स्थानीयवादमा आधारित भई आफ्नो शासन आफैँ गर्न सक्ने अवस्थाको शासकीय स्वरूप नै स्थानीय स्वायत्त शासन हो । स्थानीयवाद भनेको स्थानीय गुण, विशेषता वा स्थानीय परिवेशलाई केन्द्रमा राखी निर्माण गर्ने नीति हो । स्थानीयवादको नीतिमा आधारित भई गरिने जनप्रिय शासन प्रणाली नै स्थानीय स्वायत्त शासन हो । स्थानीय मौलिक पहिचानको जगेर्ना गर्दै स्थानीय आवश्यकता परिपूर्ति गर्न स्थानीय क्षमता र स्थानीय स्रोतसाधनको अधिकतम परिचालन गरी स्थानीय जनताको सार्थक सहभागितामा स्थानीय सक्षमताका साथ शासन प्रशासन गरिने भएकाले स्थानीय स्वायत्त शासनलाई जनस्तरमा सर्वत्र रुचाइन्छ । खासमा स्थानीय स्वायत्त शासन भनेको स्थानीय जनताले आफ्नो शासन आफैँ चलाउने र सोको अर्थपूर्ण अनुभूति गर्ने अवस्था पनि हो ।
स्वशासन
स्थानीय स्वायत्त शासन नै स्वशासन हो । आफ्नो क्षेत्र, प्रान्त वा राज्यका निम्ति आवश्यक शासन तथा प्रशासन र अन्य आवश्यक शासकीय प्रबन्ध आफैँ गर्ने पूर्ण अधिकार भएको अवस्थालाई स्वशासन भन्ने गरिन्छ । स्वशासनले नै स्वायत्त शासनलाई मजबुत र दिगो बनाउने गर्छ । स्थानीय स्वशासनले आफ्नो गाउँ ठाउँको विकासलाई जनस्तरमा नै उत्तरदायी र जवाफदेही बनाउँछ । यस प्रकारको शासन प्रशासनले स्थानीयतालाई बलियो पार्छ र शासन प्रक्रियामा अर्थपूर्ण जनसहभागिता वृद्धि गर्छ । स्थानीय क्षेत्रको योजना तर्जुमा गर्ने, विकासका कार्यक्रम सञ्चालन गर्ने, जनसहभागितामा सञ्चालित आयोजनाको दिगो व्यवस्थापन, सदुपयोग, संरक्षण तथा प्रवर्धन गर्ने र हरेक तहमा त्यस्ता कार्यको अपनत्व लिने आदि कार्यमा स्थानीय जनताको प्रत्यक्ष संलग्नता रहेको हुन्छ । सरोकारवालाको रूपमा जनचासो, निर्णयाधिकार, कार्यान्वयन र प्रतिफलको उपभोगमा समेत स्थानीय जनताकै स्वतन्त्रता रहने भएकाले पनि यो व्यवस्था संसारभर ज्यादा लोकप्रिय भएको हो ।
स्वशासनका आयाम
स्वशासन हुन शासकीय सवालमा निर्णय गर्ने र सो को कार्यान्वयन गर्ने गराउने अधिकार आफैँसँग हुनु पर्छ । निर्णय अरूले गर्ने र त्यसको कार्यान्वयन मात्र आफूले गर्ने वा आफूले गरेको निर्णय अरूले कार्यान्वयन गर्ने अवस्थामा पूर्ण स्वशासन हुन सक्दैन । स्वशासन हुन सरकारी निकाय मूलतः निम्न पाँच प्रकारका अधिकार सम्पन्न हुनु अनिवार्य मानिन्छ :
राजनीतिक अधिकार
स्थानीय स्वायत्त शासन वा स्वशासनका लागि स्थानीय तहमा राजनीतिक सोच वा दर्शनका आधारमा जनताबाट रुचाइएको प्रतिनिधिले शासन गर्ने राजनीतिक प्रणाली हुनु पर्छ । जनताको लोकप्रिय मतले निर्वाचित जनप्रतिनिधिबाट जनताको इच्छा र आवश्यकताका आधारमा नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्न सक्ने अधिकार सरकारी निकायमा निहित हुनुपर्ने छ ।
योजनाको अधिकार
स्थानीय नेतृत्वले आफ्नो भौगोलिक क्षेत्रभित्र के कस्ता भौतिक संरचना आवश्यक छ भन्ने विषयमा विमर्श गरी पहिचान गर्ने र के कुन डिजाइनमा निर्माण गर्ने भन्ने विषयमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तर्जुमा गर्ने र त्यस्तो योजनाका आधारमा कार्यक्रम स्वीकृत तथा बजेट विनियोजन गरी कार्यान्वयन गर्न सक्ने अधिकार स्थानीय तहमा नै निहित हुनुपर्ने देखिन्छ ।
प्रशासनिक अधिकार
स्थानीय स्वायत्त शासन वा स्वशासनका लागि स्थानीय तहमा आफू अनुकूलको प्रशासन सञ्चालन गर्न पाउने स्वतन्त्र अधिकार हुनु पर्छ । कार्यालयको व्यवस्था, आवश्यक जनशक्ति, उपकरण तथा मालसामानको प्रबन्ध र सोको समुचित परिचालनबाट मात्र कुनै पनि निकाय स्वशासित हुन सक्छ ।
न्यायिक अधिकार
स्थानीय स्वायत्त शासन वा स्वशासनका लागि स्थानीय तहमा न्यायिक अधिकारसमेत हुनुपर्ने छ । स्थानीय स्तरमा आइपर्ने सानातिना विवाद वा झै झगडाको समाधान गर्न गराउन पाउने अधिकार भएन भने स्थानीय स्तरको सुरक्षा, शान्ति र सुव्यवस्था कायम गर्न सकिँदैन । त्यसै कारण न्यायिक निर्णय गर्ने र त्यस्तो निर्णय कार्यान्वयन गर्ने स्थानीय संयन्त्रको कानुनमा नै व्यवस्था गरिएको छ । स्थानीय तहबाट हुने न्यायिक निर्णयको कार्यान्वयन गर्न संविधानले नै नगर प्रहरीको व्यवस्था गरिएको हो ।
वित्तीय अधिकार
स्थानीय स्वायत्त शासन वा स्वशासनका लागि स्थानीय तहमा वित्तीय अधिकार निहित हुनु पर्छ । राजस्व सङ्कलन तथा अन्य स्रोतबाट आय आर्जन गर्ने र स्वीकृत योजना तथा कार्यक्रममा खर्च गर्न पाउने अधिकार नभएमा स्थानीय तह स्वायत्त वा स्वशासित हुन नसक्ने र वित्तीय अधिकार विना अन्य अधिकारको समेत समुचित प्रचलन गराउन नसकिने भएकाले यो अधिकारलाई स्वशासनको प्रमुख अधिकार मान्ने गरिन्छ ।
यी पाँच प्रकारका अधिकारले कुनै पनि सरकार वा निकाय स्वायत्त हो होइन र सक्षम छ कि छैन भन्ने देखाउँछ । यी अधिकार मात्र होइन यी त स्वशासनको पूर्वसूचक पनि हुन् । यिनै सूचकका कारण कुनै पनि सङ्गठन वा निकाय स्वनिर्भर र स्वतन्त्र बन्न सक्छ ।
पिता
खासमा आफूलाई जन्माउने व्यक्तिलाई पिता वा बा भनिन्छ । जन्मदाता बालाई जनकका रूपमा पनि चित्रण गर्ने गरेको पाइन्छ । बा विश्वासको मेरुदण्ड हो भने मार्गदर्शनको निर्देशक । अनि हरेक बा हुन् हरेक सन्ततिको भविष्य निर्माता । पिता हरेक सन्तानको छत्रछाया हो, विश्वास हो र जीवनको पूर्वाधार । पिता सुरक्षाको कवच हो, आस र त्रासको पर्याय पनि हो । पिता त्यस्तो एक व्यक्ति हो, जो उचित या अनुचित वा गर्न हुने वा नहुने सर्लक्कै जान्छ र बुझ्छ । त्यसैले गर्दा पिता सर्वज्ञ र मर्मज्ञ निर्णयकर्ता हो । हरेक परिवारका लागि पिता परिवारको सुरक्षा र शक्ति हो । पिता नै परिवारको समृद्धि हो र स्रोत व्यवस्थापक पनि हो । पिता विश्वासको देवता हो । पिता आकाश हो । आकाश नै हाम्रो विश्वास हो । पिता त्याग, समर्पण र सङ्घर्षको अर्को नाम हो । पितासँग जीवनको भरोसा जोडिएको हुन्छ । पिताबाट हर मानिसमा बाँच्ने प्रेरणा र साहस प्राप्त भएको हुन्छ ।
कर्मक्षेत्रका पिता
जन्म दिने पिता झैँ मेरा लागि कर्मक्षेत्रका पिता हुनुहुन्छ पिएल सिंह । उहाँ प्रमुख हुँदा मैले कर्मचारी बनेर काम गर्न त पाइनँ । उहाँसँग पछि सम्पर्क भयो र घनिष्ट सम्बन्ध हुन पुग्यो । संयोगले स्थानीय स्वशासन हुने एक बहस कार्यक्रममा उहाँसँग भेट भयो र त्यो भेट निकै लामो समयसम्म विचार विमर्शका लागि जोडिन पुग्यो । यस कारण म भाग्यमानी भएँ कि उहाँले स्थानीय स्वशासनका सवालमा विचार विमर्श गर्न मलाई आमन्त्रण गर्नुहुन्थ्यो ।
जमलको दुध सागर उहाँले मलाई बोलाउने ठाउँ थियो, जहाँ मिठाइसँगै स्थानीय स्वायत्त शासन, विकेन्द्रीकरण, अधिकारको निक्षेपण, स्थानीय सुशासन र सबल स्थानीय सरकारका बारेमा घन्टौँ तर्क वितर्क हुन्थे । ख्याल ठट्टाको शैलीमा उहाँले यति गम्भीर विषय उठान गर्नुहुन्थ्यो कि म उहाँसँगको हरेक भेटमा विश्वविद्यालयको प्राज्ञिक बहसमा भएको अनभूति गर्थे । प्रायशः कार्यालय समयपछि दुध सागरमा मलाई बोलाएर छलफलको विषय पस्कनु हुन्थ्यो, गहन छलफल गथ्र्याै । म करिब चालिस प्रतिशत बोल्थेँ भने साठी प्रतिशतको हाराहारीमा म उहाँको कुरा सुन्थेँ । उहाँसँग हुने तिनै बहसले मलाई स्थानीय स्वायत्त शासन प्रणाली सिद्धान्त र व्यवहार नामक पुस्तक लेख्न ज्ञान र प्रेरणा मिलेको थियो ।
काठमाडौँ नगरपालिकालाई महानगरपालिकामा रूपाान्तरण गर्ने नगर पिता पिएल सिंह महानगरवासीको खास पिता त बन्नुभयो नै साथसाथै नेपालको स्थानीय स्वायत्त शासन र स्वशासनको प्रवर्तक नै बन्नुभयो । स्थानीय स्वायत्त शासन ऐन, २०५५ तर्जुमा गर्न उहाँले प्रमुख भूमिका खेल्नुभएको र त्यसका लागि गर्नु परेको सङ्घर्षका शृङ्खला मैले भलिभाँती सुनेको छु उहाँकै मुखारविन्दबाट । ती प्रयत्न निकै प्रसंशनीय छन् । माथि उल्लेख गरेको स्वशासनका पाँच अपरिहार्य अधिकार पनि मैले उहाँबाट नै सुनेको हुँ,
जानेको हुँ । उहाँमा त्यो तहको स्थानीय स्वायत्त शासनमैत्री चेतना र प्रयत्न नभएको भए सायद यतिबेला नेपालमा स्थानीय सरकार बन्ने पनि थिएन होला । आजको स्थानीय सरकार उहाँकै देन हो र हामी स्थानीय स्वायत्त शासनका पक्षपाती खासमा उहाँका सन्तति हौँ । स्वशासन उहाँको आत्मा थियो र आज ७५३ वटा स्थानीय सरकार अस्तित्वमा आएका छन् । पिएल सिंह स्थानीय स्वायत्त शासन प्रणालीका मेरुदण्ड र प्रवर्तक हुनुहुन्छ । नेपालको स्थानीय स्वशासनका पिता हुन् भन्ने कुरा कहिल्यै भुल्न सकिँदैन ।
असाधारण सोचका पिएल सिंह
काठमाडौँका पूर्वमेयर पिएल सिंह सरदर मानिसभन्दा फरक सोच र व्यवहार गर्ने भएकै कारण धेरैको स्मृतिमा रहन सफल भएका छन् । उहाँमा कहिल्यै पद, प्रतिष्ठा र शक्तिको घमण्ड देखिएन । उहाँका अभिव्यक्ति समकालीन समाजमा आममानिसको भन्दा भिन्न रहेको देखिन्छ । नेपालको राजधानी सहर र पहिलो महानगरको पहिलो मेयर भएर पनि उहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा आफूलाई मुख्य कुचीकारको रूपमा परिचित गराउनु हुन्थ्यो । सफाइ अड्डाको नामबाट स्थापना भई आज पनि पहिलो प्राथमिकताको काम सहरको सरसफाइ भएको काठमाडौँ महानगरपालिकाको गरिमा बढाउने काम आजसम्म सफाइकर्मीबाट नै भइरहेको छ । यो कुरालाई उहाँको दूरगामी सोचले प्रमाणित गरेको छ । उहाँले आफूलाई मुख्य कुचीकार भन्नुको पछाडिको कारण पनि यही हुनु पर्छ । निकै सरल, सादगी र शान्त स्वभावका पिएल सबैसँग घुलमिल गर्ने, अरूको सम्मान गर्ने मानवीय संवेदनाका निकै धनी देखिन्नुहुन्छ ।
आफ्नो नामको अर्थ गरेर पनि जनप्रिय बन्नुभएको थियो पिएल । पिपुल्स लभ्स सर्भिस अर्थात् जनताले मन पराउने सेवाका रूपमा आफूलाई उभ्याएको देखिन्छ । जनताको सेवा नै आफ्नो प्रमुख कर्म ठान्ने मेयरले आफ्नो अस्तित्वलाई जनतालाई प्रवाह गर्ने सेवासँग आबद्ध गर्नु एक असाधारण नेतामा हुने विशिष्ठ गुण हो भन्ने स्वतः सिद्ध छ ।
उहाँले ख्याल ठट्टाकै पारामा नेताहरू जनताको लिड गर्नुपर्ने भएर लिडर भएको तर डिल गर्न थालेका कारण लिडर नभएर डिलर हुन पुगे भन्नुहुन्थ्यो । यो कथन आफैँमा गम्भीर र व्यङ्ग्यात्मक पनि थियो । आज राजनीतिक क्षेत्रमा गरिने कैयौँ आलोचना उहाँको विचारसँग पनि मिल्दोजुल्दो भएको देख्न सकिन्छ ।
पिएल सत्य, निष्ठा र इमानका एक अटल योद्धा
ठहरिनुभयो । आफूले गलत भनेको र दर्शन बाहिर देखेको विषयमा कुनै सम्झौता नगर्ने निर्भीक स्वभावले परिपूर्ण राजनेता पिएल नेपालका सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका सबै जनप्रतिनिधि र स्थानीय सेवाका कर्मचारीका धरोहर हुनुहुन्थ्यो, आस्था र विश्वासका एक अविचलित छवि बनाउन सफल असाधारण व्यक्ति पनि । उहाँको निधन भएको तेह्रौँ दिनको पुन्यतिथिमा उहाँले सोचेको, खोजेको र रोजेको स्थानीय स्वायत्त शासनलाई सबल र दिगो बनाउने दिशामा समर्पित बन्न र स्थानीय सरकारलाई अधिकारसम्पन्न र सक्षम बनाउन सबैलाई प्रेरणा मिलोस् । यसो भएमा पूर्वमेयर पिएल सिंहको आत्माले पक्कै शान्ति पाउने छ । यसैमा सङ्घीय नेपाल र स्वशासनप्रेमी नेपालीको अवश्य कल्याण हुने छ ।