यादवराज पुरी
रौतहट, पुस २७ गते । जङ्गली हात्तीबाट हुने क्षतिबाट जोगाउन डिभिजन वन कार्यालय रौतहटले चन्द्रपुर नगरपालिकासँग सहयोग माग गरेको छ ।
हाल लामो समयदेखि जङ्गली हात्तीले चन्द्रपुर नगरपालिकाको उत्तरी भेगका बस्ती र किसानको बालीमा क्षति पुर्याउँदै आएपछि कार्यालयले पालिकालाई १० थान ‘इनरलाईजर’ (वन्यजन्तु लाई हल्का झट्का दिने उपकरण) खरिद गरी स्थानीय किसानलाई उपलब्ध गराई दिन अनुरोधकासाथ निवेदन पेश गरेको छ ।
पर्सा राष्ट्रिय निकुञ्जका जङ्गली हात्तीले वर्षेनी रौतहटको उत्तरी क्षेत्र चन्द्रपुर नपाको २ र ३ नम्बर वडा गुजरा र फतुवाविजयपुर नगरपालिकाको वनक्षेत्रका बस्ती र बालीमा क्षति पुर्याउँदै आएको वन प्रमुख हेमन्तप्रसाद साहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘दुई महिनाभन्दा बढी समयदेखि हात्तीले उपद्रो मच्चाउँदै आएको छ । बालीनाली र घरटहरा भत्काएको छ । हात्ती आतङ्कक्षेत्रका नागरिक त्रसित छन् । हात्तीका कारण जनधनको क्षति नहोस् भन्नका लागि चन्द्रपुर नगरपालिकासँग करिब २० लाख रुपियाँ पर्ने दश थान इनरलाईजर यन्त्रको सहयोग माग गरेका छौं ।’’
यता चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले डिभिजन वन कार्यालयले नै उक्त यन्त्रको व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ । उहाँ भन्नुहुन्छ, “पालिकासँग उक्त शीर्षकमा बजेट नभएका कारण हाल उक्त यन्त्र खरिद गर्न असमर्थ रहेको छ । सम्बन्धित विभाग वा मन्त्रालयबाट बजेट माग गरी वन्यजन्तुबाट नागरिकको जनधनको सुरक्षा गर्नु वन कार्यालयको दायित्व पनि हो ।”
हात्तीले अहिलेसम्म चन्द्रपुर नगरपालिका–३ गैँडाटारमा सात वटा र २ नम्बर वडा जुडिबेलामा एउटा गरी आठ वटा घर भत्काएको छ । यसैगरी, उक्त क्षेत्रमा ठुलो क्षेत्रफलमा गरिएको व्यवसायिक केराखेति नष्ट गरेको छ । वडाअध्यक्ष बोधनाथ देवकोटाकाअनुसार कालापानी सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा निर्माण भएको उद्यान र पानीघट्टमा समेत क्षति पुर्याएको छ । यता फतुवा विजयपुर नगरपालिका–११ भैसही र बटवा बस्तीमा उदय चौधरी, मिलन मगर, हरिशरण मैनालीलगायत पाँच वटा स्थानीयको घरमा क्षति पुर्याएको बताइएको छ ।