• ३० मंसिर २०८१, आइतबार

झापामा दुर्घटना: घाइते पाँच मध्ये एक मृत्यु

blog

लीलाराज खड्का 

बिर्तामोड, मङ्सिर ३० गते ।  शनिवार बिहान पूर्वपश्चिम राजमार्गस्थित  झापाको कमल गाउँपालिकामा ५ मा सडक दुर्घटनामा घाइते ५ जनामध्ये एक जनाको मृत्यु भएको छ ।   उक्त दुर्घटनामा घाइते भएका प्रदेश न.१–०१–०२ ह.९०१ नम्बरको सिटी सफारी चालक दमक –९ बस्ने ५३ वर्षीय राम गुरागाईँको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा शनिवार राती  ११.२० बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । 

शनिवार बिहान  ११ः३० बजे कमल गाउँपालिका  ५ ज्योति चोकस्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको प्रदेश न.१–०२–००१ख ९७०६ नम्बरको यात्रुवाहक बसले सोही दिशातर्फ आउँदै गरेको प्रदेश न. १–०१–००२ च. ८४० नम्बरको कारलाई पछाडिबाट ठक्कर दिँदा उक्त कार बाटोदेखि तल झरेको थियो । सोही बसले बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको भारतीय  नम्बरको कार र सोही दिशातर्फबाट जाँदै गरेको प्रदेश न.१–०१–०२ह.९०१ नम्बरको सिटी सफारीलाई समेत ठक्कर दिएर पल्टिएको थियो ।

दुर्घटनामा बस चालक मोरङ कटहरी गाउँपालिका वडा न. ३ बस्ने ४० वर्षीय रोहित महल्दार, सिटी सफारी चालक दमक नगरपालिका वडा न.९ बस्ने ५३ वर्षीय राम गुरागाईं, सोही सिटी सफारीमा सवार कमल गाउँपालिका वडा न. ३ बस्ने २८ वर्षीया सुनीता सहनी, भारतीय  कार चालक भारत सिलिगुडी बस्ने ३२ वर्षीय गोपाल अग्रवाल र प्रदेश न. १–०१–००२च. ८४० नम्बरको कार चालक सङ्खुवासभा भाेटखोला गाउँपालिका वडा न. २ बस्ने ३७ वर्षीय तेनछेदर भोटे घाइते हुनुभएको थियो ।

सामान्य घाइतेहरूको निम्स अस्पताल दमक र गम्भीर घाइतेहरूलाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो । अन्य चार जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।