• ११ वैशाख २०८२, बिहिबार

अनुसन्धानलाई प्रभावित पार्नेगरी अभिव्यक्ति दिन हुँदैन : गृहमन्त्री

blog

गृहमन्त्री रमेश लेखक नेपाल प्रेस युनियन चितवनले भरतपुरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी हुनुुुहुँदै । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल
चितवन, मङ्सिर ३० गते ।
गृहमन्त्री रमेश लेखकले अनुसन्धानलाई प्रभावित पार्ने गरी कसैले अभिव्यक्ति दिन नहुने बताउनुभएको छ ।  नेपाल प्रेस युनियन चितवनले भरतपुरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा गहमन्त्री लेखकले सहकारीको रकम अपचलन गरेको विषयमा प्रहरीले अनुसन्धान गरिराखेको व्यक्तिका विषयमा टीकाटिप्पणी गर्दा ध्यान दिनुपर्ने बताउनुभएको छ । केही दिन अगाडि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई बाहिर राखेर अनुसन्धान गर्न सकिने भन्दै अभिव्यक्ति दिनुभएको थियो ।

पत्रकारले सोधेको प्रश्नको जवाफमा गृहमन्त्री लेखकले संसदीय छानबिन समितिको निष्कर्ष र कानुनी प्रक्रियाका आधारमा अनुसन्धानमा रहेको व्यक्तिमाथि स्वतन्त्रपूर्वक राज्यका निकायले काम गर्न दिनुपर्ने बताउनुभयो । उहाँले देशबाहिर रहेका जिवी राईलाई नियन्त्रणमा लिने प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो ।


उहाँले सहकारी मात्र नभएर गैर कानुनी काम गर्ने जुनसुकै व्यक्ति संस्थामाथि आवश्यक कारबाही गर्न सरकार प्रतिबद्ध भएको बताउनुभयो । कानुनभन्दा कुनै पनि व्यक्तिमाथि नभएकाले जुनसुकै व्यक्ति दोषी भए, प्रमाणले दोषी ठहर्‍याए कारबाही हुने बताउनुभयो । उहाँले यो सरकार आगामी निर्वाचनसम्म जाने बताउनुभयो । कुनै व्यक्तिले सरकार लामो समय जाँदैन भन्दैमा असर नपर्ने बताउनुभयो । उहाँले देशलाई एउटा निकास दिनका लागि स्थायी सरकार सञ्चालनका लागि एमाले र कांग्रेस एक भएर सरकार सञ्चालन गरेको बताउनुभयो ।

दुई शक्ति एक हुनुको अर्को उद्देश्य छ आवश्यक बुँदामा संविधान संशोधन गर्ने । यो बारेमा हामीले प्रकृया अगाडि बढाएका छौं । संविधान संंशोधन एउटा दुई वटा दलले मात्र गरेर हुँदैन सबै दलको सहभागितामा संविधान संशोधन गर्ने जानकारी दिनुभयो । कार्यक्रममा सहकारी पीडितले गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएर रकम फिर्ताका लागि सरकारले पहल गरिदिन अनुरोध गर्नुभएको थियो ।