रवीन्द्र उप्रेती
बर्दीबास, माघ ७ गते । महोत्तरीमा वन अतिक्रमणका घटना बढ्दै गएको छ । पछिल्लो समय जिल्लाको उत्तरी भेगमा वन क्षेत्रको जग्गा अतिक्रमण गरिएको अर्को घटना सार्वजनिक भएको छ ।
सब डिभिजन वन कार्यालयको कारबाहीपछि अतिक्रमित जग्गा खाली गराइएको छ । बर्दीबास ४ स्थित जङ्गली क्षेत्रको जग्गा खनजोत गरि घेरबेरर गर्न लागेको करिब ४ कट्ठा जग्गा अतिक्रमण मुक्त गरिएको हो । अतिक्रमित जग्गा गढन्ता बर्दीबास साझेदारी वन मातहत रहेको बुझिएको छ ।
सुराकीको आधारमा गढन्ता सब डिभिजन वन कार्यालयका अधिकृत उमेश मण्डलको कमान्डमा खटी गएको सशस्त्र वन रक्षकसहितको टोलीले सोमबार अतिक्रमित जग्गा खाली गराएको जनाएको छ । सब डिभिजन वन अधिकृत मण्डलका अनुसार बौध गुम्वा नजिकको जग्गामा रुख नभएकाले पनि अतिक्रमणकारीलाई सहज भएको हो ।
रुख मासिएका सोही जग्गालाई खनजोत र काठे पिल्लर गाडी बाँसको बारले घेरबेर गर्न लागेको सूचानको आधारमा दलबलसहित घटनास्थल पुगेको वनकर्मीले अतिक्रमण हटाएको मण्डलले बताउनुभयो । वनकर्मीले वनमा गाडिएका करिब २५ वटा पिलर उखेल्नुका साथै बाँसको टाट पनि हटाएको छ । अतिक्रमण कसले गरेको हो स्पष्ट हुन सकेको छैन । डिभिजन वन अधिकृत अजय मिश्रले घटनाको सूच्छम अनुशंधान भइरहेको बताउनुभयो ।
"अतिक्रमणकारीको पत्तो लगाई कारबाही गर्न प्रक्रिया सुरु गरेका छौं," मिश्रले भन्नुभयो । महोत्तरीमा वन क्षेत्र अतिक्रमणको यो पहिलो घटना हैन । गएको पुस महिनामा बर्दीबास वडा नं ४ मै चुरे क्षेत्रको वरडाँडामा पनि एक बिघा जति अतिक्रमित जग्गा वनकर्मीले खाली गराएका थिए ।
यसअघि गौशाला रोडस्थित वन क्षेत्रको जग्गा अतिक्रमण गरी घर बनाउन सुरसार गरिएको डेढ कट्ठा जग्गा खाली गराएको थियो । बर्दीबास ३ रमतेल डाँडाको अतिक्रमित चार बिघा जग्गा प्रकरण विशेष अदालतसम्म पुगेको घटनाले चर्चा पाउँदै आएको छ ।