लक्ष्मी चौधरी
जनकपुरधाम, पुस २७ गते । मधेश प्रदेश सभामा दलित महिला सदस्यको प्रतिनिधित्व भएपछि दलित समुदायको आवाज संसद्मा बुलन्द रूपमा उठ्न थालेको छ ।
विगत ३५ वर्षदेखि सुँडिनीका रूपमा काम गर्दै आएकी प्रदेश सभा सदस्य पलटीदेवी महरालले कुनै दिन प्रदेश सभामा आफू पनि पुग्छु भनेर कहिल्यै सोच्नुभएको थिएन । यतिबेला भने उहाँ मधेश प्रदेश सभामा उभिएर महिला हकहितका मुद्दामा दृढतासाथ बोल्ने गर्नुहुन्छ । सँुडिनीको भूमिकाबाट सुरु भएको उहाँको सङ्घर्षको यात्रा मधेश प्रदेश सभासम्म पुगेको छ । सांसद महरा भन्नुहुन्छ, “दलित अधिकारको आवाज उठाउँदै समाजका विभिन्न चुनौती पार गर्दै संसद्सम्मको यात्रा त्यति सहज भने थिएन । पारिवारिक साथ र जीवनमा केही गर्ने इच्छाले संसद्सम्म पु¥याएको छ ।”
सांसद महराको प्रदेश सभा सदस्यमा यो दोस्रो कार्यकाल हो । उहाँ समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य हुनुुभएको हो । पछिल्लो समय प्रदेशमा दलित महिला सांसदको आवाज पनि बुलन्द हुँदै गएको छ । नेपालको संविधान–२०७२ ले राजनीतिमा दलित महिला सहभागिता सुनिश्चित गरेपछि स्थानीय, प्रदेश र केन्द्रसम्म महिला प्रतिनिधित्व बढ्दै गएको छ । मधेश प्रदेश सभामा महिला प्रतिनिधित्वको अवस्था प्रगतिशील भए पनि अझै चुनौतीपूर्ण भने छ । महिलाको राजनीतिक सहभागिताको अधिकार संविधानले सुनिश्चित गरे पनि वास्तविक अभ्यासमा धेरै सामाजिक, सांस्कृतिक र संरचनात्मक अवरोध कायमै छन् ।
अर्की दलित महिला सांसद ललिता दास विद्रोही पनि निकै बुलन्द आवाजका साथ सदनमा दलित अधिकारको आवाज उठाउने गर्नुहुन्छ । समाज र घरपरिवारसँग विद्रोह गरेर संसद्मा पुगेकी सांसद दास भन्नुहुन्छ, “महिला, त्यसमा पनि दलित; संसद्सम्म पुग्न त्यति सहज थिएन तर सङ्घीयताले दिएको अधिकार र पार्टीले गरेको मूल्याङ्कनले मलाई अवसर दिएका कारण दलित समुदायको आवाज सदनमा उठाउन पाएको छु ।” उहाँले दलित समुदायको अधिकारसँगै महिला, कृषि, शिक्षा क्षेत्र तथा कानुन निर्माणका विषयमा आवाज उठाउँदै आउनुभएको छ ।
उहाँले मधेशका दलित समुदायलाई आर्थिक, शैक्षिक रूपमा सबल बनाउन प्रदेश सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिँदै नेतृत्व तहमा दलित महिला सहभागिता सुनिश्चित हुनुपर्ने बताउनुभयो ।
प्रदेश सभामा १०७ सदस्यमध्ये ४० जना महिला छन् । तीमध्ये सात जना दलित महिला छन् । मधेश प्रदेशमा यो सङ्ख्या पर्याप्त नरहेको सांसद दासको भनाइ छ । दास दलितको आवाज उठाउन नेता बन्नु पर्छ भन्ने सोचले राजनीतिमा प्रवेश गर्नुभएको थियो । निरन्तरको मेहनत र लगनशीलताले उहाँलाई सदनसम्म पु¥याएको छ । राजनीतिक संरचना र समाजको परम्परागत सोचले दलित महिलाको प्रतिनिधित्वमा बाधा पु¥याउने उहाँ बताउनुहुन्छ । यद्यपि महिला समूह र गैरसरकारी संस्थाहरूले महिलामा आएको परिवर्तनलाई प्रोत्साहन गर्न र क्षमता विकास गर्न महŒवपूर्ण भूमिका निर्वाह गरिरहेको प्रदेश सभा सदस्यहरूको भनाइ छ ।