सुदूरपश्चिम प्रदेशको अछाममा रहेको मङ्गलसेन नगरपालिका सुन्दर र रमाइलो छ । २०७१ वैशाख २५ गते मङ्गलसेन नगरपालिका घोषणा भएको हो । सैन र मङ्गलादेवीको मन्दिरलाई जोडेर मङ्गलसैन नामकरण गरिएको जनश्रुति छ । सैन भन्नाले समथर फाँट भएको जग्गालाई बुझाउँछ । वास्तविक नाम मङ्गलसैन भए पनि अपभ्रंश हुँदै हाल मङ्गलसेन नामबाट परिचित छ ।
समुद्री सतहबाट ५४० देखि तीन हजार तीन सय मिटरसम्मको उचाइमा नगरको भूगोल छ । पूर्वमा रामारोशन गाउँपालिका, पश्चिममा चौरपाटी गाउँपालिका, उत्तरमा बान्नीगढी जयगढ गाउँपालिका, दक्षिणमा कमलबजार नगरपालिका र ढकारी गाउँपालिका छन् । २२०.२४ वर्गकिलोमिटर क्षेत्रफल रहेको नगरपालिकामा छ हजार २२२ घरधुरी छन् । नगरपालिकामा १२ हजार ८२ पुरुष र १४ हजार ४७५ महिला गरेर जम्मा २६ हजार ५५७ जना बसोबास गर्छन् । विशेष गरी ब्राह्मण, क्षेत्री, दलित आदि जातिको बसोबास यस नगरमा छ । नगरपालिकामा १४ वटा वडा छन् । ती वडासम्म सडक पुगे पनि राम्रो सडक बनाउने काम भइरहेको छ ।
यहाँ धान, गहुँ, मकै, कोदो, भटमास, मास, गहतको खेतीपाती गर्ने गरिएको छ । पशुपालन पनि गरिन्छ । मौसम अनुसार सुन्तला, आँप, कागती, अमिलो फलफूल पनि उत्पादन हुने गरेको छ । कैलाशखोला र सेती नदीसँग जोडिएका छेउका खेतमा धान र गहुँको उत्पादन धेरै हुन्छ । यहाँका अधिकांश युवा रोजगारीका लागि भारतलगायतका मुलुकमा जाने चलन छ ।
मङ्गलसेन नगरपालिकामा ४७ वटा सामुदायिक विद्यालय, सात वटा संस्थागत विद्यालय, दुई वटा सामुदायिक क्याम्पस र एउटा प्राविधिक शिक्षालय रहेको छ । सरकारी विद्यालयमा १० हजार ९६ र संस्थागत विद्यालयमा एक हजार २५५ जना विद्यार्थी अध्ययनरत छन् । विशेष शिक्षा अन्तर्गत षोडशा माविले दृष्टिविहीन र आमाबुवा गुमाएका बालबालिकालाई आवाससहितको निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ । यस नगरपालिकामा महिला ६३.७ प्रतिशत र पुरुष ८४.२ प्रतिशत साक्षर छन् ।
मङ्गलसेन दरबार, सुरैकोट देवल ऐतिहासिक दरबार यहाँ छ । षोडशा मन्दिर, मालिका, कालिका कैलाशमुठ, धुम्रलोचनी, जिमराडी, भट्टे मालिका आदि चर्चित स्थान हुन् । चित्रे, ठुलासेन, अयारबन्ड पर्यटकीय स्थानका लागि प्रख्यात छ । कैलाशखोला बुढीगङ्गा जलविहारका लागि उपयुक्त छ । मङ्गलसेन दरबारलाई प्रदेशस्तरकै सङ्ग्रहालय बनाउने प्रयास भइरहेको छ । दसैँ, तिहार, विसु, होरी, धमारी, माघी, तिहार, ओल्के पर्व महìवका साथमा मनाइन्छ । नगरपालिकामा एउटा जिल्ला अस्पताल र १७ वटा स्वास्थ्य संस्था छन् ।