• १० मंसिर २०८१, सोमबार

‘चित्रकला दृश्यगत भाषा हो’

blog

रवीन्द्र श्रेष्ठ

कलामा नवीनताको खोजीमा सधैँ भौँतारिने रवीन्द्र श्रेष्ठको दैनिकी नै कला हो । हरेक समय कलालाई केन्द्रमा राखेर गतिविधि गरिरहने रवीन्द्रको ‘डुङ्गा चिया घर र डुङ्गा सिक्का’ चर्चित छन् । पछिल्लो समय हिमालयन आर्ट फेस्टिभलमा राखिएको ‘साइकल चक्का’ लाई लिएर रवीन्द्रको सिर्जनाको चर्चा हुने गरेको छ । उहाँको अनुभवमा ‘चित्रकला हामीले देखेको, भोगेको र सुनेकै कुराबाट आउने हो ।’ प्रस्तुत छ, कलाकार रवीन्द्रसँग सुकृत नेपालले गर्नुभएको कुराकानी :

चित्रकला के हो ?

चित्रकला दृश्यगत भाषाको एउटा हाँगा हो । कुनै माध्यमबाट कोरेर वा पोतेर केही भन्न र देखाउने कार्य नै चित्रकला हो । समयको बहाबसँगै यसको पनि माध्यम र भन्ने कुरामा धेरै फरक आइसकेको छ । ७५ हजार वर्षभन्दा पहिलेदेखि नै ढुङ्गे युगका हाम्रा पुर्खाले गुफाका ढुङ्गा र भित्तामा चित्र कोर्थे । अफ्रिकाको ब्लोम्बस गुफामा रहेको गुफा चित्र यसको उदाहरण हो । अहिले हामी डिजिटल युगमा छौँ । ट्याबमा कोर्दै छौँ ।  चित्र कोर्ने विषयवस्तु र केका लागि कोरिन्छ त्यो पनि फरक भइसकेको छ । 

तपाईले चाहिँ चित्र बनाउन कहिलेदेखि सुरु गर्नुभयो ? 

आमा भन्नुहुन्छ, अरू बच्चाहरू आँगनबाहिर खेलिरहँदा म चाहिँ घरभित्र एक्लै भित्ताभरि र भुइँतिर गोलले किरा, कुखुरा र फूलका चित्रहरू खुब कोरिरहन्थ्यो रे । अब भन्नुस्, कतिबेलादेखि मैले चित्र बनाउन थाले हुँला ?

तपाईंको पहिलो चित्र कुन थियो ? 

स्मरणमा रहेको पहिलो चित्र म कक्षा ३ मा गीतामाता स्कुलमा हुँदा ‘म्यागी चाउ चाउ’ को १० वटा खोल दिएबापत असनमा रहेको एउटा पसलले एक प्याकेट ‘साइनपेन’ दिन्थ्यो । एक दिन विद्यालय नगई खोल जम्मा गरी डल्लुबाट असनमा रहेको एउटा पसलबाट एक प्याकेट ‘साइनपेन’ पाएको थिएँ । त्यो पाएपछि चित्र कोर्न हतार भइहाल्यो । फर्किंदै गर्दा, त्यो बेलाको बाक्लो याक चुरोटको बट्टा च्यातेर बाटैमा रहेको एउटा मन्दिरमा बसेर चित्र कोरेको गहिरो याद छ । त्यो मन्दिरनजिकै अहिले सामुदायिक अस्पताल बनेको छ । यद्यपि हरेक मान्छेले आफूले बोल्न र सोच्न सक्ने हुनुभन्दा पहिले नै बच्चा बेलामा केही न केही चित्र कोरेकै हुन्छ तर त्यो यादमा रहन्न । 

चित्रकला बनाउनुभन्दा पहिला नै केही आकृति बन्छ कि ?

सामान्य कुरा, सोच भनेको कुनै ‘रुट’ बाट आउने हो । हामीले देखेको, भोगेको र सुनेकै कुराबाट आउने हो । चाहे त्यो सपना नै किन नहोस् । फरक यति हो, एक कलाकारलाई चाहेर वा नचाहेरै ऊ बाँचिरहेकै परिवेशले फरक पारिरहेको हुन्छ । यस्तै यस्तै कुराबाट प्रभावित भएर नै एक कलाकारले आफ्नो कला सिर्जना गरिरहेको हुन्छ । 

डुङ्गा, डुङ्गा–सिक्का र पछिल्लो साइकल चक्का के हो ?

यी कलाहरू प्रतिस्थापन कला हुन् । कलाका विविध विधामध्ये नेपालमा अलि नौलो मानिए पनि ग्लोबल आर्ट ग्यालरीमा २० औँ शताब्दीको सुरुतिर नै यस्ता कला प्रयोगमा आइसकेका थिए । यी कलामा मुख्यतः विचार प्रधान रहन्छ । कलाकारले आफ्नो विचार अभिव्यक्त गर्न विचारले मागेकै कुनै पनि माध्यम छनोट गर्न सक्छ । जस्तो मेरो कला यात्राका क्रममा पनि यी डुङ्गा, डुङ्गा–सिक्काहरू, साइकलका नघुम्ने चक्का आए । सबैभन्दा पछिल्लो कला ‘नघुम्ने चक्काहरू’ को अर्थ, बाहिरी रूपमा यो चक्का घुमेको नघुमेको आँखाले देख्न सकिन्छ तर दिमागभित्र पनि केही या कसैको यादहरू जिन्दगीभर घुमिरहेकै हुन्छ भन्नु हो । आँखाले नदेख्नु त्यो अर्कै कुरा हो । संसार देखिने र नदेखिने दुवै कुराबाट अस्तित्वमा रहेको हुन्छ । अहिले यही ‘नघुम्ने चक्काहरू’ अलि धेरै पब्लिकमा लग्ने कोसिस भइरहेको छ । घर, होटेल, रेस्टुरेन्ट, क्याफे, ग्यालरी आदि ठाउँमा ।