मान्म (कालीकोट), मङ्सिर ३० गते । कालीकोटमा निर्माण हुन लागेको फुकोट–कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई रुखबिरुवा तथा फलफूलका बोटबिरुवाको मुआब्जा वितरण गर्न लागेको छ । जिल्ला प्रशासन कार्यालयबाट सूचना प्रकाशन गरेर अधिग्रहण गरेको जग्गाभित्र पर्ने रुखबिरुवा तथा फलफूलका बोटबिरुवाको मुआब्जा वितरण गर्न लागिएको हो । प्रशासनले चरण चरणमा गरी २०७६ देखि जग्गाको लगत कट्टी गरेका जग्गाधनीलाई मुआब्जा वितरण गर्दै आएको छ ।
४८० मेगावाटको फुकोट–कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि डुबान क्षेत्रमा पर्ने तथा अधिग्रहण गरिएका जग्गामा अवस्थित रुखबिरुवा तथा फलफूलका बोटबिरुवाको मुआब्जा वितरणको तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । “फुकोट–कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना अन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१, २, ३ र ४ एवं रास्कोट नगरपालिका–६, ७, ८ र ९ तथा पचालझरना गाउँपालिका–१, २, ८ र ९ भित्र आयोजनाले अधिग्रहण गरेको जग्गामा रहेका ठाउँमा रुखबिरुवा तथा फलफूलका बोटबिरुवाको मुआब्जा दिने प्रक्रिया सुरु भएको छ,” उहाँले भन्नुभयो, “जिल्ला क्षतिपूर्ति निर्धारण समितिबाट क्षतिपूर्ति निर्णय भएबमोजिम जग्गाधनीलाई मुआब्जा दिने प्रक्रिया सुरु भएको छ ।”
जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा पर्ने सान्नीत्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाका ३१३ जग्गाधनीले रुखबिरुवा तथा फलफूलका बोटबिरुवाको मुआब्जा पाउने फुकोट–कर्णाली जलविद्यत् आयोजनाले जनाएको छ ।
आयोजनाले अधिग्रहण गरेका जग्गामा रहेका ठाउँमा रुखबिरुवा तथा फलफूलका बोटबिरुवाको मुआब्जाका लागि करिब दुई करोड ५० लाख विनियोजन गरिएको आयोजना प्रमुख डम्मर उप्रेतीले बताउनुभयो । “अहिले हामीले मुआब्जाका लागि निवेदन सङ्कलन गर्ने काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “यही मङ्सिर २७ गतेदेखि परेका निवेदनमा छलफल गरेर मुआब्जा वितरणको काम हुन्छ ।” मुआब्जा वितरणको काम चार वर्षदेखि भइरहेको र अधिकांश जग्गाको मुआब्जा वितरण सकिएको आयोजना प्रमुख उप्रेतीले जानकारी दिनुभयो ।
“फुकोट हाइड्रोले सिस्नेगडा ड्याम साइडदेखि डुबान क्षेत्र भुराबगरसम्मको एक हजार २० रोपनी जग्गाको मुआब्जाका लागि लागत अनुमान ५५ करोड रुपियाँमध्ये हालसम्म ५० करोड रकम वितरण भइसकेको छ,” उहाँले भन्नुभयो, “अधिग्रहण गरिएको जग्गाको धेरै जसो वितरण भइसक्यो ।”
घरटहराका लागि विनियोजित १३ करोड रुपियाँ रहेको आयोजनाले जनाएको छ । रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र केही खाँडाचक्र नगरपालिकाको केही भूभाग प्रभावित हुने छ । आयोजनाको छ किमी मुख्य टनेलमार्फत पावर हाउसमा पानी खसालिने छ । आयोजनाबाट वार्षिक दुई हजार ४५५ गिगावाट आवर ऊर्जा उत्पादन गरिने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।