर्नुलाई लिइन्छ । अपेक्षा वा प्रत्यासा यस्तो भावना हो जुन कुनै नयाँ काम सुरुवात गर्न वा नयाँ ठाउँ घुम्न जाँदा वा काम गरेर नतिजा पर्खेको समयमा देखा पर्छ । आशा अपेक्षा पनि स्वाभाविक भावना हो तर यो पनि असीमित हुनु राम्रो मानिँदैन किनकि धेरै अपेक्षा पूरा हुन असम्भवप्राय हुन्छ र पूरा नहुँदा तनाव सिर्जना हुन्छ । अपेक्षाको सानो रूप भनेको रुचि, चासो, जिज्ञासा जस्ता स्वाभाविक भाव पर्छन् भने यसको विकसित रूप भनेको सतर्कता हो । व्यक्तिमा रहने अति सतर्कताले उसमा तनावको काम गर्छ ।
डिप्रेसन र यसको समाधान
लाउत्सुका अनुसार हामी डिप्रेसन अर्थात् मानसिक चिन्तामा छौँ भने हामी विगतमा हुन्छौँ, हामी यदि अस्थिर छौँ, डरमा छौँ भने हामी भविष्यमा हुन्छौँ । अनि हामी शान्त छौँ भने हामी वर्तमानमा हुन्छौँ । वर्तमानमा जिउन सक्नु नै सार्थक जीवन हुन्छ । जीवनमा जे गर्छु भन्ने थियो त्यो प्राप्त नभइसकेपछि व्यक्ति डिप्रेसनमा जान्छ । केही गर्छु भन्ने आशा हराएर जानु डिप्रेसनको मूल कारण हो । साधरणतया कुनै दुःखद एवं त्रासदीपूर्ण घटना घटित भएपश्चात् रहे भएका आशाउपर तुषारापात हुन्छ । जस्तो कि कोही व्यक्ति बिमारी भयो र सञ्चो हुने आशा छैन, रोजगारीबाट निकालियो र तत्काल काम पाउने सम्भावना छैन, ऋण वा गुन तिर्नु थियो तर तिर्नका लागि कुनै उपाय छैन भन्ने मनमा विचार आयो भने मानसिक चिन्ता बढेर जान्छ । माथि उल्लेख भए जस्तै डिप्रेसन अर्थात् चिन्ताको गम्भीरताको तह निराशादेखि शोकसम्म पुग्न सक्छ ।
डिप्रेसन हुनु आफँैमा राम्रो वा नराम्रो होइन, अस्वाभाविक होइन । यो भावनाको एउटा रूप हो । कुनै अरूखाले भावना परिवर्तन हुँदै डिप्रेसनको अवस्थामा आइपुगेको मात्र हो । डिप्रेसन भनेकै हामी हैनौँ । हामी त डिप्रेसन हुनु अघि पनि थियौँ र डिप्रेसनपश्चात् पनि कायम रहन्छौँ । चिन्ता पर्नु वा नपर्नुको प्रमुख जिम्मेवार भने हामी स्वयम् हौँ । मूलतः आफ्नै आनीबानीका कारण डिप्रेसन हुने गर्छ । यसको सिर्जनाकार आफँै भएपछि यसको समाधानको जिम्मेवारी पनि लिन सक्नु पर्छ । लामो समय डिप्रेसनमा रहनु भने मानसिक स्वास्थ्यका लागि राम्रो मानिँदैन । चिन्ताको भावले सोच, संस्कार, मानसिकता, व्यवहार र आचरणमा नकारात्मक प्रभाव पर्छ । डिप्रेसनको समाधान छ । चाखलाग्दो कुरा के छ भने पृथ्वीमा रहेका निकै कम प्राणीमध्ये मानिस पनि हो, जसको डिप्रेसनमा जाने र पुनः सामान्य अवस्थामा फर्कने क्षमता छ ।
डिप्रेसनको समाधान खोज्नु भनेको मनमा उब्जेका निराशा उब्जाउने र चिन्तामा पु¥याउने कारणको सम्बोधन गरी जीवनको वास्तविकतासँग जोडिनु हो । सम्भवै नभएका इच्छा चाहनाको भारी बोकेर अनगन्ती विचार चलिरहेको दिमागलाई वर्तमानमा ल्याई कुनै काम, आशन वा छलफलमा केन्द्रित गर्नु नै डिप्रेसनको समाधानको सुरुवात हो । गम्भीर अवस्थामा पुगेको डिप्रेसनका लागि मनोचिकित्सक, मनोपरामर्शदाताको समेत सहयोग आवश्यक पर्न सक्छ । सुरुवातीदेखि मध्यम चरणसम्मको डिप्रेसनमा पुगेका व्यक्ति यदि आफूले सामान्य अवस्थामा फर्कन आवश्यक छ भन्ने महसुस गरे भने शारीरिक अभ्यास, योगध्यान, कुनै न कुनै प्राकृतिक तथा मानवीय गतिविधि वा व्रिmयाकलापमा संलग्न हुने र अरूको राम्रोका लागि ध्यान केन्द्रित गर्ने जस्ता गतिविधिबाट डिप्रेसनको सिकारबाट बाहिर आउन सकिन्छ । जस्तो कि योगका बखतसमेत विचार नखेल्ने होइन । मनमा उत्पन्न विचार, संवेग, आवेगका विविध अनुभूतिको अवलोकन गर्ने काम योगमा हुन्छ । श्वासप्रश्वाससँगै योग गर्दा विचारलाई श्वासमा केन्द्रित गर्ने कलाको विकास हुन्छ, बाह्यभन्दा पनि भित्री यात्रा सम्भव हुन्छ । विपश्यना ध्यानको आफ्नै महìव छ, जसमा विपश्यनाको अर्थ नै आफँैभित्र अवलोकन गर्नु हो । जे जस्तो सम्भावना छ, त्यस्तै खालको उत्पादनको व्रिmयाकलापमा जोडिने र साँझ बिहान केही समय भए पनि त्यो काम गर्नु पर्छ । असहाय व्यक्तिको हितमा सिधै वा मानव सेवा आश्रम वा यस्तै संस्थामार्फत सहयोग गर्ने र उनीहरू असहाय हुनुपर्नाका कारण सम्बन्धमा सोधपुछ गर्ने । आफू बसेको समुदायमा रहेका ज्येष्ठ व्यक्तिसँग गफगाफ गरी उनीहरूमा रहेका अनुभवजन्य विषय सुन्ने गरौँ ।
मानसिक स्वास्थ्यमा सुधारको आवश्यकता
मानसिक स्वास्थ्य अधिकार अवस्था सम्बन्धमा बागमती र गण्डकी प्रदेशको अध्ययन प्रतिवेदन २०८१ मा नेपालमा मानसिक स्वास्थ्य सेवाको दायरा र गुणस्तर सुधार गर्न ठोस पहल हुनुपर्ने आवश्यकता औँल्याएको सन्दर्भमा व्यक्तिको भावना बुझेर व्यवहार गर्ने तथा परामर्शदाता वा चिकित्सकको सहयोग आवश्यक पर्नेमा पहुँच विस्तार गर्ने विषयले प्राथमिकता पाउनु पर्छ । व्यक्तिको सर्वाङ्गीण विकासको एउटा पक्षका रूपमा शरीर, मन र आत्माको तहमा समेत सँगसँगै विकास हुने गरी सानै उमेरदेखि नै साधना, संस्कार र प्रकृति सापेक्ष शिक्षा, तालिम एवं जागरण बढाउँदै जानुपर्ने भएको छ । खास गरी कोभिड–१९ को महामारीपश्चात्को सन्दर्भमा मौलिक खानपान तथा आहारविहारको साथै पूर्वीय सभ्यताको सबल पक्षका रूपमा रहेका ध्यान साधनालाई समेत आधारभूत पक्षका रूपमा स्वीकार गर्न थालिएको छ । यो हामी नेपालीका लागि खुसीकै पक्ष हो ।
निष्कर्ष
खप्तड स्वामीका अनुसार मन नै मनुष्यको सुख दुःखको कारण हो, जसले मनलाई जित्न सक्छ, उसले जगत्लाई जित्न सक्छ । मनलाई सुखी राख्नका लागि पुराना विकारको निराकरण गर्नु आवश्यक हुन्छ भने मनमा नयाँ दोष बिल्कुलै आउन दिन हुँदैन । (स्वास्थ्य विज्ञान, पृष्ठ ५) यसै सन्दर्भमा पछिल्लो जीवनशैली र परिवेशमा व्यक्तिका अपेक्षा धेरै हुने तर कम मात्र पूरा हुने हुँदा पढेलेखेकै व्यक्ति र सम्पन्न परिवारकै व्यक्ति पनि डिप्रेसनमा पर्ने र कुलतमा फस्ने तथा आत्महत्या गर्नेसम्मको अवस्था सिर्जना हुने हुँदा राजनीति, प्रशासन, शैक्षिक क्षेत्र, संस्था र सामुदायिक संस्थामा पनि जिम्मेवारीमा रहेका व्यक्तिले भावना वा संवेगका सम्बन्धमा आधारभूत जानकारी राख्ने र आफ्नो र अरूको भावना बुझेर व्यवहार गर्ने खालको भावनात्मक साक्षरतामार्फत भावनात्मक बौद्धिकताको विकास गर्नु नितान्त आवश्यक छ । यो विषयले प्राथमिकता पाएमा मानसिक रोगसँग सम्बन्धित समस्यासँग मुकाबिला गर्ने वातावरण बन्न सक्छ । व्यक्तिको जीवनलाई जोगाउने र सिर्जनशील मार्गमा लगाउन भावना व्यवस्थापनलाई संस्थागत तथा व्यक्तिगत रूपमा अङ्गीकार गर्ने वातावरण बनाऔँ । आधुनिकताको नाममा जटिल बन्दै गएको जीवन जिउने कलाको विकास गरौँ ।