श्रीमद् भागवत गीता आध्यात्मिक मूल्यमा आधारित एक प्रसिद्ध दार्शनिक तथा शैक्षिक ग्रन्थ हो । यसमा सात सय श्लोक छन्, जुन महाभारतको भीष्म पर्वमा समावेश गरिएका छन् । यस ग्रन्थका प्रमुख पात्र अर्जुन र भगवान् श्रीकृष्ण हुन् । गीता ज्ञान मूल रूपमा अर्जुन र श्रीकृष्णबिचको तार्किक संवादमा आधारित छ । कुरुक्षेत्र युद्धको मैदानमा अर्जुनलाई जब युद्धमा सहभागी हुने विषयमा संशय उत्पन्न हुन्छ तब उनको मनमा विभिन्न प्रकारका भावना जागृत हुन्छन् । त्यसपछि श्रीकृष्णले उनलाई जीवनको गहिरो सत्य र कर्तव्यको बारेमा गहन शिक्षा दिएका छन् । यस ग्रन्थको शिक्षाले मानव जीवनका विभिन्न पक्षको विश्लेषण गरेको छ । यसमा धर्म, कर्म, ज्ञान, भक्ति, योग र मानव स्वभावका सिद्धान्त समावेश छन् । गीताका शैक्षिक सन्देश आध्यात्मिक मार्गदर्शन प्रदान गर्ने उद्देश्यमा मात्र सीमित नभई जीवनका भौतिक, मनोवैज्ञानिक, सामाजिक, नैतिक तथा व्यावहारिक पक्षका लागि पनि महत्वपूर्ण छन् ।
गीता आजको युगमा केवल धार्मिक शिक्षाको मात्र स्रोत होइन, यो एक शैक्षिक मार्गदर्शनको ग्रन्थ पनि हो । यसले मानव जीवनको गहिरो अर्थ र त्यसको दार्शनिक तथा मानसिक पक्षलाई स्पष्ट गरेको छ । गीताले ज्ञान, कर्म, भक्ति र ध्यानको माध्यमबाट मानिसको सम्पूर्ण व्यक्तित्वको विकासका लागि मानवमूल्यमा आधारित शिक्षा प्रदान गर्छ । यसको मूल उद्देश्य मानव जीवनलाई शान्ति, उद्देश्यपूर्ण र नैतिक मूल्यमा आधारित बनाउनु हो । त्यसैले गीताका प्रमुख सिद्धान्तलाई आधुनिक शिक्षासँग जोडेर नेपालको शिक्षा प्रणालीलाई स्वदेशी मूल्यमा आधारित बनाउन सकिन्छ ।
भागवत गीता र शिक्षा
भागवत गीता संसारको एक अद्वितीय आध्यात्मिक तथा दार्शनिक ग्रन्थ हो, जसले जीवनको गहिरो लक्ष्य र त्यसका विभिन्न पक्षलाई स्पष्ट दिशा निर्देश गरेको छ । गीताले शैक्षिक सन्देशमा ज्ञान, कर्म, ध्यान र मानव मूल्यका साथै मानव स्वभावको गहिरो विश्लेषणलाई प्रस्तुत गरेको छ । गीताका अनुसार मानव जीवनको उच्चतम उद्देश्य आत्मज्ञान प्राप्ति, स्वधर्मको पालन र मानसिक शान्ति हासिल गर्नु हो, जसले व्यक्तिलाई नैतिक कार्य र सकारात्मक सोचको मार्गमा प्रेरित गर्छ ।
आजको युगमा शिक्षा भनेको केवल बौद्धिक ज्ञानमा मात्र आधारित हुनुहुँदैन । यसले मानवता, नैतिकता, भावनात्मक, शारीरिक, सामाजिक, मनोवैज्ञानिक पक्षको विकास पनि गर्नु पर्छ । भागवत गीताका अनुसार ज्ञानको अर्थ केवल बाह्य सूचनाको सङ्कलन मात्र होइन, ज्ञान भनेको आत्मज्ञान र जीवनका उद्देश्यको गहिरो बुझाइ हो । गीताका अनुसार, शिक्षाले व्यक्तिलाई आफ्नो जीवनलाई शान्त र उद्देश्यपूर्ण बनाउन सक्ने आत्मसमझ र ब्रह्मज्ञान प्राप्त गर्न मार्गदर्शन गर्छ, तसर्थ वर्तमान शिक्षा प्रणालीमा पनि गीता र आधुनिक शिक्षाका सिद्धान्तको तालमेल महत्वपूर्ण छ । शिक्षा भनेको केवल किताबी ज्ञान प्राप्त गर्ने प्रक्रिया मात्र होइन, यो एक यस्तो मार्ग हो, जसले विद्यार्थीलाई मानसिक शान्ति, आत्मविश्वास, स्वपहिचान, सकारात्मक सोच र नैतिक कार्यप्रति प्रेरित गर्नु पर्छ ।
ज्ञान र कर्मको शिक्षा
भागवत गीताको शिक्षा प्रणालीको एक महत्वपूर्ण सिद्धान्त भनेको कर्मयोग हो । गीताले कर्मलाई जीवनको वास्तविक उद्देश्य मान्छ र कर्मयोगमार्फत व्यक्तिलाई आफ्नो कार्यप्रति इमानदारी र निष्ठा विकसित गर्न प्रेरित गर्छ । गीताका अनुसार, कर्मयोग भनेको कुनै पनि कार्यका आशक्ति र परिणामको चिन्ता नगरी स्वधर्मका आधारमा पूर्ण मनोयोगसँग गर्नु हो । कर्मयोगीको जीवनको लक्ष्य परिणामको चिन्ता नगरी आफ्नो कर्तव्यको निर्वाह र समाजमा सकारात्मक प्रभाव पार्नु हो ।
आजको समाजमा शिक्षाले व्यक्लिाई बाह्य वा भौतिक परिणाममा बढी केन्द्रित गरेको छ । यसले व्यक्तिलाई सतही ज्ञान र व्यक्तिगत स्वार्थमा आधारित बनाएको देखिन्छ । गीताले कर्मको महìवको कुरा गर्दै व्यक्तिलाई आफ्नो कार्यमा समर्पण र निष्ठा राख्नका लागि प्रेरित गर्छ । यस सिद्धान्तलाई समकालीन शिक्षा प्रणालीमा समायोजन गरेर विद्यार्थीलाई कार्यप्रति उत्तरदायित्व निर्वाह गर्ने र सेवाभावमा संलग्न गराउने शिक्षा पद्धति विकास गर्न सकिन्छ । नेपालको वर्तमान शिक्षा प्रणालीमा ज्ञान र कर्मको बिचको सन्तुलन आवश्यक देखिन्छ । विद्यार्थीले बौद्धिक ज्ञानका साथै आफ्नो कर्तव्य र सामाजिक उत्तरदायित्वको निर्वाह गर्न निष्ठा र समर्पणका साथ काम गर्नु पर्छ । अतः गीता शिक्षाको कर्मयोग मूल ज्ञानलाई समकालीन शिक्षा प्रणालीमा समायोजन गरेर योग्य नागरिकको निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सकिन्छ ।
ध्यान र मानव मूल्य
गीताले ध्यानलाई आत्मज्ञान र आत्म साक्षात्कारको माध्यमको रूपमा प्रस्तुत गरेको छ । ध्यानले व्यक्तिको दिमागलाई शान्त राख्न र आन्तरिक एकाग्रता बढाउन मद्दत गर्छ । यसले जीवनका सबै क्षेत्रको प्रगति र सफलता सुनिश्चित गर्न सहयोग गर्छ । गीताले शिक्षा प्रणालीमा ध्यानको अभ्यासलाई महत्वपूर्ण मान्छ र यसले विद्यार्थीलाई शारीरिक, मानसिक र भावनात्मक विकासमा योगदान पु¥याउँछ ।
समकालीन शिक्षा प्रणालीमा ध्यान र मानसिक अनुशासनको अभ्यासको आवश्यकताको महìव बढ्दै गएको छ । ध्यानले केवल मानसिक स्वास्थ्यलाई सुदृढ बनाउँदैन, यसले विद्यार्थीलाई मानसिक शान्ति र विषयवस्तुप्रति एकाग्रता पनि बढाउँछ । आजका विद्यार्थीको जीवनमा तनाव र चिन्ताको अवस्था बढिरहेको देखिन्छ । गीता र ध्यानका माध्यमबाट यसलाई व्यवस्थापन गर्न र शैक्षिक प्रदर्शनमा सुधार ल्याउन सकिन्छ ।
यस्तै गीता जीवनका महत्वपूर्ण मानव मूल्यहरूको पनि महìवपूर्ण शिक्षाप्रद ग्रन्थ हो । गीता अनुसार, सत्य, अहिंसा, करुणा, समानता, धैर्य र इमानदारी जस्ता मूल्यले व्यक्तिको जीवनलाई नैतिक र आदर्श बनाउँछन् । समकालीन शिक्षा प्रणालीमा यी मूल्यको समावेश गरी विद्यार्थीलाई दयालु, जिम्मेवार र सामाजिक उत्तरदायित्व बोध गराउन मद्दत गर्न सकिन्छ ।
मानव स्वभाव र शिक्षा
गीताले मानव स्वभावको गहिरो विश्लेषण प्रस्तुत गर्छ । प्रत्येक व्यक्ति भिन्न छ र तिनका आफ्ना क्षमता र सीमितता छन् । गीताका अनुसार, हरेक व्यक्तिले आफ्नो कर्तव्य र उद्देश्यलाई जान्नु पर्छ र त्यसमा समर्पित हुनु पर्छ । शिक्षा प्रणालीमा व्यक्तिगत स्वभावको कदर गर्दै विद्यार्थीलाई आफूमा आत्मविश्वास राख्न र जीवनका उद्देश्य पहिचान गर्न मद्दत गर्न आवश्यक छ । यसले विद्यार्थीलाई आत्म साक्षात्कार र आत्म विकासका पथमा अघि बढ्न प्रोत्साहित गर्छ । गीता अनुसार, मानव स्वभावलाई सत्व, रजस् र तमस् तीन प्रमुख गुणले प्रभावित गर्छन् ।
सत्वले शिक्षामा शान्ति, स्पष्टता र नैतिकता ल्याउँछ, जसले विद्यार्थीलाई मानसिक र शारीरिक रूपमा सशक्त बनाउनुका साथै आलोचनात्मक सोच, समस्या समाधान क्षमता, र सत्यको खोजी गर्ने तथा सामाजिक जिम्मेवारी, समाजप्रतिको योगदान र सद्गुणको पालन गर्न प्रोत्साहित गर्छ । रजस्ले प्रेरणा, लक्ष्य र सक्रियतामा वृद्धि ल्याउँछ, जसले विद्यार्थीलाई आत्मविश्वासी र गतिशील बनाउन मद्दत गर्छ । यसले विद्यार्थीलाई लक्ष्यमुखी, अधिकारप्रति सचेत, परियोजना कार्य, नेतृत्व क्षमता, उद्यमशीलता र नयाँ विचारको अभ्यासप्रति प्रेरित गर्छ । तमस् भनेको आलस्य, जडता र अज्ञानताबाट उत्पन्न हुने गुण हो । यसबाट मुक्ति प्राप्त गर्न शिक्षा प्रणालीमा यसलाई प्रेरणा र मानसिक स्वास्थ्यमार्फत सुधार गर्न आवश्यक छ । जस्तै अज्ञानताको कारण विद्यार्थी डिप्रेसन, तनाव र चिन्तामा हुन सक्छन् । तसर्थ समकालीन शिक्षा प्रणालीमा मानसिक स्वास्थ्यको महत्वलाई स्वीकार गर्दै ध्यान, मानसिक अभ्यास र स्वस्थ जीवनशैलीको विकासमा जोड दिन सकिन्छ ।
यी गुणको सम्यक् मिश्रण र व्यवस्थापनले विद्यार्थीको समग्र मनोवैज्ञानिक विकासमा मद्दत गर्छ र शिक्षा प्रणालीलाई अझ प्रभावकारी र उद्देश्यपूर्ण बनाउँछ ।
शिक्षकको भूमिका : गुरु–शिष्य सम्बन्ध
भागवत गीता अनुसार, कृष्ण र अर्जुनबिचको सम्बन्ध गुरु र शिष्यको पवित्र सम्बन्ध हो । यो सम्बन्ध विश्वास, ज्ञान र परस्पर सम्मानमा आधारित छ । गीताका अनुसार शिक्षक र विद्यार्थीबिच निस्वार्थ कर्म र नैतिक मूल्यमा आधारित सुमधुर सम्बन्ध हुनु पर्छ । शिक्षकले केवल ज्ञान मात्र प्रदान गर्नु हुँदैन, विद्यार्थीलाई आत्मविश्वास र आत्माज्ञानका लागि मार्गदर्शन गर्ने, सिकाइमा विद्यार्थीको सक्रिय सहभागिता, निर्णयमा स्वतन्त्रताको वातावरण निर्माण गर्ने र विद्यार्थीको सम्पूर्ण व्यक्तित्वको विकासको आधार तयार गर्नु पर्छ ।
गीता केवल एक आध्यात्मिक ग्रन्थ मात्र होइन, यो एक सम्पूर्ण जीवन दर्शन हो, जसले आजको शिक्षा प्रणालीलाई उचित दिशा दिन सक्छ । गीता प्रदत्त सिद्धान्तहरू ज्ञान, कर्म, ध्यान, मानव मूल्य र मानव स्वभाव आजको शैक्षिक सन्दर्भमा अत्यन्त महत्वपूर्ण छन् । गीताको शैक्षिक सन्देशमा आधारित शिक्षाले व्यक्ति केवल बौद्धिक दृष्टिले मात्र सशक्त भएर हुँदैन । यस्तो शिक्षाको माध्यमबाट व्यक्तिलाई मानसिक, नैतिक, भावनात्मक, आध्यात्मिक, शारीरिक र व्यावहारिक रूपमा पनि सशक्त बनाउन सकिन्छ ।
समकालीन शिक्षा प्रणालीलाई गीताद्वारा प्रदान गरिएका सिद्धान्तसँग समायोजन गरी नयाँ दिशा दिन सकिन्छ । साथै शिक्षाको मौलिक संरचना तयार गर्न सकिन्छ । गीताले विद्यार्थीलाई जीवनका वास्तविक उद्देश्य, कर्म, ध्यान, मूल्य र स्वभावको पहिचान गराउँछ, जसले शिक्षा प्रणालीलाई अधिक समृद्ध र उद्देश्यपूर्ण बनाउन सहयोग पुग्छ । गीता ज्ञानशास्त्रमा आधारित शिक्षाले शिक्षा केवल जानकारीको सङ्कलन मात्र नभई मानव जीवनलाई उत्कृष्ट र नैतिक बनाउने प्रक्रिया हो भन्ने मान्यता स्थापित गर्न सक्छ ।
अतः गीता र समकालीन शिक्षा प्रणालीबिचको समन्वय विद्यार्थीको सम्पूर्ण व्यक्तित्व विकासका लागि अत्यन्त महत्वपूर्ण हुने छ । यसले विद्यार्थीलाई बौद्धिक क्षेत्रमा मात्र नभई, सामाजिक र नैतिक क्षेत्रमा पनि सक्षम र जिम्मेवार नागरिक बनाउन सहयोग गर्ने छ ।