• २६ माघ २०८१, शनिबार

जुनार खेतीमा जङ्गली जनावरले दुःख दिएको कृषकको गुनासो

blog

रामेछाप नगरपालिका–६ ओख्रेनी स्थित जुनार बगैँचा । तस्बिर : नवराज श्रेष्ठ

नवराज श्रेष्ठ
रामेछाप, माघ २६ गते ।
रामेछापका जुनार कृषकहरूले जुनार खेतीमा पनि बाँदर लगायतका जङ्गली जनावरहरूले दुःख दिन थालेको गुनासो गरेका छन् । पाकेको जुनार फल जङ्गली जनावरहरूले नष्ट गरेको कृषकहरूको गुनासो छ ।

बाँदरले अरू बालीनालीसँगै जुनारमा पनि क्षति गर्न थालेको रामेछाप नगरपालिका–७ का जुनार कृषक रामकुमार कार्कीले गुनासो गर्नुभयो । बोटमा पाकेको जुनार बाँदर, मृग लगायतका जङ्गली जनावरहरूले नष्ट गरेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो “अन्य बाली जस्तै जुनार बगैँचामा पनि जङ्गली जनावरहरूले दुःख दिन थालको छ । बाँदर, मृग लगायतका जङ्गली जनावरहरूले जुनारको दाना झार्ने, टोक्ने गर्छन् । बाँदरले जुनार कृषकलाई धेरै दुःख दिएको छ ।”

रामेछाप नगरपालिका–७ कै अर्का जुनार कृषक ज्ञान बहादुर तामाङले पनि जुनार खेतीमा जङ्गली जनावरहरूले किसानलाई सताउन थालेको बताउनुभयो । उहाँले हावापानी सुहाउँदो जुनारको बिरुवा नहुँदा बिरुवा मर्ने समस्या देखा परेको अरू ठाउँहरूबाट खरिद गरेको बिरुवा हुर्काउनै नसकेको गुनासो गर्नुभयो । रामेछापमा यो वर्ष गत वर्षभन्दा ४ प्रतिशतले जुनार उत्पादन बढ्ने अनुमान गरिएको छ । यो वर्ष जुनार किसानले बगैँचामै प्रतिकिलो ५० देखी ७० रुपियाँसम्म मूल्य पाएका छन् ।

प्रमुख प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ रामेछाप मुख्य गरी रामेछाप नगरपालिकाको ओख्रेनी, गाइटार, सुकाजोर, रामेछाप, रामपुर, हिमगङ्गा लगायतका ठाउँमा व्यावसायिक रूपमा जुनार खेती हुँदै आएको छ । यसैगरी मन्थली नगरपालिकाको सालु, सुनारपानी, देउराली, भलुवाजोर, पुरानाउन, फुलासी लगायतका ठाउँहरूमा पनि व्यावसायिक रूपमा खेती हुने गरेको छ । दोरम्बा शैलुङ, सुनापति, उमाकुण्ड र गोकुलगङ्गा गाउँपालिकाको पनि विभिन्न ठाउँहरूमा जुनार, सुन्तला खेती हुँदै आएको छ ।

कृषि विकास कार्यालय रामेछापको तथ्याङ्क अनुसार रामेछापमा एक हजार ३२३ हेक्टर भन्दा बढी क्षेत्रमा जुनार, सुन्तला लगायतका अमिलो जातका फलफूल खेती हुने गरेको छ । यसमध्ये ५४० हेक्टरलाई जुनार जोन क्षेत्रमा विकास गरिएको छ ।  गत वर्ष २० करोड रुपियाँको जुनार बजार पठाएको रामेछापमा यो वर्ष ४ प्रतिशतभन्दा बढी उत्पादन हुने प्रमुख प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ रामेछापका प्रमुख थिरलाल गैरेले बताउनुभयो ।