• ७ माघ २०८१, सोमबार

पराती गाउने परम्परा लोप हुँदै

blog

विगतमा पराती गीत गाउँदै आउनुभएका कारी महतो । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, माघ ७ गते । धनुषाको ढल्केबरमा केही वर्षअघिसम्म महेन्द्र साह र गोपाल ढकाल एका बिहानै पराती गीत गाउनुहुन्थ्यो । उहाँहरूको पराती सुनेर वरपरका छिमेकले बिहान हुन लागेको सङ्केत पाउँथे । 

तर उहाँहरूको निधनसँगै ढल्केबरमा पराती गीत गुञ्जन बन्द भएको छ । अहिले यो गीत यहाँ मात्र नभई तराई मधेशका धेरै ठाउँबाट हराउँदै गएको छ। धार्मिक र आध्यात्मिक विषयवस्तु समेटिएका पराती गीतहरू आधुनिकतासँगै लोप हुने अवस्थामा पुगेका छन् ।

पराती बिहानको समयमा गाउँका बुढापाका, साधुसन्त र भक्तजनले गाउँने गीत हो । यी गीतले समाजमा चेतना र पवित्रताको वातावरण सिर्जना गर्थे । तर अहिले यसको स्थान फिल्मी भजनहरूले लिइरहेको छ ।

ढल्केबरका स्थानीय परीक्षण महतोले आधुनिक जीवनशैलीले गर्दा नयाँ पुस्ता परम्परागत गीतप्रति रुचि नदेखाउँदा यो परम्परा हराउँदै गएको बताउनुभयो । उहाँका अनुसार फिल्मी भजनको प्रभावले पनि परम्परागत पराती गाउने संस्कार ओझेलमा पर्दै गएको छ । उहाँले भन्नुभयो, “एफएम रेडियोले फिल्मी भजनको सट्टा परातीका रेकर्ड गरिएको संस्करण प्रसारण गर्न सक्छन् । यसले परम्परागत गीतप्रति जनचासो बढाउन मद्दत पुग्छ । त्यस्तै, स्कुल, कलेज, र सामुदायिक कार्यक्रममा पराती गाउने प्रतियोगिता तथा प्रदर्शनीको आयोजना गरी नयाँ पुस्तालाई यसको महत्त्वबारे जानकारी दिन सकिन्छ ।”

जाडोयाममा लामो रात हुनाले चाँडै निद्रा खुल्ने र बिछ्यौनामै एक डेढ घण्टा कटाउन मधेशी समुदाय पराती गाउने गरेको पौराणीक प्रचलन रहेको परीक्षणले सुनाउनुभयो । आजभोलि बिहानैदेखि गाउँबस्तीमा फिल्मी भजन धन्किने गरेका छन् । यसले गर्दा पनि मधेशको मौलिकता छाँयामा परेको उहाँको भनाइ छ ।

स्थानीय सुवोध ठाकुरका अनुसार पराती गाउनु ईश्वरको नाम लिनु र त्यसप्रति समर्पित हुनु हो । जसले मानिसको मनलाई पवित्र बनाउने विश्वास छ । बिहान सकारात्मक ऊर्जा र भक्तिभावले भरिनुको साथै परातीले परिवार र समाजमा नैतिक मूल्यको विकास गर्ने कार्य गर्दछ । उहाँले यी गीतहरू रामसीता, राधाकृष्ण, महादेवपार्वतीजस्ता देवीदेवताका गाथाहरू समेट्ने भएकाले मानिसलाई आध्यात्मिकता र नैतिकतासँग जोड्ने काम गर्दै आएको बताउनुभयो । 

कलाकारसमेत रहेका फुलगेन महतोले यसलाई संरक्षण गर्न स्थानीयस्तरमा सचेतनाको प्रयास आवश्यक भएको बताउनुभयो । परम्परागत धरोहर बचाउन युवा पुस्तालाई यसको महत्त्व बुझाउनु अत्यावश्यक छ । यसरी पराती गाउने परम्पराको संरक्षण गर्न सकियो भने मधेशको मौलिकता मात्र बच्ने होइन सांस्कृतिक पहिचानलाई नयाँ जीवन पनि दिन सकिने उहाँको भनाइ छ ।